पुष्पा थपलिया

शिवहरि पौडेल २०४० सालतिर हेटौंडाको अमलेखगञ्जबाट राजधानी छिरे । कामसँगै पढाइलाई अगाडि बढाउने सिलसिलामा काठमाडौं छिरेका उनी बैंकका जागिरे थिए । सुरुमा आयल निगमको जागिरे भए पनि पछि उनले १० ठाउँमा एक्कैचाटी नाम निकाले र बैंक रोजे । त्यसबेला  उनलाई खरदार र सुब्बाका सबै प्रश्न उत्तर कण्ठै थियो ।
बैंकको पैसा गन्ने काम भए पनि उनलाई पैसाको भने सधैं अभाव भइरह्यो । बैंकको साढे पाँच सय तलब कोठा भाडा र क्याम्पस फी तिर्दा सकिन्थ्यो । केले खाने केले लाउने सधैं तनाव हुन्थ्यो उनलाई ।
शौचालय देख्दा घरको झल्को
पैसाको अभाव भएकाले उनी त्यस समय चलेका पत्रिका दुई रुपैयाँमा बेच्थे । त्यसबापत उनलाई एक रुपैयाँ नाफा हुन्थ्यो । ‘त्यसका लागि कहिलेकाहीँ त क्लास नै छाडेर पनि हिँड्नुपथ्र्यो,’ उनले आफ्नो दुःख सुनाए । ४० ओटा पत्रिका बेचेबापत कमाएको ४० रुपैयाँले उनी रिमिझिमी भोजनालयमा दुई प्लेट भात र एक कचौरा तरकारी खान्थे । यति खानाको सात रुपैयाँ पथ्र्यो । पत्रिका बेच्न सुन्धारा वरपर डुल्दा उनी सानो घरजस्तै चिटिक्क परेको शौचालय ( अहिले त्यो शौचालय भत्काइएको छ ) देख्थे । त्यो देख्दा कुनै समय यस्तो राम्रो घरलाई किन शौचालय बनाइएको होला त कहिले मेरो पनि यस्तै सानो घर भइदिएको भए अर्काको घरमा बस्दा जस्तो पीडा हुँदैनथ्यो होला भन्ने ख्याल आउने उनी बताउँछन् ।
थोत्रा गाडीको टेन्डरले खुलेको भाग्य
उनी आफूलाई महत्वाकांक्षी मान्छे ठान्छन् । मनभरि केही न केही गर्ने इच्छा भए पनि विविध कारणले गर्न सकिरहेका थिएनन् । कति समयसम्म उनले दुई छाकको कुरै छाडौं एक छाक पनि राम्रोसँग खान पाएनन् । त्यस्तो बेलामा उनी आकाशतिर फर्केर भगवानलाई खुब गाली गर्थे रे ! त्यसै समय उनको एक साथीले पैसा जम्मा गर्दै टेन्डर किन्ने गरेको उनले देखे । आफूले पनि दुई चार हजार जम्मा गर्दै टेन्डरमा हाल्न थाले । कुनै समयबाहेक प्रायः उनलाई टेन्डर पथ्र्यो र उनी केही पैसा नाफा खाएर अर्कोलाई बेच्थे । जागिरको पैसाले घर खर्च र कोठाभाडा अनि टेण्डरबाट आएको नाफा जम्मा गर्दा ८० हजार भएछ । त्यसै समयमा कुलेश्वरमा राम्रो जग्गा एक लाख ५९ हजारमा बिक्री गर्न राखेको देखेपछि उनमा जग्गा किन्ने मोह बढ्यो । उनी भन्छन्, ‘किन्ने मोह त चढ्यो तर पैसा आधा मात्रै थियो । पछि साथीसँग सापटी मागेरै भए पनि त्यो जग्गा किनेँ ।’

जग्गा त किने तर न उनले त्यहाँ घर बनाउन सके न त सापटी मागेको ऋण नै तिर्न सके । केही न केही त गर्नुपर्यो भनेर उनले एक बैंकदेखि थप ८४ हजार लोन लिएर र त्यो जग्गामा जग हाले ।

तर घर बनाउने पैसा भएन । त्यसै समय पाल्पाका एक जना मानिसले त्यो जग्गालाई पाँच लाख दिने भन्दै आए । ऋणको ब्याज बढाउँदै लैजानुभन्दा  उनले त्यो जग्गा बेचिदिए र ऋण तिरे । एमाले पार्टी कार्यालयभन्दा पछाडिको त्यस जग्गामा अहिले तिनै पाल्पालीले बडेमाको घर बनाएका छन्, त्यो पनि पौडेलले नै डिपिसी गरेको ठाउँमा । ऋण तिरेर बाँकी पैसाले बल्खुको भिरालो ठाउँमा उनले जग्गा किने ।
पहिलो घर
रेडियो नेपालमा काम गर्ने साथी राम थापाले सुझाएको ठाउँमा उनले डेढ लाखमा जग्गा किनेका थिए । बाँकी पैसा र केही ऋण धन गरेर उनले त्यो भिरालो जग्गामा एक तले सानो घर बनाए तर ओरालो लागेको हरिणलाई मृगले पनि खेद्छ भनेजस्तै उनलाई दलालले ठगेछ ! त्यहाँ जाने बाटो नै नक्सामा रहेनछ । जसका कारण करिब ढेड वर्षसम्म उनले अरुकै घरको पानी मागेर खाए, अरुकै घरबाट तार लगेर बिजुली बाले । त्यति मात्र होइन, बर्खाताका बल्खु खोला आँगनैसम्म आउँथ्यो । घरभित्र बाढी पस्ने हो कि भनेर उनी रातभर जागा रहन्थे । त्यस समय उनलाई लाग्थ्यो, यस्तो घर हुनुभन्दा नहुनु जाति ।

बाँसको झाडीमुनि भाग्यको घर
फुर्सदका बेला उनी तास खेल्न एक थकालीको घरमा जान्थे । एक दिन तिनै थकालीले उनको घर बेच्ने भए किनिदिने कुरा गरे । निल्नु न ओकल्नु बनेको घर कसैले किन्छु भन्दा उनी मनमनै त हाँसे तर मुखले १० लाख नभई नबेच्ने कुरा गरे । तर थकाली बाजे मान्दै मानेनन् । ‘बाहुन होस् त्यही भएर बढी लगे पनि दक्षिणा हुन्छ,’ ती व्यक्तिले साढे सात लाखमा उनको घर किने । शिवहरिले सम्झे, ‘त्यस बेला टाउकोको ठूलो बोझ कम भएजस्तो भयो ।
त्यहाँबाट आएको पैसाले उनले नैकापको बाँसघारीमुनि जग्गा किने र घर बनाए ।
सुरुमा एकतला मात्रै थियो उनको घर । ‘सबैले बाँसको छायाँमुनि कसैलाई लच्छिन लाग्छ कसैलाई अलच्छिन लाग्छ भन्थे,’ पौडेलले सम्झिए, ‘तर मलाई भने त्यो घरमा लच्छिन लागेछ ।’ त्यसै घरमा उनले साथीकी बहिनीलाई भगाएर श्रीमतीका रुपमा भित्रयाए भने केही समयमै घरको दोस्रो तला पनि थपे ।
सास्तीले सरायो अर्को घर
बाँसघारी मुनिको घरमा उनलाई लच्छिन त लाग्यो तर सास्ती भने निकै बेहोर्नुप¥यो । कहिले घर माथिको पुरानो बस्तीको ढल बगेर उनको घरभित्र पस्थ्यो त कहिले रक्सी खाएका मानिसले लात्ती बजार्थे । कहिलेकाहीँ त बटुवाले ढोकैमा सुसु गरिदिन्थे । धेरै पटक नैकाप गाविसमा उजुरी हाल्दा पनि केही समयपछि उस्तै हुन्थ्यो । उनको घर सडकदेखि केही पर थियो, आफ्नो साधन रोडमै छाडेर घरसम्म हिँड्दै जानुपथ्र्यो । त्यस्तै पानीको पनि निकै समस्या थियो ।

