१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

सप्तरी – वि.सं. १९९७ माघ १० गते राति नेपालको नभमण्डलमा एउटा बलिदानी ताराको उदय भयो ‘तारा शुक्र’ । त्रिपुरेश्वर–कालिमाटी सडकमा पर्ने टेकुस्थित वीर अस्पतालको संक्रमण रोग उपचार एकाई (हाल शुक्रराज शास्त्री संक्रमण रोग उपचार अस्पताल) छिर्ने छेडोको मुखैमा एउटा रुख थियो, जुन रुखको हाँगामा विद्वान् शुक्रराज शास्त्रीलाई फाँसी दिएर हत्या गरिएको थियो ।

‘नेपाल राष्ट्रमाथि षड्यन्त्र गरी देशको श्री ३ महाराज एवं प्रधानमन्त्रीको गाथगद्दी ताक्ने सबै गुण्डाहरुको नाइके तँ शुक्रे नै हो । तैंले मेरा सोझासीधा रैतीहरुलाई कथा वाचनको बहानामा उक्साउने, भड्काउने, विदेशमा अनर्गल मिथ्या भ्रम फैलाएर राष्ट्रविरुद्ध षड्यन्त्र गर्नेजस्ता जघन्य अपराधहरु गरेको छस्, तैंले हदैसम्मको दण्ड पाउने पैmसला आजको यस सुनुवाइमा हुनेछ ।’ प्रधानमन्त्री जुद्धशमशेर राणाले त्यस बेला भने ।

काठमाडौंमा केही समयदेखि जहानिया राणाहरुको जनविरोधी शासनविरुद्ध प्रजापरिषद् नामक जनस्तरीय संगठनले पर्चाहरु छर्ने, कोणसभा एवं भाषण गर्ने तथा भारतका पत्रपत्रिकाहरुमा लेखहरु प्रकाशन गर्नेजस्ता क्रियाकलापहरु गरिआएको थियो । प्रजापरिषद्का केही गद्दार सदस्यहरुले पोल खोलेको कारण त्यस संगठनका मुर्धन्य नेताहरु टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, गणेशमान सिंहलगायत अन्य थुप्रै सक्रिय सदस्यहरुलाई राणा सरकारले पक्रेर थुनामा राखेको थियो ।

सिंहदरबार श्री ३ जुद्धशमशेर राणाको आवास एवं कार्यालय थियो । तत्कालीन अवस्थामा प्रधानमन्त्री नै देशको वास्तविक शासक र रैतीहरुको भाग्यविधाता थिए । राष्ट्रविरुद्ध षड्यन्त्र गरेको अभियोगमा थुनामा परेका प्रजापरिषद्का सम्पूर्ण सदस्यहरुसँगै उनीहरुभन्दा दुई वर्षपहिला नै थुनामा परेका शुक्रराज शास्त्री (प्रजापरिषद्को सदस्य नभएको) समेतको जीवनमरणको भाग्यरेखा कोरिइरहेको थियो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा । राजा त्रिभुवन, बेलायती आवासीय प्रतिनिधि जेफ्री बेथम, रत्नमा बडाकाजीलगायत अन्य उच्च पदस्थ अधिकारीहरुलाई प्रधानमन्त्रीले कैदीहरुको भाग्यको पैmसला गर्ने नाटकीय सभामा साक्षी पात्रको हैसियतमा उपस्थित गराएका थिए ।

शास्त्रीले आफूमाथि लगाएको जस्तोसुकै गम्भीर आरोपको खण्डन कहिल्यै गरेनन् । उनी देश र जनहितमा आफूले गरेका सतकर्मप्रति सदैव सन्तुष्ट थिए । वादीको तर्फबाट स्वयम् प्रधानमन्त्रीले उक्त सुनुवाइ सभामा शास्त्रीलाई हदैसम्म होच्याउँदै, अपमानित गरी लाञ्छनायुक्त गम्भीर अभियोग लगाउँदै गर्दा बीचैमा निर्भिकताका साथ आपूmले राष्ट्र र जनहितमा गरेका कार्यहरु न्यायोचित रहेको कुरा उक्त सभालाई बुझाउने प्रयास गरेका थिए शास्त्रीले । उनले ठाडै प्रश्न गरे, ‘के महाराजा स्वयम् आफैँ मात्र बोलिरहने हो वा मैले पनि राष्ट्रका प्रतिष्ठित व्यक्तिहरुको यस सम्मानित भेलालाई सम्बोधन गर्न पाउने हो ? मैले त्यस्तो के भयंकर अपराध गरेँ, जसको लागि मैले सजाय पाउनुपर्ने भएँ । यदि धर्मशास्त्रमा शासकसँग विमति राख्ने नागरिकलाई सजायको व्याख्या भएको भए धर्मशास्त्रले अन्यायी शासकलाई कस्तो सजायको व्याख्या गरेको छ ?’

शास्त्रीले यति के भनेका थिए, जुद्धशमशेर रिसले थरथर काँप्दै गर्जिए, ‘के भन्छ यो रैती न्यार ? मसँग ठाडो सवालजवाफ गर्छस् ? त्यसमा पनि म अन्याय शासक अरे ! धर्मशास्त्रमा मेरो लागि कस्तो सजाय तोकिएको छ अरे ! दुई अक्षर पढेको छु भन्दैमा यत्रो घमण्ड, तँलाई डर छैन आफ्नो ज्यानको ?’

शास्त्रीले ओठे जवाफ फर्काउँदै भने, ‘केको डर ! मलाई कुनै किसिमको घमण्ड छैन, मैले कुनै किसिमको राष्ट्रघाती काम गरेको छैन । मलाई अन्यायी शासकले भीखमा दिएको जीवनदान लिएर बाँच्नुछैन । यो नाटकीय मञ्चनमा के पैmसला हुनेछ, मलाई राम्रोसँग थाहा छ, जुनसुकै फैसलाको लागि म तयार छु ।’ रिसको सीमा नाघ्यो जुद्धशमशेरको, गर्जिंदै भने, ‘यसले राष्ट्र र आफ्नो महाराजविरुद्ध के–कस्ता षड्यन्त्र तथा अपराध गरेको थियो, सबै सुना ।’

फेहरिस्तको पुलिन्दा खोलेर अधिकारीले भने, ‘प्रभु ! यो शुक्रराज शास्त्रीले टोलछिमेकमा प्रवचन दिने क्रममा श्री ३ महाराजविरुद्ध जनसाधारणलाई भड्काउने, उक्साउने गरेको छ । प्रभुको शासकीय अधिकार कटौती गरी प्रजामा लैजान गोप्य संस्था चलाएको छ । छिमेकी राष्ट्र भारतमा सरकारी खर्चमा सरकारी छपाइको काममा खटेर गएको बेला त्यस देशका नेताहरुसँग हरगुहार गरी नेपाल सरकारको तख्ता पल्टाउनेजस्तो जघन्य षड्यन्त्र गरेको छ ।’

यसको दसी प्रमाणको लागि सन् १९३८ मा भारतका पत्रपत्रिकाहरुमा शास्त्रीले भारतीय नेताहरुसँग भेटघाट गरेको सन्दर्भमा प्रकाशित समाचारको कटिङ पेस गरिएको थियो भने प्रवचनका बेला प्रजा उक्साउने सन्दर्भमा राणाका जासुसहरुलाई साबिती बयान दिन लगाइएको थियो ।

‘यस्ता नीच, षड्यन्त्रकारी, राष्ट्रद्रोही, अपराधी गुण्डाहरुको नाइकेलाई केवल मृत्युदण्डको सजाय मात्र हुन सक्छ, कसो ?’ भन्दै प्रधानमन्त्री जुद्धशमशेरले सुनुवाइमा उपस्थित सबैतिर आँखा घुमाए । चापलुसी गर्दै उपस्थित भएका अधिकांशले ‘ठीक हुकुम बक्स्यो महाराज, मृत्युदण्ड, मृृत्यदण्ड’ भने । जुद्धशमशेरले श्री ५ त्रिभुवनको समेत समर्थन खोज्दै राजातिर हेरे । राजाले श्री ३ महाराजलाई ‘परिवर्तनशील बन, कठोर नहोऊ’ भने । यसलाई श्री ५ त्रिभुवनको समेत समर्थन रहेको मानेर शास्त्रीलाई मृत्युदण्ड सजायको फैसला सुनाइयो ।

सबै आरोपीहरुको नाइके घोषित गरिएका शास्त्रीलाई मृत्युदण्डको सजाय सुनाएपछि अन्य आरोपीहरुको हकमा सुनुवाइ चालू राखिनुपर्ने आवश्यक ठानिएन । उनीहरुलाई अपराधी ठहर गर्न उनीहरुकै घर खानतलासीमा फेला परेका सबुतहरु, विभिन्न स्रोतहरुबाट संकलित लिखित बयान र आरोपी स्वयंको स्वीकारोक्तिलाई नै आधार बनाइयो । सबुत प्रमाणको अभावमा अभियोग कबुल गराउन हदैसम्मको यातना दिइयो । तर अधिकारीहरुले जतिसुकै हैकम चलाएर प्रताडना दिए तापनि क्रान्तिकारीहरु कसैले पनि आफ्ना साथीहरुको नाम पोल्ने वा उनीहरुमाथि दोष थोपर्ने काम गरेनन् ।

प्रधानमन्त्री गम्कँदै तर आफ्नो मतलब सार्थक भएकोमा सन्तुष्ट हुँदै उक्त सभाबाट उठेर हिँडे । राजा आफ्ना प्रजालाई बचाउन असमर्थ भएकोमा खिन्न मन लिई नारायणहिटी दरबारतर्फ लागे भने आवासीय बृटिस प्रतिनिधि अक्कमक्क भई केही पनि नबोली चुपचाप लैनचौरस्थित आफ्नो दूतावासतर्फ लागे ।काठमाडौं बाङ्गेमुढा निवासी विद्वान् माधवराज जोशीका सुपुत्र शुक्रराज जोशी आर्य समाजको पक्षधर थिए । पूर्वेली शिक्षा पद्धतिमा शास्त्री (स्नातक) तहको डिग्री हासिल गरेलगत्तै थरमा विश्वास नगर्ने उनले आफ्नो नामपछाडिको जोशी थर झिकेर शास्त्री राखे ।

शुक्रराज शास्त्री तत्कालीन मानव अधिकारबाट वञ्चित सामाजिक संरचनाबाट असन्तुष्ट र मर्माहत थिए । जनअधिकारबारे चेतना शून्य तत्कालीन समाजमा चेतना जगाउन उनले टोलछिमेकमा गीताको कर्मयोगमाथि व्याख्या गरी कर्तव्य सर्वोपरिको मन्त्रणा दिन्थे । शास्त्रीले गीताका धार्मिक उपदेशहरु वाचन गरी तत्कालीन समाज र सामाजिक ढाँचामा विद्यमान जनता प्रभावविहीन पारिने शोषणपरक मान्यताबाट मुक्त हुन स्थानीय बासिन्दामा जनचेतना जागृत गर्ने प्रयास गरेका थिए । उनले जनता स्वयम् आफू र समाजप्रतिको जिम्मेवारीबारे दायित्वबोध गराउने प्रयत्न गरेका थिए । सामाजिक परिवर्तनको प्रयास भनेको अन्तत्वगत्वा राजनीतिक परिवर्तन अर्थात् क्रन्ति हो, जुन जहानिया राणा शासनको लागि सर्वथा अमान्य थियो ।

विगतका दिनहरुमा राजनीतिक इन्जिनियरिङ भनेको राणा परिवार र केही टाठाबाठाहरुको बपौती थियो । शास्त्रीले धर्मशास्त्रका उपदेशहरुको वाचन गरेर जनताको अन्तरात्मा जागृत गराई सीमित मानिसको दायराभित्र रहेको राजनीतिक इन्जिनियरिङलाई जनताको माझमा ल्याउने कोशिश गरका थिए ।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघले विश्वव्यापी मानवअधिकार बडापत्र जारी गरेको थियो । नेपालमा शुक्रराज शास्त्रीले त्यसको १२ वर्षअगावै सन् १९३६ मा आफ्नै अध्यक्षतामा ‘नागरिक अधिकार समिति’ नामक गुप्त संस्था स्थापना गरी मानवअधिकार सन्दर्भका कार्य अगाडि सारिसकेका थिए । उक्त गुप्त संस्थाका अन्य सदस्यहरुमा केदारमान व्यथित, अमर शहीद गंगालाल श्रेष्ठ, शंकरप्रसाद नेपाल, मुरलीधर भट्टराई, राजलाल कलुवार र आनन्दराम श्रेष्ठजस्ता जागरुक तथा जुझारु युवाहरु रहेका थिए । शास्त्री स्वयम् आपैmँ र मुरलीधर भट्टराईले ठाउँ–ठाउँमा प्रवचनमार्पmत नागरिकमा चेतना जागृत गर्ने कार्य गरेका थिए ।

भारतमा नेताजी सुभाषचन्द्र बोसले अंग्रेजको दसत्वबाट भारत आजाद गर्न सन् १९३९ मा फर्वाड ब्लकको स्थापना गरे । आजाद हिन्द फौजको संस्थापक राजविहारी बोसले जर्मनमा युद्ध अभ्यास गरिरहेका सुभाषचन्द्र बोसलाई जापानमा बोलाएर फौजको कमान्ड सुम्पेका थिए । त्यसपछि नेता सुभाषले आजाद हिन्द फौजको सर्वाेच्च सेनापतिको हैसियतमा स्वतन्त्र भारत सरकारको स्थापना गरे । जर्मन, जापान, इटलीलगायत विश्वका नौ देशहरुले स्थापित सरकारलाई मान्यता दिएका थिए ।

अर्कोतिर अहिंसावादी नेता महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन चर्किरहेको थियो । त्यसैताका सरकारी छपाइको काममा भारत पुगेका शास्त्रीले नेपालमा नागरिक अधिकार सुनिश्चित गर्न गान्धी, नेहरुलगायतका नेताहरुसँग आवश्यक सहयोग माग गरेका थिए । भारतीय नेताहरुले भारत स्वयम् स्वतन्त्रता संग्राममा होमिरहेको अवस्थामा अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नसकिने भएकाले आफ्नै देशको शासकसँग कुरा मिलाउन सल्लाह दिए । त्यहाँबाट निरास भएर नेपाल फर्केका शास्त्रीले पुनः जनचेतना जागृत गर्ने कामलाई तीव्रता दिन थाले । उनको त्यस्तो क्रियाकलाप राणाका जासुसहरुबाट धेरै दिन लुक्न सकेन । शासकसम्म कुरा पुग्यो, पक्राउ भयो, बन्दी बनाइयो ।

मृत्युदण्ड पाएका शास्त्रीले वाग्मतीको शीतल जलमा स्नान गरे । चोखो लुगा फेरेर गीताको श्लोक वाचन गर्दै राणाका अधिकारीहरुसँग फाँसीको फन्दातर्फ लागे । निर्धारित स्थानमा पुगेर स्वयम् आफ्नै फाँसीको फन्दा घाँटीमा फसाए र नेपालमा मानवअधिकारको स्थापना तथा राजनीतिक परिवर्तनको लागि आफ्नो ज्यानको आहुति दिए ।

शास्त्रीलाई राणाको कालो कानुनले फाँसी दिएकोमा काठमाडौंका बासिन्दालाई राणाविरुद्ध तरंगित तुल्यायो । केन्द्रीय कारागारमा बन्दी अवस्थामा रहेका टंकप्रसाद, धर्मभक्त, दशरथचन्द, गंगालाल, गणेशमानलगायत अन्यमा पनि शास्त्रीलाई फाँसी दिएको खबर पुग्यो । दुःखद खबरले आक्रोशित उनीहरुले राणाहरुबाट आउने जस्तोसुकै प्रलोभन स्वीकार नगर्ने, बिराएँ नभन्ने, माफी नमाग्ने प्रण गरे ।

उनै शास्त्रीको पूर्णकदको शालिक ललितपुरको पुल्चोकमा समेत रहेको छ । उक्त शालिकले यता सर्वोच्च अदालतको न्यायिक हरिबिजोक र कालो कोटधारीहरुको घम्साघम्सी हेर्दै उतिखेर राणाहरुले क्रुर शासन चलाएको सिंहदरबारमा भुइँफुट्टे छोटा नवराणाहरुले दलको नाममा प्रवेश गरी ताण्डव मच्चाइरहेको इतिवृत्तान्त हेरेर लेखाजोखा गरिरहेको छ । यस्ता अमर शहीदहरुप्रति श्रद्धा–सुमन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]