अस्वाभाविक , उच्छृंखल , नेपाली समाजमा अपाच्य र कल्पना भन्दा अलि बाहिरकै एक प्रकारले लेखिकाको यौन कुण्ठा भन्दा फरक नपर्ला यो कथालाई ।प्रस्तुत त देबकी के सी को कथा “खेताला लोग्ने ”

पूर्ण कथा

धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले।
बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए।
‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ’, कुमारले कृष्णसँग दुखेसो पोख्यो, ‘म त कृषक पो भएर बसेको छु।’
काम सानो ठूलो हुँदैन भनेर कृष्णले सम्झायो। दुवैले बाल्यकालका सम्झनामा डुबुल्की मार्न थाले। खोलामा पौडी खेलेको, माछा मारेको क्षण सम्झे। एकदिन पौडी खेलेर निस्कँदा खोलाले दुवैको लुगा बगाएको थियो। अण्डरवेयर समेत नहुँदा दुवैले आ-आफ्ना हातले लाज छोपेर घरसम्मै दौडँदै गएको कुरा सम्झनेबित्तिकै हाँसोको फोहोरा छुट्यो।
कुमारले कृष्णलाई आफनो गाउँ घुम्ने निम्तो दियो। समय मिलाएर फेरि भेट्ने बाचा गर्दै उनीहरु छुट्टिए। पारिवारिक तनावले गलेका कुमारको अनुहारमा अनायासै खुसीका रंग पोतिएको देखेर उसका छोराहरू कुशल र कुवेर पनि खुसी भए। सौतेनी आमाको कचकचले पिरोलेका उनीहरुका अनुहारमा छाएको मुस्कानले केही हदसम्म शीतलता प्रदान गर्यो।
एक दिन आत्मीय मित्र कुमारको गाउँ जान भनेर कृष्ण निस्कियो। साथीको स्वागतमा कुमारले गच्छेअनुसार मीठोमसिनो जोहो गरेको थियो। सुरूमा उसले परिवारका सदस्यहरुसँग परिचय गरायो। श्रीमती जानु, छोराहरु कुशल र कुवेरसँग।
भर्खर सत्र-अठार वर्षकी जस्ती देखिने जानु कुमारकी श्रीमती भन्दा कृष्ण छक्क पर्यो। तैपनि उमेरमा कुमार आफुभन्दा सात महिना जेठो भएकाले उसले भाउजु भन्दै जानुसँग साइनो गाँस्यो। कुशल र कुवेरले पनि कृष्णलाई अंकल भनेर सम्बोधन गरे।
भान्छामा पाकेका परिकार पस्किइन् जानुले, साथमा मीठो मुस्कान पनि। रमाइलो मिसिएको थियो आज कुमारको परिवारमा। बेलाबेलामा जानुको हातमा बजेको चुरीको धुन, चिटिक्क मिलेको जीउडाल, निहुरिँदा बिकिनी छिचोलेर निस्कूँ झैँ गर्ने टम्म मिलेको छातीले कृष्णको मुख रसाएर आउँथ्यो। अनि कुमारको स्वच्छ गाउँले भोजनसँगै चपाएर निल्थ्यो उसले त्यो रस पनि।
खानापछि कुवेर र कुशल दुवै स्कुल गए। जानु मेलापात गइन्। वर्षौंपछि दुवै साथी फुर्सद निकालेर आँगनमा गफिए, न्यानो घाम ताप्दै ।
कुरैकुराको सिलसिलामा कुमारले सोध्यो, ‘कृष्ण बिहे गरीस् कि छैनस्? कि सँधै क्याम्पस पढाएर बस्ने विचार छ? बुढो होलास् नि?’
