पोखरा, १९ माघ । कास्कीको लेखनाथ नगरपालिका–१२ खुदीका सुरेन्द्र थापाले दोहोरो फाइदा लिनका लागि राँगापालन व्यवसाय सुरु गर्नुभएको छ । व्यावसायिक रुपमा तरकारीखेती समेत गर्दै आउनुभएका थापाले मल र मासुका लागि राँगापालन व्यवसाय सुरु गर्नुभएको हो । धेरैजसोले गाई, भैँसी, कुखुरा, बाख्रापालनलगायत व्यवसाय गरेर कमाइ गरेका चर्चा सुन्नमा आएपनि थापाले राँगापालन व्यवसाय गरेको देख्दा यहाँका बासिन्दाले अनौठो मानेका छन् ।

लमजुङको सिम्पानी गाविस–३ घर भई खुदीमा बस्दै आएका थापाले २५ वटा राँगा पालेर व्यवसाय सुरु गर्नुभएको छ । दूधजन्य वस्तु पाल्दा धेरै मेहनत र लगानी गर्नुपर्ने भएका कारण राँगापालन व्यवसाय सुरु गरेको थापा बताउनुहुन्छ । “राँगाको लागि बिहान, दिउँसो र बेलुका मात्रै स्याहारसुसार गरे पुग्छ,” उहाँले भन्नुभयो । कहिलेकाहीँ चराउन जङ्गल लैजाने गरेको उहाँले बताउनुभयो । नवलपरासीको बर्दघाटस्थित हाट बजारबाट प्रतिराँगा रु नौ हजारमा खरिद गरेर ल्याएको र अहिले राँगाको मूल्य बढेर रु २० हजार पुगेको थापाले बताउनुभयो ।

थापाले राँगापालनका लागि ३० रोपनी जमिन भाडामा लिनुभएको छ । सँगसँगै उहाँले गोलभेँडा र माछापालन व्यवसाय समेत गर्दै आउनुभएको छ । जग्गााको वार्षिक रु तीन लाख ६० हजार भाडा बुझाउनु पर्छ । थापाले तीसवटा प्लास्टिकका टनेल बनाएर गोलभेँडा खेती तथा तीनवटा पोखरीमा माछापालन गर्दै आउनुभएको छ ।

तरकारीखेतीका लागि बर्सेनि रु डेढ लाखभन्दा बढीको मल खरिद गर्नुपर्ने भएकाले मलकै लागि समेत राँगापालन व्यवसाय सुरु गरेको थापाको भनाइ छ । राँगा बढ्दै गएपछि मासुको लागि समेत बिक्री गर्न सकिने र यस व्यवसायबाट दोहोरो फाइदा हुने थापा बताउनुहुन्छ ।

“अहिलेसम्म बैंकबाट व्यवसायका लागि रु ५४ लाख ऋण लिइसकेको छु,” उहाँले भन्नुभयो । प्रमाणपत्र तह उत्तीर्ण गरेका थापा वैदेशिक रोजगारीमा जान नहुने बताउनुहुन्छ । “यही कमाइ गर्न सकिन्छ भने किन अर्काको देशमा गोठालो बन्न जाने ?,” उहाँले भन्नुभयो । उहाँले अहिले नौ जनालाई रोजगारी समेत दिनुभएको छ । उहाँले एक वर्ष अघिदेखि मात्रै व्यवसाय सुरु गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया