आलोक खनाल
‘कविता आफ्नै मत, आफ्नै अभिमत’ यो शिर्षक कवि खरेलको अक्षरमा मान्छे कविता सङ्ग्रह भित्र लेखिएको आफ्नो विचार पक्षको हो । म अलिकति उक्त विचार पक्षको कुरा गर्छुृ । कवि खरेलले शुरुमा नै लेखेका छन् — ‘सकारात्मक हेराई’ । सकारात्मक चिन्तन उनले आफ्नो पुस्तक ‘रे’ निवन्ध सङ्ग्रहमा पनि प्रयोग गरेकै विषय हो । यसको अर्थ हुन्छ उनी जीवनका अधिकांश विषयलाई सकारात्मक दृष्टिकोणवाट हेर्ने गर्छन् । यही विचारप्रधान लेखमा खरेलले एकठाउँ लेखेका छन् — “विचार र दर्शनलाई कलात्मक रुपमा प्रस्तुत गर्दा चाहिँ राम्रो होला ।” यो कवितामा आउँनुपर्ने विषय हो । अर्को एउटा उपशिर्षक छ — ‘कुन कविता राम्रो ?’ यसको जवाफ उनले नै दिएका छन् कि — “मैले जुन कविता राम्रो भन्छु त्यो तपाँईलाई नराम्रो पनि लाग्न सक्छ ।” यस विचारात्मक कथनबाट मैले यस ‘अक्षरमा मान्छे’ कविता सङ्ग्रह लाई पल्टाउँने मनसाय बनाएँ । ती सन्दर्भहरु केही छन् जसलाई म मेरो दृष्टि विन्दुमा लगेर समेत राख्न थालेँ ।
‘अक्षरमा मान्छे’
यो कविता सङ्ग्रहको नाम हो । हामीलाई लाग्न सक्छ ‘अक्षरमा मान्छे’ शिर्षकको कविता नै सङ्ग्रहको उत्कृष्ट कविता हो । यसरी कविता सङ्ग्रह भित्रको उत्कृष्ट कवितालाई सङ्ग्रहको नामाकरण गर्ने चलन नभएको पनि होइन् । धेरैले कुनै एउटा कविताको शिर्षकलाई पुस्तकको नाम राख्ने गरेको पाईन्छ । यो चलनमा भिन्न चलन हो खरेलको ‘अक्षरमा मान्छे’ सङ्ग्रहको नाम राख्ने चलन हो । यो एक प्रतिकात्मक शैली हो । सङ्ग्रहभित्र अनेकौ अक्षरहरु छन् जसको सिधा सम्वन्ध मान्छेसँग रहन्छ भन्ने अर्थ मात्रै दिन्छ । यो कुनै एउटा कविताको नाम होईन कि ‘अक्षरमा मान्छे’ कविता सङ्ग्रह भित्र यो नामक कविता भेटियोस् । यसरी कविता सङ्ग्रहको नाम राख्ने चलन भने आजको मात्रै भने चैँ होईन् ।
अक्षरमा मान्छेको अर्थ हुन्छ मान्छे नै अक्षरहरुको विशिष्टता हो, जोसँग कविता हुनेगर्दछ । र कवितामा अक्षरहरु हुने गर्दछ । अब यसपछि प्रश्न उठ्छ एउटा सङ्ग्रहमा भएका अक्षरहरु मात्रै एउटा मान्छे हो त ? यसको एउटै जवाफ छ — होइन् । तर एउटा मात्रै कविता हातमा पर्यो भने र एउटा कविता सङ्ग्रह पर्नसाथ एउटा मान्छेको दृश्य झल्कन थाल्छ । यसरी कविताहरुमा — प्रेम, जीवन र व्यवहारको संश्लेषण हुनेगर्छ । यो रामप्रसाद खरेलको कविता सङ्ग्रहका कवितामा पाउँन सकिन्छ । म जीवनका केही कुरा कोट्याउँछु ।
मेरा बा ! यो ‘अक्षरमा मान्छे’ कविता सङ्ग्रहको पहिलो कविता हो । यसमा खरेल आफ्नो मात्रै जीवनको पाटो लेख्दैनन् । उनि त आमाको वैधग्य जीवनको समेत उतिकै मर्मस्पर्शी कुरा लेख्छन् —
बा !
सेतो पहिरन प्रिय थिए मेरा
तर जब तिम्रो शोकमा
आमाले सेतो वस्त्र लगाएको देखेपछि
सेतो रङ्गको पिडा
मेरा आँखावाट कति वगेवगे
ती हरेक थोपाहरुमा
तिम्रै प्रकाश देख्थेँ
सभ्झ त झन् आमाका आँखावाट
कति समुद्रहरु वगे होलान ?
यो मर्मस्पर्शी पीडाको कथा एउटी विधवा आमाको हो । बावु वितेपछिको छोराको हो र एउटा नियतिको वाध्यता पनि हो । यस कविताले मेरो मनमा राम्रैसँग राज गरेको छ । मेरा बा ! यसर्थमा सरल शैलीमा भावपरक रुपले लेखिएको कविता हो । एउटा वुवाको सम्मानमा र नियतीका कारण टुुहुरो र एकल जीवन विताईरहेको परिवारका सन्दर्भमा यो कविता निकै सजीव छ । मम्माननिय छ ।
कवितामा सकारात्मक सोच ।
मैले अगाडी नै भनिसकेको छु कवि खरेलको ‘रे’ निवन्ध सङ्ग्रह एउटा सकारात्म्क चेतको संवाहक छ । त्यो चेत ‘अक्षरमा मान्छे’ भित्र पनि उतिकै छ । उनी यसकारण कवितामा समस्या मात्रै लेख्दैनन् । तिनको समाधान पनि दिन्छन् । वा त जीवनको अन्तिम क्षणमा पुगेर पनि जीवनवोधतिर फर्कन्छन् । यसको एउटा उदारहण हो ‘आज मेरो जन्मदिन’ शिर्षकको कविता । खरेल यस कवितामा पात्रलाई मृत्यु उत्सवको दुखमा व्यतित गराउँदै आयु घटेकामा गुनासो गर्छन् । तर कविताको अन्तयतिर जीवन उर्जाको र उत्सवको कुरा यसरी लेख्छन् —
कालो बादल हराएपछि
देखियो नीलो आकाश
फर्किय उ
जीवन उमङ्गमा ।
उ उठ्छ
उत्सव मनाउँन
जन्मको,
मृत्युको
र जीवनको
आँखाभरी
जीवन सौन्दर्यको चेतना वोकेर ।
खासमा खरेलले सकारात्मक चेतद्वारा समाजलाई एउटा वाटो तय गरेका छन् । उनले विद्रोह शिर्षकको कवितामा पनि यस्तै सकारात्मक शक्ति प्रवाह गरेका छन् । यसको अर्को उदारहण हो —
विसाएका रोपाईहरु
मेलैसँग रोपिनेछन् अब
मुहारको गुँरास साक्षि राखेर
तिम्रो प्रेमसँगै
झरेको बर्षातमा अलिअलि रुझ्दै ।