कृष्ण फिस्स हाँस्यो र कुमारका प्रश्नको सहज तरिकाले जवाफ दियो। ‘अध्ययनमा व्यस्त हुँदा बिहे गर्ने मुड चलेन। अमेरिकामा पढ्दा गर्लफ्रेण्ड त थुप्रै थिए। रिल्याक्स गरियो’, कृष्णले भन्दै गयो, ‘पछि सबैले आ-आफनो सुर गरे। म पनि नेपाल आएँ, क्याम्पस पढाउन थालेँ। समय त्यसै बित्यो।’
‘तैँले त विदेशमा खुब मोज गरिछस् नि’, उल्ल्यायो कुमारले। अनि दुवै हाँसे गलल्ल।
‘कुमार तैँले त चाँडो बिहे गरिछस् नि, भाउजू त भर्खरकी हुनुहुँदोरै’छ त?’ कृष्णले सोध्यो ।
‘बाबु-आमा बितेपछि घर सम्हाल्ने कोही भएन तैँलेजस्तो विदेशमा पढ्न, केटी घुमाउन र मोजमस्ती गर्न तकदीरमा लेख्या रैनछ त क्यारे’, कुमारले भन्यो, ‘जानु मेरो दोस्रो बिहे हो अनि किन भर्खरकी नहुनु त?’
कुमारको जवाफ नसकिँदै कृष्णले सोध्यो, ‘अनि पहिलेकी भाउजू खोई त?’ कुमारको पहिलो बिहे गाउँमै भएको थियो। कुशल र कुवेर उनकै चिनो हुन्। ‘दैवले अकालमै चुँडेर लग्यो उनलाई’, कुमारले गहभरि आँसु पार्यो, ‘त्यसपछि जानुसँग बिहे गरेँ।’
दुवैले सुख-दुःखका कुरा गरेर दिन बिताए। जानुको जवानी सम्झेर बेलाबेलामा कोक्याइरहन्थ्यो कृष्णको मन। ऊ घुटुक्क थुक निल्थ्यो। दुवैले लामो समयसम्म हराएको मित्रतालाई निरन्तरता दिने बाचासहित बिदावारी भए। हिड्ने बेला दुवैका आँखा रसाए, मायालुका झैं।
साँच्चै असल मित्रता थियो यी दुई बीच। मित्रताको साइनोभित्र दुवैका भावना अविरल बगिरहेका थिए।
दिनहरु जसोतसो बित्दै थिए। ‘सन्तान चाहियो’ भनेर रातदिन जानुले कचकच गर्न थालिन्। सुन्दा सुन्दा कुमार दिक्क भइसकेको थियो। ‘मलाई जसरी भएपनि सन्तान चाहियो, सौताको छोराहरू त खील हुन्, पछिसम्म दुखिरहन्छन्’, बारम्बार जानु घुर्की लगाउँथिन्।
सुनेर पनि नसुनेझैँ गर्नु कुमारको बाध्यता थियो। जवान जानुले सन्तानको चाहना गर्नु स्वभाविक थियो। तर, श्रीमतीको रहर पूरा गर्न उनी सक्दैनथे। जानुका अपुरा रहरहरु पूरा गर्न स्वास्थ्यकर्मीसँग सल्लाह गरेर उनका लागि गरिएको कृत्रिम गर्भाधारणको प्रयास तीन पटकसम्म पनि असफल भयो। गाउँले भाषामा भन्नुपर्दा ‘साँढे लिन नसकेको वा साँढे नफापेको कोरेली बाच्छी’को झैँ भयो उनको जीवन।
हैसीयतले भ्याएसम्म उपचार गर्दा पनि रहर चुँडिदा विचलित थिइन् उनी। र, कलह मच्चाउन थालिन् सानो परिवारमा। उनको कलहबाट मुक्त हुन कुमारले अनेकौँ उपाय रच्न थाल्यो। अन्तमा कुमार बाल्यकालको मित्र कृष्णकोमा शरणार्थी झैं हात फैलाउन पुग्यो।
शहरको शानदार महलमा शान्तसँग जीवन बिताइरहेको कृष्ण आफ्नो अगाडि कुमारलाई देखेर दंग पर्यो। ग्वाम्लाङ अँगालोमा बेर्यो। पहिले जस्तो कुमारको अनुहारमा खुसी नदेख्दा कृष्णको मन खिन्न भयो। ऊ सशंकित भयो, ‘कतै मैले जानु भाउजुको रूपलाई भित्रभित्रै मन पराएको कुरा कुमारले थाहा पायो कि!’
