kchhakhabar.com

गृहपृष्ठ राष्ट्रिय खबर राजा फेर्न सक्ने जनताले लज्जाहीन नेता फेर्न सकेनन्

राजा फेर्न सक्ने जनताले लज्जाहीन नेता फेर्न सकेनन्

इटहरी, error गते

राजन कार्की ।
पञ्चायत र बहुदल अफाप भयो भनेर बनाएको गणतन्त्र नयाँ कृति हो। हलो मासेर फाली बनाएको होइन, जनताले गरेको नौलो सिर्जना हो। त्यो कृतिमा राजनीतिक सजिवता, नेतृत्व क्षमताको कलात्मकता, राजनेतृत्वको जिवन्तता भर्ने काम नेताहरुको काँधमा थियो। नेताहरुले गणतन्त्रजस्तो सुन्दर कृतिमा विकृति र बिसंगतिका कालो पोते, बिगारे। आफू कलंकित बने, आफू हाँसेर जनतालाई रुवाए। नेपालको इतिहासको यो कालखण्ड जति जाज्वल्यमान हुनुपर्थ्यो, राजनीतिक पौरख बन्नुपर्थ्यो, अन्धकार भएर अंकित हुनपुग्यो। अभिषाप अनुभव गर्न थालेका छन् जनताले। राजा वीरेन्द्र बंशको बिनासलीला, जेलनेलको सजाय पाउनुपर्नेको राजनीतिक रासलीलाको मन्थन गरेर निष्कर्ष खोज्ने हो भने भन्नैपर्छ– नेपाल सतिको सरापबाट अझै मुक्त भएको रहेनछ।

२०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएका दिन अन्धाले आँखा, कानाले कान, भोकाले भोजन, अन्यायमा परेकाले न्याय पाएसरह युवाहरुले खुशीयालीको जुलुसै निकालेका थिए। सबैको मुखमुहार हँसिलो थियो, सबैले अव नयाँ नेपाल सुरु भयो भनेका थिए। देशभरि हर्ष बढाईं भएको थियो। त्यस्तो खुशी, हर्ष बढाईं आज किन छैन? कसले लुट्यो, कसले चोर्‍यो? यसको जिम्मेवार को हो? सवालको जवाफ खोज्ने सामान्य नागरिकले पनि दोष र दोषी पार्टी र नेताहरुलाई दिन्छन्। लोकतन्त्रका लोकनेताहरुले लोकलाई हेर्दै हेरेनन्, स्वार्थन्धता छाड्दै छाडेनन्। ५० लाख युवा भाग्य खोज्दै खाडीको गर्मीदेखि लण्डनको ठण्डी छामछाम छुमछुम गरिरहेका छन्। पहिले बम्बै लगेर बेचिने युवतीहरु यतिखेर साउदीदेखि इजरायलसम्म, श्रीलंकादेखि अमेरिकासम्म पुर्‍याइन्छन् र नेपाली चेलीको जुन बेहाल हिजो थियो, आज पनि उही छ । सर्वहाराले सम्पत्ति पाउँछन्, जहाँ छोयो उसैको हुन्छ भन्ने सपनाको लहै लहैमा लागेर बन्दुक उठाउने चेला चेलीहरु नेतानिकटका दुई प्रतिशतको जीवन सुखमय होला, बाँकी कोही देशमै सडिरहेका छन्, कोही विदेशमा मरिरहेका छन्। जनयुद्धका कमाण्डर प्रधानमन्त्री छन्, उनी न देशका प्रधानमन्त्री बन्नसके, न लडाकाका। उनले आफ्नो सचिव, सल्लाहकार, मन्त्रीसम्म निकटलाई नियुक्ती गरे। पहिले पनि यस्तै गरे, अहिले पनि उस्तै गरे ।

पञ्चायतमा श्रीपेचधारी एउटा राजा थिए, बहुदलमा कांग्रेसको राज चल्यो, लोकतन्त्र आएपछि कम्युनिष्ट नामधारी नेताहरुको। पार्टी राजाहरु कति कति? आमनागरिकको पालो आउने कहिले? हिजो र आजमा फरक के पर्‍यो ?

मुलुकमा १ सय २६ जाति बसोबास गर्छन्। ३ करोड (२८.५ मिलियन) जनसंख्या मध्ये ६० लाख विदेशिएका छन् भने २ करोड १५ लाख जनताका लागि निर्वाचन आयोगमा १ सय ७० दल दर्ता भइसके। ६ सय १ सांसद छन्, ५४ हजार बर्गमाइललाई ७ प्रदेश बनाउने भनिएको छ। २०४६ सालपछिको २७ वर्षमा २३ सरकार बनेछन्। अनि कसरी स्थिरता, विकास र शान्ति भेटिन्छ? ०४६ सालअघि पञ्चायतले लुट्यो, निरंकूशता चलायो भन्ने आरोप, ०४६ सालपछि कूशासन, भ्रष्टाचार र भागबण्डा गर्दै लुट्दै गर्ने निरन्तरता। लोकतन्त्रको ९ वर्ष त लखनौं लूट नै चलिरहेको छ।

हड्तालले राजनीतिक धरातल फेरियो, नैतिकता र निष्ठा पाताल भासियो। पद्धति फेरियो, स्वार्थीपन फेरिएन। राजा फालियो, नयाँ महाराजा बनेकाहरुको ढुंगे मन फेर्न सकिएन। राजनीतिले जनताको आँखाबाट इमान र विश्वास गुमायो, शासन प्रशासन उही, शासक प्रशासक उस्तै खाइदेउ मात्रै। अराजकता नेपालको विशेषता बन्न पुगेको छ। एउटा विद्युत प्राधिकरणमा ५ ठूला पार्टीका ५ कर्मचारी संगठन, एउटा कृषि विकास वैंकमा ९ पार्टीका ९ कर्मचारी संगठन। सबै संघसंस्थाहरुको हालत यही छ। अगाडि खोलो, पछाडि भड्खालो भनेको यही हो।

पहिले वीपी थिए, त्यसपछि मदन भण्डारी र मनमोहन अधिकारीजस्ता नेता देखिए। यिनको अवसानपछि झिंझाका समूहजस्ता नेता छन्, नेताका गुट छन्, गुटवाजीले लुटवाजी चलाइरहेका छन्। यी सबै परिदृश्य देखेर मोहनचन्द्र अधिकारी, मोहनविक्रम सिंहजस्ता कम्युनिष्टहरु र कांग्रेसका पुराना नेताहरु वाक्क भएर रुद्राक्षको माला जप्न थालेको देखिन्छ। उहिलेका कुरा खुइलिए, तिनका कुरा कसले सुन्ने? नयाँ मूल्ला जन्मेका छन्, प्याज धेरै खाइरहेका छन्। नेपालमा भ्रष्टाचारी जेल नपर्नुको मूलकारण अदालतले समेत खुट्याउन नसक्नु हो। अझ वर्तमान नेताहरुलाई त हाजमोला बढी मन पर्छ। जे खायो पचायो। लाइफब्वाय सावुन र निरमा डिटरजेन्ट मनपर्छ, जति भ्रष्टाचार गरे पनि धोएपछि नैनसुतजस्तो सेतो, सफा।

पारी खुशी भएपछि वारि जे गरे पनि हुनेरहेछ। यो राजनीति हो कि अनीति?
यद्यपि अनीति वा राजनीति भागबण्डा, सेटिङ, सिण्डिकेट तरिकाले चलिरहेको छ। छैन, सौहाद्रता, सहनशीलता, सहृदयता, हार्दिकता भन्ने कुनै गुण कुनै पार्टी वा नेतामा छैन। अन्तरपार्टी र पार्टीपार्टीवीचको मतमतान्तर सदाबहार कायम छ । सत्ता गयो कि आरोप प्रत्यारोप सुरु भयो। सत्ता आयो कि जयजयकार गायो। पहिले गिरिजा र कृष्णप्रसादवीच थियो, पछि झलनाथ र माधव नेपालमा सर्‍यो, त्यसपछि ओलीलाई मगज खुस्केको भन्ने प्रचण्डले नै बोके, तिनै पचण्डले अविश्वासको छिर्की लगाएर पाहा पछारेजसरी पछारेपछि ओलीले प्रचण्डलाई रिमोटबाट चल्ने मेसिन भनिदिएका छन्। वाकवाण हानाहान र खुट्टा तानातान ०४६ सालपछिको बहुदल र ०६५ सालपछिको लोकतन्त्रको सुन्दरपक्ष मान्छन् ।

