सुखद कुरा त यो छ कि यहाँ जेबारे लेख्ने प्रयत्न भइरहेको— प्रकाश आङ्देम्बे निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा’, मस्टर्डसिड अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा अफिसियल छनोट भएको छ ।

माटोको मोह

नेपाल सरकार बोलिदेऊ- बोलिदेऊ बोलिदेऊ !
भारत सरकार बाटो देऊ- बाटो देऊ बाटो देऊ !
भुटान सरकार माटो देऊ- माटो देऊ माटो देऊ !

मेची नदीको पुलमा जब यो नारा हजारौंको भीडले घन्काउन थाल्छ, आजभन्दा पन्ध्र-बीस वर्षअघिको तातो जोशले दिमाग रन्थन्याउन थालिहाल्छ । रौंरौंमा आवेग उत्पन्न हुन्छ । तर, जब सीमा क्षेत्रमा तैनाथ नेपाली तथा भारतीय प्रहरीहरूद्वारा भीडमाथि व्यापक धरपकड र दमन हुन्छ, गोलीसमेत चल्छ तब भीड तितरबितर हुन्छ । अनि अघि जोशका साथ नारा लाउनेहरू निराशाले भरिएको अनुहार लिएर उही शरणार्थी शिविरका दुःखी छाप्राहरूमा फर्कन्छन् । भावुकताले पिर्लिक्क बनाइदिइहाल्छ ।

कारबारी काकाले रुमालमा पोको पारेको माटो, त्यो माटो नेपालको होइन- भुटानको हो । उनी हरेक दिन त्यही माटोको टीका लगाउँछन् । अरूलाई पनि लगाइदिन्छन् । बेलडाँगी शरणार्थी शिविरको छाप्रोमा बस्ने यी कारबारी काका नेपालीभाषी भुटानी हुन् । नेपाली भाषा र संस्कृतिको पक्षमा उभिएका कारण लाखौं नेपालीभाषी भुटानीमाथि आजभन्दा पच्चीस-तीस वर्षअगाडि भुटानमा व्यापक दमन भयो । हजारौंको ज्यान गयो । ज्यादती त यतिसम्म खेप्नु पर्‍यो कि तीन दिनका सुत्केरीले समेत बलात्कृत हुनबाट जोगिन पाएनन् । अब उनीहरूको जाने ठाउँ कहीँ थिएन, भाषा र संस्कृति मिल्ने भएका कारण, अझ नेपाल नै पुख्र्यौली थलो भएका कारण उनीहरूले नेपाललाई नै उचित गन्तव्यका रूपमा रोजे । शरणार्थी भएर नेपालमा बस्न थाले । उनीहरू आफ्नो देश भुटान नै फर्कन चाहन्थे । उनीहरू त्यही आन्दोलनमा सामेल थिए । त्यही आन्दोलनका अगुवा विम्ब हुन् कारबारी काका ।


छातीमा लागेको माटो त आँसुले धोई पखाल्छु
मुटुमा लागेको माटोलाई कसरी मैले पखाल्नु ?
स्वरूपराज आचार्यको मोहक स्वरमा बज्ने यो गीत कवि श्रवण मुकारुङले लेखेका हुन् । शब्दको सत्वमाथि संगीतको संयोजन झनै प्रभावकारी छ । संगीतकार आभासले प्रयोग गरेका सांगीतिक विम्बले मान्छेको हृदयमा आइपुगेर दर्फराउँछ । माटो अर्थात् देश । देश अर्थात् भुटान ।

‘यही ज्यान जोगाउन भनेर यहाँ (नेपाल)सम्म आइयो । अब अमेरिकाचैं जानु किन नहुने ? ‘, कारबारी काकीको यो वाक्यबाट कथाले अर्को फड्को मार्छ । शिविरमा हुने दुःख, अभाव, राजनीतिक अन्तद्र्वन्द्व र हत्यासमेतको पीडाबाट विक्षिप्त बन्दै गएकी काकीको मनोदशाले काकालाई पनि आफ्नो अडानमा परिवर्तन हुन बाध्य गराउँछ । तिनै कारबारी काकाले तेस्रो देश पुनर्बासका लागि निधारभरि रातो टीका लगाउँछन्, बहिनीको अँगालोमा बेरिएर माफीस्वरूप नमस्कार गर्छन् । शिविरबाट बिदा लिन्छन् । आकाशबाट ठूलो विमान उडिजान्छ ।
यसरी माटोको मोह भंग भएर सिनेमा सकिन्छ ।

प्रसंग नेपाली कथानक चलचित्र ‘देश खोज्दै जाँदा…’को हो । हो, आजभन्दा आठ वर्षअघिसम्मका बाक्ला टहराहरू अब त्यहाँ छैनन् । घाँसघारी, झाडी र मासिँदै गरेका केराका झ्याङहरू मात्रै छन् । त्यो बेलाका बग्रेल्ती दुःखहरू, बेथाहरू या पीडाहरू छैनन् । न त अब भुटान फर्कनुपर्छ भन्ने उत्पात मोह नै छ । जे जति छाप्राहरू छन् र ती छाप्रामा बस्ने मानिसहरू छन्, उनीहरू अब आफूलाई लगभगलगभग यही शिविरमा व्यतीत गर्न चाहन्छन् । किनभने, न नेपाल सरकारले बोल्यो, न भारत सरकारले बाटो दियो न त भुटान सरकारले माटो दियो । बस् दियो त बाँकी निराशा मात्रै ।

प्रकाशको फ्रेम

हाङयुग अज्ञातले भन्ने गरेका छन्, ‘हामीले लेख्ने गरेको साहित्यको शैली र संरचना कि त पश्चिमा छ, कि त हिन्दू परम्पराको छ ।’ यो भनाइको अर्थ के हो भने हामीले कि त संस्कृतको छन्द समातिरह्यौं, कि त गद्यको नाममा पश्चिमा प्रयोगहरूलाई मात्रै रुचायौं ।हो, भएको पनि त्यही छ ।

आजको सिनेमामा बिस्तारै स्वैरकल्पनाका ‘आदर्श नायक’हरू अलप हुन थालेका छन् । हिजो निर्माण गरिएका ती नायकहरूलाई हेरेर दर्शकहरू आफू स्वयंलाई तिनै नायकमा रुपान्तरण गर्न खोज्थे । आज त्यो मानक भत्किएर, दर्शकहरूले अब विस्तारै आमचरित्रहरूमा आफूलाई खोज्न थालेका छन् ।

देवकोटाको ‘मुना-मदन’ हाम्रै झ्याउरे भाकामा लेखिएको थियो र अझै सर्वाधिक लोकप्रिय छ । हामीले मुना-मदनको शिल्पीलाई बेवास्ता गर्‍यौं अनि कथामा मात्रै लपेटिने बानी गर्‍यौं । ‘चन्द्रमालाई चन्द्रमा हेर्छिन् कौसी र आकास’ को विम्बलाई वास्ता गरेनौं र ‘चिसो चुल्हो’ को प्रयोग बुझे मात्र ‘बुझक्कड’ हुने लोभमा अझ चिसियौं । त्यसैले त हामीलाई रोधीले छोएन, हामीले कौडा समातेनौं, बालन खेलेनौं, संगिनी गाएनौं । न त मोस्ट लयलाई नै आफ्नो ठान्यौं ।

सेलो, ठुम्का, साकेला, पालाम वा देउडाका भाकाहरू हाम्रो काव्यका संरचना बन्नै सकेनन् । बरु ‘लघु’ र ‘गुरु’ स्वरको तानमा मात्रै तानिइरह्यौं । बरु ‘बिथोबिन प्रयोग’मा बेहद ज्ञाता बन्यौं । तब हामीले हाम्रो मौलिकताको स्वादलाई पर्गेल्न सकेनौं, आफ्नो असली पहिचानलाई अगाडि ल्याउनै चाहेनौं । बरु हामी ‘वर्णा श्रमी’ मानकका अगाडि ठिंग उभिन्छौं र जातीय विभेदको सत्ताधारी हुर्मतले कसिन्छौं । अनि अछूत नामको डोरीमा आफैं पासो कसिन्छौं । सत्ताको सिको गरेर महिलालाई लैंगिक दास बनाउने हामी नै हौं । ‘राष्ट्रवाद’को उग्र नारा लाउँदै मधेसलाई गर्नुसम्मको गाली गर्ने हामी नै हौं । कर्णालीपारिलाई त हामीले अझै पनि बीस किलो चामलको लाममा अल्मल्याइरहेकै छौं ।