उदास कुमारका नयन नियाल्दै उसले सोध्यो, ‘कुमार, किन चिन्तित देख्छु नि, के भयो? मबाट केही सहयोग हुन सक्छ कि?’
कुमारका आँखाबाट बररर आँशु बर्सन थाले। उसको मुखबाट फुत्त एउटा आवाज निस्कियो, ‘कृष्ण म साँच्चै सहयोग माग्न आएको हुँ, सहयोग गर्छस्?’
‘दिल खोलेर सहयोग गर्नु त मित्रको कर्तव्य नै हो नि, नत्र केको मित्र भन्नु? के सहयोग गर्नुपर्यो मैले, भन् न कुमार’, कृष्णले सहानुभूति दियो।
कुमारले आफनो ब्यथा सुनायो। ‘गरीबीमा भए पनि खुसी थियो मेरो परिवार। दुई छोरा, श्रीमति र म। कति सुन्दर थियो हाम्रो संसार। एकदिन म र श्रीमति घाँस काट्न जंगल गएका थियौँ। अचानक भीरबाट चिप्लेर लड्दा श्रीमतिको मृत्यु भयो। म भने रुखमा च्यापिएर घाइते भएछु। भगवान दाहिना भएर मलाई जीवनदान त दिए तर, मेरो प्रजनन शक्ति त्यसैदिनबाट खोसिएर टाढा भयो, सँधैका लागि। उपचारपछि म बाँच्न सफल भएँ। त्यसपछि जानुसँग मागी विवाह भयो। तर, सन्तानको रहरमा डुबुल्की मार्ने उसको चाहनाको अघिल्तिर मेरो कमजोरी के लुक्न सक्थ्यो र? यहि कुराले उनी दिनहुँ कलह गर्छिन्। कुशल र कुवेरलाई पनि आमाकोभन्दा सौतेनी गिद्धे दृण्टिबाट हेर्छिन्।’
कुमार सुनाउँदै गयो, ‘कैयौँ पटक कृत्रिम गर्भधारण गराउन खोज्दा पनि असफल नै हुन पुग्यो। महंगा आधुनिक उपचार गर्नु मेरो हैसियतभन्दा माथि छ। त्यसैले कृष्ण केही समय तैंले मेरो जीवनमा खेतालाको रूपमा काम गरिदिनु पर्यो। त्यसका लागि म ज्याला दिन त सक्दिनँ। तर, पनि सहयोग गरिदिए आभारी हुनेथिएँ।’
कुमारको कुरा सुनेपछि कृष्णको मन पनि पीडाले घोच्न थाल्यो। त्यसभन्दा ठूलो त ऊ दोधारमा पर्‍यो। जानु भाउजूप्रति उसको प्रेम अव्यक्त रुपमा हृदयमै लुकेको थियो, तर, जानुलाई खोसेर कुमारको जीवन अलपत्र बनाउन चाहदैन्थ्यो ऊ। कुमारको जीवनमा सहयोग गरूँ या कलहमै छाडिँदिऊँ, ऊ अलमलमा पर्‍यो। तैपनि असल मित्रको हैसियतले कुमारको दुःखमा साथ दिने निर्णय गर्‍यो उसले।
कृष्णले वचन दियो। जानुको रहर पूरा भएपछि कुमारको जीवनमै फर्काउने शर्त र बाचामा मञ्जुर भए दुवै।
भोलिपल्ट कुमार जानुलाई लिएर कृष्णको घरमा पुग्यो। उसलाई खेतालाको रुपमा जानुको फुलबारीमा काम गर्न सुम्पेर कुमार गाउँ फर्कियो। गाउँमा सोधखोज हुँदा उपचारका लागि शहरमा राखेको छु भनेर ढाँट्थ्यो।
