श्रावण २६, २०७४- नाढीमन तालका लाखौंका माछा बुधबार स्थानीयले जबर्जस्ती मारेका छन् । चन्द्रनगर गाउँपालिका अधीनको ५२ बिघाको तालमा ठेक्का नलाग्दा स्थानीयले माछा मारेर लगेका हुन् । एकै दिन १० लाखभन्दा बढीको माछा लुटिएको चन्द्रनगर गाउँपालिकाका नायब सुब्बा हरिकान्त लाल कर्णले बताए । आसपासका सयौं बासिन्दा एकैपटक पोखरीमा पसेर माछा मार्न थालेका थिए ।
केही घण्टासम्म राज्यविहीन अवस्था देखिएको एक स्थानीयले बताए ।
गाउँपालिकाले दुई पटक ठेक्काको लागि सूचना निकाले पनि लाग्न सकेको थिएन । मधेस क्षेत्रमै ठूलो ताल भएकाले बर्सेनि लाखौंमा माछा ठेक्का लाग्ने गरेको थियो । खडेरीका कारण तालको पानी खेतमा पटाएर सतह घटेको मौका छोपेर स्थानीयले माछा मारेका हुन् । कर्णले स्थानीय प्रशासन र प्रहरीलाई सूचना गरे पनि रोकथाम नभएको बताए । ईश्वरपुर इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले रोकथाम गर्न सकेनन् । सशस्त्र प्रहरी समेतको मद्दतले तालबाट मान्छे हटाउन चार घण्टा लागेको थियो ।
तालको संरक्षणका लागि बनेको समितिले माछा लुटपाट हुँदा पनि कुनै वास्ता नगरेको स्थानीयको आरोप छ । गाउँपालिकाले बिहीबार जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेर पोखरी लुटपाटबारे जानकारी दिने कर्णले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया