काठमाडौं/ मान्छे जिउन जन्मन्छ वा मर्न ? अपवाद बाहेक मान्छे अनुत्तरित बन्छ। उसो त मान्छेको जिन्दगी दुई प्रवृत्तिबाट गुज्रिएको हुन्छ- जीवनमुखी र मृत्युमुखी प्रवृत्ति। हामीलाई बाँच्ने प्रेरणा सानासाना खुसीले दिन्छ तर कहिलेकाहीँ अवसादबाट गुज्रिँदा मान्छेले मृत्युको बाटो रोज्छ। पूर्वीय सभ्यतामा मान्छे जन्मनु, विवाह हुनु, अनेक पारिवारिक कार्जे गर्नुलाई उत्सवको रूपमा लिइन्छ। जब मृत्यु भन्ने शब्द आउँछ तब वहँदा वहँदैको हावा रोकिन्छ, गतिमा बगेको नदीले लय बिगार्छ। हाँस्दाहाँस्दैको ओठले आफ्नो धर्म बिर्सिन्छ र मान्छेको अनुहारमा एक किसिमको त्रास पैदा हुन्छ। मान्छेले जन्मनुलाई संयोग मान्छ तर मर्ने निश्चित ठान्छ।

निश्चित हुने कुरासँग मान्छे यतिबिघ्न आखिर किन डराउँछ ? साधारण मान्छेको हकमा मृत्युका कुरा मनमा खेलायो भने ऊ आत्तिन्छ। कथाकारले सोच्यो भने कथा लेख्ला तर एउटा गीतकारले मृत्युबारे सोच्न थाल्यो भने गीत जन्मन्छ यसरी : मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागरे जाऊँ, कुन ठाउँ जाऊँ मान्छे नमर्ने शहर हुँदैन। यो गीत सायदै नेपालीले नसुनेका होलान्। वृद्धदेखि बच्चासम्म हरेकले गुनगुनाउने यो गीत गाउने मान्छे चिन्छन् तर लेख्ने व्यक्ति को हुन् ? उनीहरूमध्ये धेरै अनभिज्ञ छन्। यो गीत लेख्ने व्यक्ति हुन्, प्रा.डा। कृष्णहरि बराल। यसरी लेखियो यो गीत यो गीत लेख्नुअघि उनको जिन्दगीमा नसोचेको  घटना घट्यो, जसका कारण यो गीत लेखे उनले। डा बराल आफ्नो अतीत सम्झन्छन् र अत्तालिन्छन्। छेउमा रहेको पानी पिउँदै बरालले उक्त कहालीलाग्दो घटना सम्झिए, ‘’त्यो सन् २०११ हो कि १२ को २ जनवरीको साँझ थियो। पारिवारिक कामले अमेरिका पुगेको बेला पेन्सिलभानियामा हामी चढेको कार दुर्घटनाग्रस्त भयो। म घाइते हुन पुगे। गाडीमा सवार परिवारका चारै जना सदस्यलाई एम्बुलेन्सद्वारा तत्काल सटेट पार्कस्थित माउन्ट निट्टी मेडिकल सेन्टरमा पुर्‍याइयो। अरू सदस्य सामान्य घाइते भए पनि मेरा रक्त नसाहरू फुटेको र पेटभित्र रगत बगिरहेको पाइएकाले तत्काल अप्रेसन गर्नुपर्‍यो।

अप्रेसनपश्चात छ महिना आराम गरेँ”, उनले थपे, ‘एक दिन जेठी छोरीले भनिन्- बुबा एउटा मृत्युसम्बन्धी गीत लेखिदिनु, मृत्युबारे हजुरले लेखेको गीत सुन्न मन छ।‘ मृत्यु शब्द सुन्नेबित्तिकै उनी झस्किए। ‘प्रेमका, समाजका र राष्ट्रियताका गीतहरू कहिले फिल्मका लागि कहिले गायक र गायिकाका लागि त कहिले आफ्नै लागि लेख्ने मैले आफ्नै छोरीका लागि मृत्युको बारेमा गीत लेख्न सकिनँ’, उनी भन्छन्, ‘अरूका लागि वरिष्ठ गीतकारको पगरी गुथे पनि मेरी छोरीको नजरमा युद्धमा हारेको सिपाही जस्तो बनेँ।’ कयौँ दिन छोरीको अनुरोध अनुसारको गीत लेख्न नसक्दा दिनको भोक हरायो, रातको निद्रा हरायो उनको। एक दिन बाटोमा हिँड्दै गर्दा आफूले बाँच्न गरेको दौडधुप र मिहिनेत सम्झिए उनले। ‘यति धेरै दौडधुप केका लागि ? आखिर एक दिन मर्नु नै छ। मर्नु नै छ भने पनि मान्छे काम गर्न छोड्दैन्, लोभ गर्न छोड्दैन्, उनले भने यसकारण दिमागमा गीत फुर्‍यो। यति भन्दा उनको अनुहारमा सन्तुष्टिको भाव छचल्कियो। यो गीतमा संगीत भर्ने काम गैरे सुरेशले गरे। संगीतले गीतलाई न्याय गरेको उनलाई महसुस भयो।

त्यसै बखत निर्देशक विकास आचार्य बराललाई भेट्न उनको निवास आए। आचार्यले ‘नाइँ नभन्नु ल २’ फिल्म निर्माण गर्न लागेकाले एउटा मृत्युसम्बन्धी गीत चाहिएको बताए। बरालले तत्काल यो गीत देखाए। आचार्यले त्यो गीत मनपराए र गीत बाल गायक प्रेम परियारले गाउने भए। उक्त गीत ‘नाइँ नभन्नु ल २’मा समावेश हुने भयो। गीत त बजारमा आउने पक्का भयो तर अलिक दार्शनिक खालको छ, छोरीले अनि आचार्यले मनपराए पनि बजारले मनपराउँछ कि पराउँदैन भन्ने अर्को तनावले घेर्‍यो उनलाई। कहिलेकाहीँ ‘मनको बाघले खाइसक्दा पनि वनको बाघले नमस्कार गरेर हिँड्छ’ भनेझैँ बरालको हकमा पनि यही कुरा लागू भयो। फिल्म सार्वजनिक भएसँगै यो गीत यति धेरै हिट भयो कि त्यो वर्षका अधिकांश अवार्ड बरालको हातमा परे। यही गीतका कारण २०७१ साल बरालको अवार्ड नै अवार्डको वर्ष भयो। संयोगले प्राध्यापन पेसा सिन्धुलीमा जन्मेका बरालले प्राथमिक शिक्षा आफ्नै गाउँमा पूरा गरे।

७ कक्षा पनि त्यही विद्यालयमै पढेर ८ कक्षा पढ्न बराल जनकपुरको सरस्वती माध्यामिक विद्यालयमा पुगे। कृषि विषय लिएर एसएलसी पास गरे। कृषि पढ्नका लागि पाकिस्तान जान अवसर जुरेको बताउँदै बरालले नागरिकता नभएकाले आईए नेपाली र साइकोलोजी पढेर कटाएको सुनाए। नेपाली एेच्छिक विषय लिएर बीए पनि पास गरे। उनी भन्छन, ‘यदि त्यो बेला मसँग नागरिकता भएको भए जिन्दगीले अर्कै मोड लिन्थ्यो होला। धन्न नागरिकता नभएर पो !‘ उनी लामो हाँसो हाँसे। मध्यमवर्गीय परिवार भएकाले खान र लाउनको खासै अभाव भएन उनलाई। तर हरेक साधारण नेपाली अभिभावकले सोच्छन्, आफ्नो छोरोले पैसा कमाएर आफू र परिवार पालिदेओस्। यस कुराबाट उनको परिवार पनि कसरी अपवाद हुन सक्थ्यो र ? यही कारण उनले बीए सकेपछि कृषि विकास बैंकको अधिकृत पदका लागि आवेदन दिए। परीक्षा दिन २०३३ सालमा पहिलोपल्ट उनी काठमाडौं आए तर परीक्षामा फेल भए।

काठमाडौं बसाइको सातौँ दिन उनी आफ्ना मामा बुद्धि दाहाललाई भेट्न शिक्षा मन्त्रालय गए। मामालाई काठमाडौं आउनुको कारण बताए। मामाले भनेछन्, ‘बीए पढेको मान्छेले पढाउन थाल्नुस्। म जिल्ला शिक्षा अधिकारीलाई फोन गरिदिन्छु।‘ केही दिनमा नै नियुक्तिपत्र बोकेर उनी कीर्तिपुरस्थित कीर्तिपुर माध्यमिक विद्यालयमा पढाउन थाले। ताहाचलको महेन्द्र रत्न क्याम्पसबाट डिग्री सकेपछि २०५० सालमा त्रिभुवन विश्वविधालयमा प्राध्यापकको रूपमा अर्को प्राज्ञिक काम सुरु भयो उनको। अघिल्लो वर्ष मात्र अवकास लिएका बराल भन्छन्, ‘अचेल गीत लेखन र समालोचनाका किताब लेखनमा व्यस्त छु।’  लेखन यात्रा छ वर्षको हुँदा आमाको मृत्युपश्चात हजुरबुबासँग सुत्थे उनी। भन्छन्, ‘हजुरबुबा गीताका श्लोकहरू घोक्नुहुन्थ्यो। बुबा कविता लेख्नुहुन्थ्यो। यसकै प्रभावले मेरो लेखन यात्रा सुरु भयो।’ २०२७ सालमा ‘कर्मयुग’ पत्रिकामा उनको पहिलोपल्ट कविता ‘विपरीत व्यथाहरू’ छापिएको थियो। उनले त्यो दिन सम्झँदै भने, ‘०३१ सालमा कलेजमा कार्यक्रम थियो। कार्यक्रममा मैले आफ्नै गीत गाएको थिएँ। त्यो बेलामा गोरखापत्रका लागि जनकपुर हेर्ने लीलासिंह कर्मा त्यहाँ आएका रहेछन्। उनले कार्यक्रम सकेपछि गोरखापत्रमा गीत छाप्छु भन्दै केही गीत दिन आग्रह गरे। मैले नाइँनास्ती गरिनँ।‘ केही हास्यव्यंग्य कविता बोकेर दुर्गानाथ शर्मालाई भेट्न ०३३ सालमा गोरखापत्रमा कार्यालय पुगे उनी। शर्माको रेडियोमा बोल्ने कलाको फ्यान थिए बराल। शर्माले केही कविता छापिदिए। जनकपुर हुँदै रेडियो नेपालको प्रश्न उत्तर कार्यक्रम सुन्थे उनी। कहिलेकाहीँ गीत फर्माइस पनि गर्थे। त्यही साल पाण्डव सुनुवारले रेडियो नेपाल घुमाइदिए। त्यसबेला रेडियो नेपालले स्वीकृत गरेपछि मात्र गीत बज्थे।

उनी भन्छन, ‘रेडियो नेपालमा एउटा बट्टा हुन्थ्यो, त्यसमा गीत खसालेपछि हेरेर राम्रो भए स्वीकृत हुने चलन हुन्थ्यो, मैले एकै पटक दशवटा गीत खसालेँ, जसमा छवटा गीत छानिए।‘ त्यसमा एउटा गीत थियो, ‘म भक्त हुँ यो देशको’ पाण्डव सुनुवार र सुरेश श्रेष्ठको स्वर अनि गोकुल राईको संगीतमा उनको पहिलो गीत रेकर्ड भयो। ०३६ सालमा रानी चाँदनी शाहले आफ्नो जन्मदिनमा यो गीत ‘फर्माइस’ गरिदिइन्। त्यसपछि उनी रातारात हिट भए। उनी भन्छन्, ‘त्यसपछि मैले कयौँ गायक र स‌ंगीतकारको संगत गरेँ।’ उनका ‘के भूल भयो प्रिया, मसँग बोल्दिनौ’, ‘यी हल्लाहरू हुन्’, ‘रिसाइदेऊ न बिन्ती’, ‘यहाँ देशको छ चिन्ता’ आदि हिट गीतरगजल हुन्। उनका ‘गीत सिद्दान्त र इतिहास’, ‘गजल सिद्दान्त र परम्परा’, ‘एक फूल अनेक पत्र’, ‘कृष्णहरि बरालका गीतहरू’ लगायत ५० भन्दा धेरै पुस्तक प्रकाशित छन्। कुमारी क्लवबाट केही मिनेट पैदल हिँडेपछि उनको घर आइपुग्छ। कोठा सम्मानपत्र र अवार्डले भरिएका छन्। ‘०७२को भूकम्पमा कयौँ अवार्डहरू खसेर काम नलाग्ने भएका छन्। तीचाहिँ पल्लो कोठामा छन्‘, उनले त्यहाँ रहेका अवार्ड देखाउँदै भने। दराज र टेबलमा नेपाली साहित्य र समालोचना किताब शान्त रूपमा आफ्नो स्थानमा बसेका छन्। ‘कुन दिन फेरि भूकम्प आउँछ अनि यी सम्मानपत्र र अवार्डले थिचिएर घाइते हुन्छु‘, उनले ठट्टा गरे अनि आफ्नो निधारबाट केही समयका लागि चाउरी लुकाउन सफल भए। नेपाली गीतलेखनमा कसैसँग प्रतिस्पर्धा नभएको र आफ्नो प्रतिस्पर्धी आफैँ रहेको बराल बताउँछन्। ‘यहाँ देशको छ चिन्ता गीत आएपछि कतिले मलाई अब बरालले योभन्दा राम्रो गीत लेख्न सक्दैन भन्थे। जसले जे तर्क गरे पनि म हिम्मत हार्ने मान्छे होइन‘, उनी भन्छन्, ‘यसकारण आफ्नो प्रतिष्ठाका लागि पनि मैले हरेक गीतमा मिहिनेत गर्नुपर्छ।