जानुको रूप र बैँशमा त्यसै पनि लठ्ठिएको कृष्ण अब स्वतन्त्र थियो उनको बैँशालु रसमा भिज्न। कृष्णको सुखसयलमा मोहित जानु वर्षौंदेखिको कुण्ठित रहरले शिखर चढ्न सफल भएकोमा अझ मख्ख थिइन्। आफनै गोठको साँढे बेकम्मा भएपछि गोठ सरेकामा खुसी भइन् उनी। चिल्ला गाडी, भौतिक रस र जैविक रस दुवै मिसिएको सुन्दर जीवन जीउन छाडेर बाँझो कुमारको जीवनमा नफर्कने निर्णय गरिन् उनले।
उकाली-ओराली गर्दा मीठो बास्ना आउने कृष्णको रस छाडेर गोबर गन्हाउने कुमारको रसमा फर्कन मनले मान्दै मानेन जानुको। कृष्ण र जानुको जीवन रसिलो बन्यो। खेताला र मालिक्नी सम्बन्ध होइन, बरु दुवैको सम्बन्धमा प्रगाढ माया बस्यो। कृष्णलाई आफ्नो उजाडिएको फूलबारीमा फुलीरहने फूलका रुपमा जानुलाई भेट्टाएको महशुस हुन्थ्यो।
समय बित्न कति पो दिन लाग्दो रहेछ र? उनको पेटमा आफ्नो हातले सुम्सम्याउँदै ऊ आफ्नो उत्तराधिकारीको धड्कन सुन्ने गर्थ्यो । उनी लजाए झैँ गर्थिन्। यसरी मायालु फूलबारीमा लुकामारी खेल्दै अघि बढेका उनीहरुले कुमारसँगका बाचा र शर्त भुल्दै गए।
एक दिन अनायसै मिर्मिरे बिहानीमा कुमारको आगमनले कृष्ण र जानुको जीवनमा खिन्नता ल्याइदियो। लत्रेको पेट र बढेर फुटबल जत्रो भएको नितम्बमा आँखा गाड्दै कुमारले जानुलाई भन्यो, ‘अब घर जाऊँ, अब त कलहको बिऊको पनि अन्त्य भयो नि जानु। कुशल र कुबेरले पनि तिमीलाई खोजेका छन्।’
जानु अनकनाउँदै पर भागी र पुलिसले चोर पक्रेझैँ बेस्सरी पक्रिई कुमारका हात।
कुमारले कृष्णको सामुन्ने गएर भन्यो, ‘सहयोगका लागि धन्यवाद साथी।’ म जानुलाई फिर्ता लिएर जान्छु।’
कुनै जवाफ नदिई कृष्णले जानुलाई बेस्सरी अँगालोमा बेर्‍यो, ‘जानु र मेरो प्रेमले शिखर चुमिसक्यो कुमार! उनीभित्रको अंशले यो घरको अधिकार पाउने निश्चित भइसक्यो अब। त्यसैले म सर्श र बाचाहरु तोड्दैछु। मलाई माफ गर कुमार।’
‘मेरो फूलमा भमरा बनेर अब कहिल्यै नआउनु है’, विश्वास गरेको परम्‍ मित्रले घात गरेको देखेर कुमार नाजवाफ भएर फर्कियो। सदाका लागि आफ्नो जीवनबाट बिदा होस् भन्ने कामना गर्दै उनीहरुले कुमारलाई बिदाइको हात हल्लाइरहे।
कुमार आफ्नो मित्रको छायाँमा लतपत भएको अविश्वासको पीडा बोकेर बढिरह्यो आफ्नै पुरानो संसारतिर।

hamrosandesh.com

तपाईको प्रतिक्रिया