ठीक यही पारा छ हाम्रो सिनेमा जगत्मा पनि । हामी कि पश्चिमा ‘फ्रेम’मा सिनेमा खिचिरहेका छौं, कि त हाम्रो पूर्वीय परम्पराको ‘नायिकाभेदी’ रूढमै लिप्त छौं । ‘आदर्श नायक’को परिकल्पनाबाट हामी बढी नै प्रभावित छौं । ‘हिरोइजम’को चेहराले हामीलाई गलाउनु गलाइसकेको छ । हाम्रो आफ्नै नयाँ ‘फ्रेम’ बन्न सकेको छैन । प्रयत्न हुनै नखोजेको भन्ने होइन । तर, बजारसितको डरमा पूराका पूरा प्रयोग गर्न नसकिएको यथार्थ छ । पछिल्लो समयका केही सिनेमाले ‘चरित्र’लाई अगाडि सारे । ‘चरित्र’हरूकै आवश्यकताले केही नयाँपन फेला परेको पनि हो । सलमान खानीय नेपाली सिनेघरको ‘बक्स अफिस’लाई केही नेपाली सिनमाले हाबुकाबु गराएकै हो । तर, ‘सफलताको मेसो यही रहेछ’ भन्ने मानसिकताले उही पाराका सिनेमा धमाधम बन्न थालेपछि फेरि नेपाली दर्शकको मन कुँडिएको भने नमीठो आइलागेको छ ।

काठमाण्डूको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक प्रकाश आङ्देम्बेले भनेका थिए, ‘मैले यो जे र जसरी काम गरेँ, रहर वा सोखले गरिनँ । न त यसबाट ठूलो व्यापारकै आशा गरेर गरेँ । मैले त खालि संवेदनाले गर्दा गरेँ ।’ प्रकाश आङ्देम्बे सुरुआती दिनका कवि हुन्, लेखक हुन् । साहित्यिक व्यक्ति हुनाकै कारण उनले बढी विम्ब खेलाएका छन् । चलचित्र हेरिरहँदा कुनै मीठो कविता पढिरहेको अनुभूति हुन्छ । उनले ‘फ्रेम’ नयाँ बनाउने जमर्को गरेका छन् । साहित्यमा कथा खोज्ने पाठकजस्तै सिनेमामा पनि कथाको ‘क्लाइमेक्स’ खोज्ने दर्शक नै बढी छन् । उनीहरूका लागि यो सिनेमामा कथा भेट्टाउन केही बेर पर्खनैपर्छ । ‘नयाँ प्रयोग’लाई ग्रहण गर्न अन्कनाउने प्रवृत्ति हाम्रो छँदैछ, हलसम्म पुग्नेले उनको यो ‘फ्रेम’लाई कसरी समीक्षा गर्लान् ? नजिकै छ समय ।

कथनको जग

उपेन्द्र सुब्बाको ‘स्क्रिप्ट’ लेखनमा उसै ‘अग्र्यानिक स्वाद’ पाइहालिन्छ । सिनेमाले बोकेको विषयले त सबैलाई आकर्षित गरिछाड्छ । उसो त प्रकाश शरणार्थी शिविरमा हुर्केका धेरैका साहित्यिक गुरु पनि हुन् । उनीबाट मुक्तक लेख्न सिकेका, गजल लेखनको प्रशिक्षण पाएका, कविताबारे ज्ञान गरेका धेरै स्रष्टा यति बेला कोही अमेरिकामा छन्, कोही अस्ट्रेलिया त कोही युरोपका देशमा पुगेर जीवनको अर्को अध्यायमा तल्लीन छन् । उनीहरूसँगको भाइचारा, मानवीय सम्बन्धले प्रकाशलाई ज्ञान गरायो कि हामी पनि त देशभित्रै देश देख्न नपाएका शरणार्थीहरू हौं ।

र त, उनी लागे देश खोज्ने अभियानमा । अनि बनाए चलचित्र- ‘देश खोज्दै जाँदा…’ । यो उनको देश अर्थात् माटोप्रतिको प्रेम हो । यही प्रेम चलचित्रभरि हामी देख्न सक्छौं । यो प्रेम आजका आम मानिसहरूको साझा विषय हो । ‘ग्लोबल भिलेज’को मान्यताले केही हद सान्त्वना त देला । तर, देशभित्र नहुनाको पीडा भने संसारभरका मानिसहरूले झेलिरहेको सत्य हो ।

हो, हरेक निर्देशकले आफ्नो जातीय, सामाजिक, सांस्कृतिक धरातल र सामयिक पुस्ताको मनोविज्ञानबाटै आफ्नो अनुभूति पर्दामा प्रकट गर्छ । समाजसँगको सापेक्षतामै उसले आफ्नो वैचारिक बाटो तय गर्छ । सामाजिक जीवनको जगबाटै उसले केही खोज्छ । प्रकाशले पनि शरणार्थी शिविरकै विषय उठाउनुमा उनको सम्बन्धका कारण हो । शरणार्थी समाजका संवेगात्मक संस्कृतिहरू, तिनले बाँचेको जीवनका सादा र सरलपना, जीवन-शैली, सांस्कृतिक दर्शन नै उनको सिनेमाले भन्ने कथनको खास जग हो ।

पुस्ताका कुरा

पछिल्लो समय म ‘समर लभ पुस्ता’का धेरै पाठकसँग अलि बढी नै नजिकिएँ । उनीहरू भर्खरभर्खर किशोरवय पार गर्दै छन्, जो अझै पनि ‘समर लभ’को धङ्धंगीमा छन् । जति बेला प्रकाशित भयो, त्यो बेला त उनीहरू ‘समर लभ’लाई सिरानीमै सजाउँथे, छातीमै राखेर निदाउँथे । उनीहरूका लागि ‘समर लभ’ले देखाएको संसारबाहेक अरू सबै बेअर्थका थिए । जीवनको आदर्श, जीवनको बोध वा जगत्लाई नियाल्ने दृष्टि सबै सबै प्रेमिल सपनाको मात्रै थियो । समाजले कहाँनेर अप्ठेरो भोग्दैछ ? -‘बाल मतलब ।’ सामाजिक न्यायका लागि लडिरहेकाहरूको आन्दोलन किन पेचिलो भइरहेको छ ? तिनलाई किन टाउको दुखाइ ? क्याफेमा बसेर आफ्नो मन खाएको मान्छेसित कफी पिउन पाइयोस्, अरूरु अनावश्यक ‘टेन्सन’ किन पो लिनु ? सामान्यतया यस्तै मनशाय उनीहरूबाट पाएँ मैले ।

यहाँनेर मैले ‘पुस्ता’ भनेर सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ प्रकाशन भएको समयका किशोर पाठकहरूलाई संकेत गरेको हुँ । उनीहरू अब परिपक्व उमेरतिर आउँदै छन् । उनीहरूको सोचमा परिवर्तन हुन थालेको छ । उनीहरू जीवन र जगत्प्रति केही गम्भिर हुन थालेका छन् । अहिले उनीहरू नयनराज पाण्डेको ‘उलार’, ‘लु’, बुद्धिसागरको ‘कर्नाली ब्लुज’, नारायण ढकालको ‘प्रेतकल्प’ वा युग पाठकको ‘उर्गेनको घोडा’ आदिबारे बहस गर्न तम्सिँदै छन् । उनीहरू उपन्यासमा एकसरो कथा मात्रै होइन, उपन्यासमा लेखकले प्रयोग गरेका कला, शैली वा शिल्पहरूले बोक्ने सौन्दर्यका बारे विमर्श गर्न खुल्दै छन् । कृतिका चरित्रहरूले उठाएका विषय वा मुद्दा कति सामयिक र महत्ववका छन् भनेर तर्क गर्नसमेत हौसिँदै छन् । यसरी पाठकीय स्वादमा चेतनाको विस्तार हुनुलाई सुखद मान्नैपर्ने हुन्छ ।

हो, किशोर उमेरमा हाम्रो पुस्ताले पनि प्रकाश कोविद र युधीर थापाका किताबलाई उसरी नै प्रेम गथ्र्यौं । खासमा भन्ने हो भने उनीहरूकै उपन्यास पढेर प्रेमिल भइआएका हौं हामी । स्वप्निल हुनका लागि पनि हामीलाई कहीँ न कहीँ तिनै किताबले घचेट्न थालेका हुन् । पक्कै हो, हामी धेरैले त्यो किशोरवय छिचोलेपछि अलि बोझिला उपन्यास रुचाउन थालेका हौं । उपन्यासको स्वाद लिनमा अरूअरू ‘भेराइटी’ खोज्न थालेका हौं । पठन प्रक्रियामा यस्तो जरुर भइहाल्छ, हुनै पनि पर्छ ।

