लागत मुल्य
तिमीलाई मात्रै आंखामा राख्न
कर्निया , रेटिना , आंखाको नानी चुकाएं
बहुमुल्य लाज , भय र सङ्कोच चुकाएं
क्षणभरमै मैले चुकाएक‍ो संसारको मुल्य
जब तिमीले थाहा पायौ
र क्रमशः मुल्यवान भइरहन
मुल्यहरू बढाउंदै गयौ , तिर्दै गएं
तिम्रो आँसु मात्रै राख्न
पन्चामृत राख्ने खोपिल्टो हत्केला चुकाएं
तिम्रो मुस्कान मात्रै राख्न
आमाको स्तन चुस्दाचुस्दै हांस्न सिकेका ओठ चुकाएं
तिम्रो मनको एकएक बस्तुहरू
जब मेरा आदत र आबश्यकता बन्दै बन्दै गए
बनाउंदै बनाउंदै गयौ
संबेदनसिल आंसुले भरिएको
मेरो मन चुकाएं
कैयन रहरहरू चुकाएं
तिमी कुनै आर्थिक बर्षको अन्ततिर, सुरूतिरको
बजारमुल्य जसरि आकाशियौ
तिम्रो जम्मै उचाइको लागि
मैले जम्मै उचाइ चुकाएं
बा ले थाप्लाभरि राखिदिएको आशिर्वाद घोप्टियो
सेकेन्ड , मिलिसेकेण्ड माइलौंको यात्रा चुकाएर टक्क
जब तिमीले सिखरको पाइला उचाल्यौ
छाति, धड्कन र स्वासको मुल्य चुकाएपछि
म कङ्गाल भएको तिमीले पायौ
अब, अन्तिम प्रहरको अन्तिम धड्कन बाट
फुत्त तिमीलाई उफ्राउन
मैले सिङ्गो जीवन चुकाएं
ओहो ! यतिबिघ्न मुल्यवान बनाएं तिमीलाई
तिमी बढी भन्दा बढी भाउ पाउने आशैआशमा दौडियौ
सोच्दैछु ,
म भन्दा कुन धनीले
तिर्न सक्ला तिम्रो एकाधिकार मुल्य ।।

तपाईको प्रतिक्रिया