पानी मोह
अहिले नैकापको आदर्शनगर टोलदेखि १०–११ घर पर उनको साढे दुई तले घर छ । साढे नौ आना जग्गामा घर मात्रै हैन, खेतीपाती गर्ने सानो टुक्रो जग्गा पनि छ, जहाँ मकैका घोगाहरु फलिरहेका छन् । कहिले ढल त कहिले जँड्याहाको लात्ती सहन नसकिरहेको अवस्थामा एक साथी टीकारामले अहिले घर भएको जग्गा किन्न सुझाए । तर उनीहरुसँग पैसा थिएन । बाँसघारी मुनिको घर बेच्न खोज्दा कोही मानिस किन्न आएनन् । तर अन्त्यमा एक मानिस आए उनले बनेको लागतभन्दा कममा त्यो घर किने । १० लाखमा घर बेचेका उनले ८ आनाको ८ लाखमै जग्गा किने र २ लाखको डिपिसी गराए । उनको जग्गामा दुई आनाको चोसे जग्गा बाँकी रह्यो । सस्तोमा पाए त्यसैले साथीभाइसँग सापटी मागेरै १ लाख १० हजारमा त्यो जग्गा पनि किने । त्यतिखेरसम्म उनी कलाकारिता क्षेत्रमा जम्न थालिसकेका थिए । त्यहाँबाट कमाएको केही पैसा र बैंकबाट लोन लिएर उनले घर बनाए । पैसा अभावका कारण दुई वर्षसम्म झ्यालमा सिसासमेत नराखेको उनी सम्झन्छन् । भन्छन्, ‘झ्यालमा सिसा थिएन, अहिलेजस्तो बस्ती बाक्लो पनि थिएन । रातभर बाघ र स्याल कराउँथे, त्यसैले रातै नपरे हुन्थ्यो भन्ने लाग्थ्यो ।’
पछि बिस्तारै घरको तला थप्दै गए, झ्यालढोकामा सिसा राख्दै गए । तर घर बनाउनुभन्दा पहिले भने उनले पानीकै जोहो गरे । जग हाल्दा नै इनार र स्टोरेज ट्याङ्की बनाए किनभने पहिलेको घरमा परेको पानी समस्या सजिलै भुलिने खालको थिएन । अहिले जहाँको धारा खोल्दा पनि पानी आउँछ,’ त्यो बेलाको पीडा सम्झँदै मुसुक्क हाँसे उनी । उनले यस घरमा धेरै ढुङ्गा प्रयोग गरेका छन् र त्योभन्दा धेरै प्रयोग गरेका छन् मिहिनेत ।

नैकापको आदर्शनगर टोलदेखि १०–११ घर पर उनको साढे दुई तले घर छ । साढे नौ आना जग्गामा घर मात्रै हैन, खेतीपाती गर्ने सानो टुक्रो जग्गा पनि छ, जहाँ मकैका घोगाहरु फलिरहेका छन् ।

तला थपिँदै जाँदा  खल्ती रित्तिँदै गयो । सुरुमा वास्ता नलाग्ने छरिएर खेर गएका गिट्टी र बालुवा पनि सोहोरिए । ती पनि अनमोल लाग्दै गए । कहिले के त कहिले के सकियो भनेर चिन्ता भइरहँदा वरपरका मानिस बालुवा र गिट्टी हातमा खेलाउँदै भन्थे, यस्तो नराम्रो गिट्टी, यस्तो बालुवा हालेको कामै नलाग्ने आदिआदि । यति मिहिनेत गरेर बनाउन लागेको घरको कच्चा पदार्थमा मानिसहरुले कमेन्ट गरेको सुन्दा उनको मुटु पोल्थ्यो, छुट्टै डरले सताउँथ्यो ।
१५ वर्षअघि ३५ लाखमा बनेको घर अहिले करोडौँ मूल्य पर्ने बनेको छ । र, यस घरमा अहिले उनी ९० दशक काटेकी आमासँग एक्लै छन् । उनकी पत्नी छोरी पढाउन अमेरिका पुगेकी छन् । पौडेलले पनि यो घरमा धेरै समय बिताउन पाएका छैनन् । ‘धित मरुञ्जेल दुःख गरेर बनाएको घरमा बस्नसमेत पाएको छैन, कहिले फिल्म, कहिले सिरियल भन्दाभन्दै दिन बितिरहेको छ,’ घर बस्न नपाउँदाको पीडा उनी खुलाउँँछन् ।

(नागरिक परिवारबाट साभार)

तपाईको प्रतिक्रिया