आएका हुन् जम्मै कुरा
तिम्रो प्रेमसँगै
युगयुगसम्म बाँच्ने
हाम्रो आदर्श प्रेमगाथा ।
(तिमी मेरो जीवन कवितावाट ।)

सूर्यलाई
पृथ्वीले जति घुमेपनि
छुन नपाएको
वा छुन नसकेको जस्तै
कहिल्यै भेट्न नसकिने ती पलहरु
पर्खी वस्नु अर्थ नहोला
र पनि
पैलालाले टेकेको माटो
उडी आउँला भनी
बतास हेरिरहनु
यादले सिञ्चित मुटुको रहर कहाँ होला र ?
अशा यति हो
उडिआउँने त्यो माटोसँगै कसैको सुगन्ध पनि आउँछ ।
(आशा कवितावाट )

कविता, पाठक र वोध ।
पछिल्लो समय कविताका विषयमा यही कुरालाई लिएर वहस चल्छ । खरेलले पनि वैचारिक लेखमा कविताको वजारका सन्दर्भमा लेख्दै भनेका छन् — ‘पाठकले वा आम मानिसले वुझेनन् भने कविता लेख्नुको के अर्थ ?’ तर काव्य जगतमा जटिलतालाई आफ्नै उचाई भनेर वुझ्ने जमात पनि छँदैछ । आम पाठकको काव्य जटिलता हुँदैन् । खरेलको फरक खुवी भनेको उनि पाठकसँग सजिलै गफ गर्छन् । सरलता उनको मौलिक शैली हो ।
लगन गाँठो समाएपछि
वा
औठी साटेपछि
हामी एउटै भएको
वाँकी जिन्दगीको यात्राका लागि
छोडेर,
भूलेर
विगतका आफ्ना सवै कथाहरु
र सुम्पिएर
सारा जिन्दगी एक अर्काका लागि ।
(जिन्दगी फ्युजन कवितावाट)
यो कविता मात्रै त एउटा उदारहण हो । जो पाठकले कविले के भन्दैछ भनेर रनभुल्लमा वस्नुपर्छ जस्तो लाग्दैन् । वाँकी कविताहरु पनि सरलताभित्र गम्भिरता राख्ने प्रकृतिका छन् । अर्थात सरल, सहज र शक्तिशाली छन् । सरल शब्द र सरल वाक्य गठनवाट वनेका गम्भिर र सुन्दर कविताहरु पाठकको आफ्नो अवश्य हुन्छ नै ।
कविता, म र अक्षरमा मान्छे ।
कविता कहिले उत्पति भयो ? कवितामा पहिले के लेखियो ? वा अहिले के लेखिनु पथ्र्यो आदि विषयहरु वारेमा म कहिल्यै चिन्तन गर्दिन् । किनकी म सृष्टि मै कविताको सृष्टि भइसकेको थियो भन्नेमा विश्वस्त छु । अर्कोतिर कवितामा के लेखिन्थ्यो वा के लेखिनुपर्छ ? यसको पनि एउटै कारण छ । सृष्टि जीवनप्रधान छ । उहिले पनि जीवन लेखियो । र अब लेखिदा पनि जीवन लेखिन्छ । वाँकी प्रेम, युद्घ, कलह, व्यवहार, राजनीति भनेका जीवनका केही बाटाहरु र पाटाहरु मात्र हुन । जीवन लेखिने क्रममा यी कुराहरु कहिँ न कतै आइहाल्छन् ।
‘अक्षरमा मान्छे’ कविता सङ्ग्रह पनि एउटा सिङ्गो मान्छे हो । अनि मान्छेलाई अक्षरमा कोषीय ढङ्गले लेखिएको छ । अलग अलग कविताहरु लाग्छ, जीवनका अलग अलग अङ्गहरु हुन् । तीनै अङ्गहरुको योग नै एउटा मान्छे हो । अर्थात एउटा कविता सङ्ग्रह हो । त्यो सङ्ग्रहलाई म अक्षरमा मान्छेको रुपमा स्वीकार्छु ।
इटहरी, सुनसरी

तपाईको प्रतिक्रिया