काठमाडौँ — दुइटा गीत र एउटा टिजरमार्फत दर्शकसम्म पुगेको ‘शत्रु गते’ फिल्मको शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रचारको अन्तिम अस्त्र भन्दै निर्देशक प्रदीप भट्टराईले यसबाटै फिल्मको स्पिड थाहा हुने बताए । ‘यसअघि हलमा जाने दर्शकलाई लक्ष्य गरेर टिजर निकालेका थियौं,’ उनले भने, ‘ट्रेलरआमदर्शकका लागि हो । यसबाट फिल्म के–कस्तो छ, त्यसको स्पिड बुझ्न सकिन्छ ।’

कुपन्डोलस्थित ब्रिक्स क्याफेमा आयोजित कार्यक्रममा हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, पल शाहलगायत उपस्थित थिए । फिल्ममा उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, वसुन्धरा भुसाल, राजाराम पौडेल लगायतको अभिनय छ । हास्य कलाकारको बाहुल्य रहे पनि ट्ेरलरमा रोनाधोना बढी देखिएको भन्ने जिज्ञासामा निर्देशक भट्टराईले भने, ‘सेन्टिमेन्टल पार्ट पनि छ । सिचुएसनल कमेडी भएको हास्यप्रधान फिल्म हो ।’
ठूला कलाकारसँग काम गर्दा छायामा पर्नुको सट्टा आफ्नो पात्रमार्फत नै ठाउँ बनाउन सकिने अभिनेत्री आँचलले बताइन् । पलले पनि छायामा पर्ने/नपर्नेबारे फिल्म साइन गर्दा नै सोचविचार गरेको भन्दै नौलो भूमिकामा मज्जा आएको अनुभव सुनाए । ‘बेहुला बन्न पाएको थिएँ’, उनले भने, ‘आनन्द आउँदो रहेछ ।’
महकै ‘१५ गते’ फिल्मको दृश्यसँग मिल्दोजुल्दो दृश्य ‘शत्रु गते’ मा देख्न सकिन्छ । यसबारे पनि कार्यक्रममा जिज्ञासा राखिएको थियो । कलाकार एवं मह सञ्चारका किरण केसीले यसलाई कथाको माग भन्न रुचाए । ‘अरूको फिल्मबाट लिइएको होइन,’ उनले भने, ‘त्यो दृश्यले गर्दा पहिले एक जनाको मृत्यु नै भयो । उहाँ हाँस्दैहाँस्दै बित्नुभएछ । दु:ख पनि लाग्छ ।’

तपाईको प्रतिक्रिया