लोकतन्त्रका लायक, गायक र नायकहरु। यो सुन्दरताले देश मुहार फेर्ने होइन, गुहार गर्ने असफलताको मोडमा पुग्न लागेको छ।
चुनावका बेलामा छरिने घोषणापत्र, फुकिने माइकको आवाज साह्रै मीठो, साह्रै चित्ताकर्षक लाग्छन्। चुनाव सकियो, माइक बन्द हुन्छ, घोषणापत्र, नीति पनि पार्टी कार्यालयको कोठामा ताल्चा लगाएर राखिन्छ। राजा फेर्न सक्ने जनताले लोकलज्जाहीन नेताहरु फेर्न सकेनन्। यसकारण लुटाह संस्कार जारी छ, लुटाहहरुको कूनियत कायमै छ। एउटा सामन्तको स्थानमा सयौं महासामन्त जन्माइयो, निरंकूशता फालियो, मानवताविरोधीहरुको जगजगी ल्याइयो। जनताले आफ्नो खुट्टामा आफैले बन्चरो हानेजस्तो भयो कि भएन ?

सबैलाई थाहा छ, जनसम्पर्क हुने र विकास योजनाका कामहरुमा भ्रष्टाचार बढी हुन्छ। बाँडेर खाने लत बसाल्ने हामी हौं, सर्वदलीयताका नाममा ड्रगिस्ट बनिसके नेता र पार्टीका कार्यकर्ताहरु। काम नगरी खाने बानी लागेपछि कसले पसिना बगाउँछ? सुशासनको चिन्ता भर्सेलै परोस्, आफ्नो आसनको चिन्ता सबैलाई छ। एमालेका पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले चीनको राजदूत नपाए ज्यान फाल्छु भनेपछि तत्कालीन प्रधानमन्त्री ओलीले उनको सिफारिस गरिदिए। सरकार फेरियो, प्रचण्ड सरकारले राजनीतिक व्यक्तिहरुको सिफारिस फिर्ता लियो, महेन्द्रबहादुर पाण्डेले ज्यान फालेको समाचार आएन त? प्रचण्ड प्रधानमन्त्री बनेपछि आफूलाई मन्त्री नबनाए आत्महत्या गर्छु भन्ने व्यक्ति पनि देखापारे। प्रचण्डले उनलाई मन्त्री बनाएका छैनन्, उनले आत्महत्या गरेको खबर पनि आइसकेको छैन। घुर्क्याएर सत्तामा जाने र राम्रा भन्दा आफ्ना मान्छे खोज्ने प्रवृत्तिले राज्यसंयन्त्र कमाउधन्दा बन्नपुगेको छ। धन्दा गर्नेले धन्दा गर्छ, जोसुकै मरे मरिरहुन, देश र जनताको चिन्ता गर्दै गर्दैन। अर्थात् राजनीतिक दलहरु राष्ट्रको आवश्यकता, व्यक्तिहरुमा क्षमता, दक्षता हेर्नै चाहदैनन्। लोकतन्त्रजस्तो कृतिमा यस्तो जघन्य विकृति र बिसंगति। रुखमा ऐंजेरु लागे रुख सुक्छ। घरको ढोकाअगाडि सिस्नोको बोट उमि्रन दिइन्न। धोत्रो पसेको रुख जुनसुकै बेला ढल्न सक्छ। हाम्रा नेताहरु यी सबै दुर्गुणलाई बोकेर लोकतन्त्र हाँकिरहेका छन्। विधि नमान्नेले लोकतन्त्र चलाउनु र खलासीले गाडी हाँक्नु उस्तै हो। हालैका दिनमा जघन्य दुर्घटनाहरु भइरहेका छन्। अझै पनि नचेत्ने?

नेताहरु अनीतिको दलदलमा फस्दै गएका छन्, यस्तो अतिले खति निम्त्याइरहेको छ। यात्रुवाहक पानीजहाज समुद्रको वीचभागमा पुगेपछि प्वाल पर्‍यो भने जे बिपत्तिको भय हुन्छ, हाम्रो राजनीतिमा त्यस्तै बिपत्तिको आहट सुनिन थालेको छ।

पहिले पञ्चहरुको रजाईँ थियो, अहिले दलहरुको कजाईँको करामत हो यो। भेजामा भिजन छ भने अव नेतृत्वदायीहरु सम्हालिनुपर्छ। लोकतान्त्रिक कृतिमा फैलिएको विकृति र बिसंगतिको महामारी हटाउन, लोकतन्त्रलाई स्वस्थ पार्न, जनताले हस्तक्षेप गर्नैपर्ने समय आयो है। हावाले सल्लाघारी सुसाएझैं विकृति र विसंगतिले अर्को जनक्रान्तिको सुनामी सुसाउन थालिसक्यो।

चेतना भया।
– न्यूज अभियानबाट ।

यस खबरमा तपाईंको प्रतिकृया