kchhakhabar.com

गृहपृष्ठ मुख्य खबर भुजा पसल छोडेर श्रीमान-श्रीमती बने मेयर र उपमेयर उम्मेदवार

भुजा पसल छोडेर श्रीमान-श्रीमती बने मेयर र उपमेयर उम्मेदवार

इटहरी, error गते

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन ‘धनाढ्य’ उम्मेवारहरूसँगको होडबाजीमा भुजा-पकौडी बेचेर गुजारा गर्दै आएका मुन्नाकुमार साह कानु सामेल भएका छन् । मेयर पदमा उम्मेदवार बनेका मुन्नालाई साथ दिँदै उनकी श्रीमती बबितादेवी साह कानुले पनि उपमेयरमा उम्मेदवारी दिएकी छन् । उनीहरूलाई नेकपा संयुक्तले उम्मेदवार बनाएको हो ।

रानीघाटस्थित सिर्सिया पुलनजिकै भुजा-पकौडी पसल चलाउँदै आएका ३२ वर्षीय मुन्ना र २७ वर्षीया बबिता दम्पती मेयर र उपमेयरको उम्मेदवार बनेपछि छिमेकी आश्चर्यमा छन् । देश-विदेशमा चर्चित वीरगन्ज सहरको कन्तबिजोग देखेर दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएको मुन्ना बताउँछन् । आफूले उम्मेदवारी दिने सोच बनाएपछि बबिता पनि उपमेयर उम्मेदवार बन्न तयार भएको उनको भनाइ छ ।

‘हुन त मेयर पदमा सबै ठूला दलका उम्मेदवार पैसावाला छन्, दुई-चार करोड खर्च पनि गरिरहेका छन्’, उनी भन्छन्, ‘तर, धनीले मात्र निर्वाचन लड्न पाउनुपर्छ भन्ने कानुनमा कहीं पनि लेखेको छैन, हामी गरिबले पनि निर्वाचन लड्न पाउने अधिकार कानुनले दिएको छ ।’ त्यसैले गरिब भए पनि पतिपत्नी नै उम्मेदवार बनेको उनको भनाइ छ । भन्छन्, ‘जित-हार आफ्नो ठाउँमा छ ।’

अरू दलका उम्मेदवारले दिनहुँ लाखौं रुपैयाँ बाँडिरहेको उनको दाबी छ । उनका अनुसार ती उम्मेदवारले भोजभतेर गरिरहेका छन् । ‘तर, जनताले पैसावालाको पैसा त खान्छन् तर भोट हामी गरिब उम्मेदवारलाई नै दिन्छन्’, उनी विश्वासका साथ भन्छन्, ‘यसपालि वीरगन्जमा नयाँ इतिहास बन्छ, जो इमानदार छ त्यही नै जित्छ ।’

-भुजा-पकौडी व्यवसायी दम्पती नै उम्मेदवार
-महानगर हाँक्न तम्सिएपछि छिमेकी आश्चर्यमा
-सहरको कन्तबिजोग देखेर उम्मेदवार बनेको भनाइ
-स्वच्छ, सफा र सुन्दर सहर बनाउने प्रतिबद्धता

वीरगन्जलाई स्वच्छ, सफा र सुन्दर सहर बनाउने चाहना छ, उनको । सहरको सरसफाइ पहिलो प्राथमिकता रहने उनी सुनाउँछन् । ‘अव्यवस्थित ढल र नालालाई व्यवस्थित बनाउँछु, वीरगन्जलाई लोडसेडिङमुक्त पार्छु’, उनी भन्छन्, ‘गरिब असहायका लागि जे जस्तो हुन्छ घर बनाउने र मधेस आन्दोलनका सहिद परिवारका लागि भरपोषणको व्यवस्था गर्छु ।’

उपमेयर उम्मेदवार बबिता आफू जित्नेमा विश्वस्त देखिएकी छन् । ‘आज निर्वाचनमा लाखौं-करोडौं रुपैयाँको खोला बगाइरहेका ठूला दलका उम्मेदवार हिजो बाढीले गरिब-दुःखी घरबारविहीन हुँदा हेर्न नै आएनन्’, उनी भन्छिन्, ‘हामी गरिब भए पनि आफूसँग भएको पैसाले चिउरा, मिठाई किनेर ती गरिब-दुःखीलाइ बाँड्यौं ।’ पैसा सकिएपछि चन्दा उठाएर बाढीपीडितलाई एक रात पनि भोकै नराखेको उनी सुनाउँछिन् । ‘यो सब कुरा वीरगन्जका गरिब जनताले देखेका छन्’, उनी भन्छिन् ।

आफूहरू धनीभन्दा पनि गरिबका लागि उम्मेदवार बनेको उनको भनाइ छ । गरिब-दिनदुःखीले भोट दिएर जिताउने उनी बताउँछिन् । उनीहरूलाई घरपरिवारका सदस्यले भरपूर साथ दिएका छन् । उनीहरू मनोनयन दर्तापछि निर्वाचन प्रचारमा हिँडेपछि पसल मुन्नाका बुवा लक्ष्मण र आमा सुशीलाले सम्हालेका छन् । ‘जन्मस्थलका लागि केही गर्छु भनेर छोराबुहारी दुवैजना उम्मेदवार बनेका छन्, परिवारका हामी सबै खुसी छौं’, शनिबार पसलमा भेटिएका लक्ष्मणले भने, ‘जित-हार आफ्नो ठाउँमा छ तर दुई-तीन लाख लाग्छ भने पनि घडेरी बेचेर लगाउँछु तर छोराबुहारीको मनोबल गिर्न दिन्नँ । छोराबुहारीले जिते ठिकै छ नभए निर्वाचनपछि फेरि पसल सम्हालिहाल्छन् ।’

पसलमा खाजा-नास्ता खान आउने हरेक ग्राहकसँग छोराबुहारीका लागि भोट माग्ने गरेको उनले सुनाए । भने, ‘सबैले हुन्छ भनिरहेका छन्, यसले हामी झन् उत्साहित बनेका छौं ।’

यस खबरमा तपाईंको प्रतिकृया