ठीक यही रूपले नेपाली सिनेमामा पनि अब नयाँ पुस्ताको आगमन भइरहेको प्रस्टै देखिन्छ, भेटिन्छ । हिजो कारखानाका मजदुरहरू, भरियाहरू या तेस्रो दर्जाका भनिएकाहरूले हल भरिदिएर मात्र सिनेमा ‘हिट’ हुने परम्परा तोडिएको छ । अब त ‘मल्टिप्लेक्स’ पुस्ताको ओइरो लागेको छ । यो पुस्ताले नेपाली सिनेमा मात्रलाई होइन, संसारका सिनेमाहरूलाई हेर्छ, बुझ्छ । विश्लेषण र संश्लेषण दुवै गर्छ । कठोरतापूर्वक आलोचना पनि गर्छ । कथालाई मात्र हेर्ने पारा अब अलि बोझलाग्दो हुन थालेको छ । निर्देशकीय कलालाई महत्वव दिन थालिएको छ । प्रकाश आङ्देम्बेले यही कलालाई जोड दिएका छन् । कलाका पारखी पुस्ताले ‘देश खोज्दै जाँदा…’ लाई सम्मान गरून् । कुरा यति नै छ ।

मैझारोमा

पछिल्लो समय जे जसरी नेपाली सिनेमाबारे थोरै विमर्श हुन थालेका छन्, विशेष गरी ‘साहित्य महोत्सव’मा पनि ‘सेसन’ चल्न थालेका छन् । नवीन सुब्बा, छिरिङ रितारहरूले भन्दै र गर्दै आएको नेपाली सिनेमाको ‘वैकल्पिक धार’ अब केन्द्रीय धारमा स्थापित हुने संकेत देखिन थालेको छ । यसले अघिल्तिरको यात्रालाई नै बलशाली बनाउँदै ल्याएको मान्न सकिन्छ । मीन भाम, दीपक रौनियार वा प्रकाश आङ्देम्बेहरूले यही बाटो समातेका छन् । र त, हिजोको मानक पर्दामा डरलाग्दा खलपात्र देखिने हेमन्त बुढाथोकी आज ‘देश खोज्दै जाँदा…’मा कारबारी काका भएर नयाँ विम्बमा आएका छन् ।

हो, कोठामा कल्पिने निर्देशकभन्दा समाजमा घुलमिल गर्ने निर्देशक नै दरिलो हुन थालेका छन् । आफूलाई ‘भू-मण्डलीकरण’को विश्व-मानवतावादी ठान्ने तर सामाजिक उत्तरदायित्वबाट भने परपरै पन्छिने निर्देशकहरू दर्शकहरूको अदालतमा ‘अभियुक्त’ उभ्याइन थालेका छन् । ‘आइटम डान्स’को बजारिया हल्लाका कारण केही थान टिकेट बिक्री त अवश्य भएको छ, किशोर-वयस्कहरूमा तिनले ‘क्षण-भंगुर रोमाञ्चकता’ त जरुर जगाएका छन् तर तिनै किशोर-वयस्क दर्शकहरू जब गम्भीर बन्न पुग्छन्, तिनै ‘आइटमे’ सिनेमाहरू तिनै दर्शकमा रुचिकर नलाग्ने हुन थालेका छन् । तिनै दर्शकले जीवनको भोगाइमा एउटा सानो भूलको क्षमायाचना माग्न थालेका छन् । अनि त बन्न थालेका छन् ‘देश खोज्दै जाँदा’हरू ।

हो त, आजको सिनेमामा बिस्तारै स्वैरकल्पनाका ‘आदर्श नायक’हरू अलप हुन थालेका छन् । हिजो निर्माण गरिएका ती नायकहरूलाई हेरेर दर्शकहरू आफू स्वयंलाई तिनै नायकमा रुपान्तरण गर्न खोज्थे । आज त्यो मानक भत्किएर, दर्शकहरूले अब विस्तारै आम चरित्रहरूमा आफूलाई खोज्न थालेका छन् । आजको सिनेमाको ऐना यही हो । यसैबाट हामीले हाम्रो सिनेमामा आजको समयचेत र समाजलाई बोध गर्नुपर्ने हुन्छ ।
फेरि पनि शुभकामना ‘देश खोज्दै जाँदा…’लाई । जब देश भेटिँदैन, देशको खोजी त निरन्तर चलिरहन्छ ।

@annapurnapost.

तपाईको प्रतिक्रिया