अन्तिम सास रहेसम्म म मेरा श्रोतालाई दुखी बनाउँदिनँ।” जब ‘मर्ने कसैलाई रहर हुँदैन’ बजारमा आयो, त्यसपछि साथीहरूले फेरि यही तर्क राखे रे- बरालले योभन्दा राम्रो गीत लेख्न सक्दैन। उनले यसो भनिरहँदा फेरि एकमेलो हासेँ। रचना भन्ने चिज सधैँ सुन्दर मात्र रचिन्छ भन्ने कुरा गलत रहेको उनको बुझाइ छ। निधारले आफ्नो क्षेत्रफल बढाउँदै गएको छ। छालाले आफ्नो स्वरूप बदलेको छ। कपालमा सेताम्मे हुने क्रम जारी छ र पनि लेखनमा बुढ्यौली लागेको छैन डा. बरालको। पछिल्लो क्रममा उनलाई प्रेमका बजारू गीत मात्र लेखेको आरोप छ। उनले आफ्नो बचाउ गर्दै भने, ‘प्रेम कसरी बजारु हुन्छ ? संसारमा सबैभन्दा धेरै प्रेमका गीत लेखिन्छन्। संसारमा प्रेम मात्र यस्तो चिज हो, जुन सबैमा मेल खान्छ तर भूगोल मेल खाँदैन, संस्कृति मेल खाँदैन। उनी भन्छन्, ‘दुनियाँका जुनसुकै माया गर्ने मान्छेको धड्किने मुटु एउटै हो।’ प्रेमलाई फरक शैली र शिल्पले लेख्दा बजारु गीत भन्ने आरोप बडो हास्यास्पद रहेको उनको तर्क छ। हाम्रो समाजमा त्यस्ता केही मान्छे पनि छन्, जो सधैँ नराम्रो कुरालाई बाहिर ल्याउन खोज्छन् तर राम्रा चिजलाई राम्रो भन्न सक्दैनन्। त्यस्ता खाले केही व्यक्ति कला क्षेत्रमा पनि रहेकाले बदनाम गर्ने कार्य जारी रहेको भन्दै उनले दुस्ख व्यक्त गरे। सबैलाई जवाफ दिन असमर्थ रहेकाले उनले अर्को गीत लेखेर जवाफ दिए।

‘हेर्ने हजार आँखाहरू यहाँ, सुन्ने हजार कान यो दुनियाँ आफ्नो दिन कटाउँछ, जोडेर हाम्रो नाम’ उनले माथिको स्थायी सुनाउँदै भने, ‘भन्नेले यसलाई पनि प्रेमकै गीत नै भन्छन् तर गीतले के कुरालाई प्रतिविम्बित गरेको भन्ने बुझ्दैनन्।’ कुरा काट्दै हिँड्ने ती तमाम मान्छेको नाममा उनको यो गीत लेखेका हुन् तर बुझ्नेले कसरी बुझ्छन्, त्यो गीत सुन्ने मान्छेको बुझाइमा भर पर्ने उनको भनाइ छ।

थाहाखबर

तपाईको प्रतिक्रिया