काठमाडौँ / महिनादिन अघि मात्रै रिलिज फिल्म ‘कृ’ मा प्रयोग गरिएको गीत ‘उकालीमा पछि पछि…’ चोरी गरेको आरापेमा निर्मातामध्येका एक सुवास गिरीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसरका एसएसपी विश्व पोखरेलले पक्राउबारे पुष्टि गरेका हुन् ।

निर्देशक शम्भू प्रधानले आफ्नो फिल्म ‘सम्झना’ मा रहेको गीतसँग हुबहु ट्युन मिल्ने गरी बनाइएको गीतलाई ‘कृ’ फिल्ममा अनधिकृत प्रयोग गरिएको भन्दै उजुरी गरेका थिए । प्रधानले फिल्मका निर्माताद्वय सुवास गिरी र भुवन केसीलाई विपक्षी बनाई चोरी गरिएको गीत हटाउन र फिल्मले गरेको व्यापारको आधा हिस्सा माग दाबी गर्दै उजुरी दिएका थिए । प्रहरीले भने चलचित्र विकास बोर्डले उपलब्ध गराएको फिल्म ‘कृ’ को निर्माताका आधारमा गिरीलाई मात्रै पक्राउ गरेको हो ।

‘प्रहरीमा उजुरी हाल्नुअघि नै मैले उहाँहरुलाई छलफलका लागि बोलाएको थिएँ । नआएपछि उजुरी हालें’ निर्देशक प्रधानले कान्तिपुरसँग भने, ‘प्रहरीले पनि मिलाउन खोज्यो । मैले फिल्मबाट गीत हटाएपछि मात्रै कुरा गर्छु भनें । उहाँहरु गीत हटाउनुको सट्टा फाल्टु गफ गरेर भुलाउन खोज्नुभयो ।’ प्रधानका अनुसार छलफलकै क्रममा प्रहरीलाई समेत खबर नगरी ‘कृ’ प्रदर्शनका लागि निर्माता जापान गएका थिए । ‘फर्किएलगत्तै प्रहरीले पक्राउ गरेको हो’ प्रधानले थपे, ‘पहिल्यै आफूसँग गल्ती स्वीकार गर्दै गीत हटाएको भए एक रुपैयाँ चाहिएको थिएन ।’

‘सम्झना’को ‘उकालीमा पछि पछि…’ गीत उदितनारायण झा र दीपा झाले गाएका हुन् भने संगीत तथा रचना रन्जित गजमेरको हो । उक्त गीतमा भुवन केसी र तृप्ती नाडकर फिचरिंग छन् भने ‘कृ’ को अनमोल केसी र अदिती बुढाथोकी फिचरिंग सोही बोलको गीतलाई अलमोडा राना उप्रेतीले गाएका छन् भने उनैले रचना तथा संगीतलाई रिमेक गरेर तयार पारेका हुन् ।

हालै मात्रै मुम्बईबाट काठमाडौं आएका रन्जित गजमेरले गीत चोरी गरेको पत्तो पाएपछि कारवाही प्रक्रिया अघि बढाउन प्रधानलाई अनुरोध गरेका थिए । प्रधानले अब अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताए ।

कान्तिपुर दैनिकवाट

तपाईको प्रतिक्रिया