काठमाडौँ । कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप शाह ठकुरी दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट खेलको अभ्यासका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा पुग्छन् ।

 “मेरो दाइले सानामा स्केट खेल खेलेको देखेपछि म पनि यस खेलमा आकर्षित भएको हो, सुरुमा घरमा बा र आमाले गाली गर्नुहुन्थ्यो, मेलै बिस्तारै पुरस्कार जितेर राम्रो गर्न थालेपछि अहिले त बुझ्नुहुन्छ” –सन्दीपले भने ।

सन्दीपले भारत तथा नेपालमा भएका विभिन्न स्केट प्रतियोगितामा भाग लिएर पुरस्कारसमेत प्राप्त गर्दै आएका छन् । त्यसैगरी ग्लासियर कलेजमा कक्षा ११ मा अध्ययनरत् गजेन्द्र बर्देवाको पनि स्केटमा रुची भएकै कारण दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा समय दिन्छन् ।

सन्दीप र गजेन्द्र मात्रै होइन, पछिल्लो समयमा स्कूल र क्याम्पस पढ्ने अधिकांश विद्यार्थी तथा युवाहरुको रुचीको खेल स्केट बन्दै गएको छ । विश्वमा खेलिने फुटबल र क्रिकेटलगायतका खेलहरुमा जस्तै स्केट खेलमा पनि नेपालका युवाहरुको पछिल्लो पटक आकर्षण बढ्दै गएको हो ।

खासगरी अमेरिका, अस्टे«लियालगायत युरोपियन देशहरुमा साहसिक खेलको रुपमा खेलिने स्केट खेलप्रति नेपालका युवाहरु पनि सक्रिय बन्दै गएका छन् । केही वर्षअघिसम्म नेपालमा स्केट खेलबारे नकारात्मक धारणा आए पनि पछिल्लो समयमा सकारात्मक धारणासहित खेलप्रति नयाँ पुस्ताले सक्रियता देखाएको परिवर्तनका लागि युवा नामक संस्थाका अध्यक्ष जागृत पहाडीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया