इटहरी । पछिल्लो समय पुर्वी नेपाल सीमावर्ती भारतीयहरुको भ्रमण रोजाईमा पर्न थालेको छ । प्याकेजै किनेर पूर्वी नेपाल घुम्ने भारतीयहरुको संख्या बढेको हो ।
पूर्वी नेपाल भारतको पश्चिम बंगाल र बिहार राज्यसँग जोडिएको छ । सिक्किम तथा दार्जिलिङसहित पश्चिम बंगालका भारतिय पर्यटकहरु केही दिनको टुर प्याकेज किनेर पूर्वी नेपाल आउने क्रम बढेको हो ।
उनीहरुको रोजाईमा धरान र आसपासका धार्मिक स्थलहरु रहने गरेको धरानस्थित सेँछ ट्राभलका परिकल्पनाकार तथा संचालकहरु वासुदेव बराल र एलिना मगर बताउँछन् ।
‘पहिलेपहिले आफ्नै व्यक्तिगत तवरमा आएर घुमेर जान्थे,’ २०६९ सालमा धरानमा स्थापना भएको सेछ ट्राभलका सञ्चालक बराल भन्छन्, ‘अब भने धमाधम भारतीय पर्यटकहरू हाम्रो प्याकेज किनेर पूर्वी नेपाल आउँछन् ।’
भारतीय पर्यटकहरूले प्याकेज किन्दा कोसी पर्यटन कोरिडोर अन्तरगतको धरानसँगै बराहक्षेत्र, भेडेटार, राजारानी, हिले, तीनजुरे मिल्के जलजले क्षेत्र र गूफापोखरी रोज्ने गरेका छन् ।
उता सिमावर्ती विहारका पर्यटकहरू भने अझैपनि स्वतन्त्र व्यक्तिगत यात्री (फ्रि इन्डिभिज्युअल ट्राभलर) को रुपमा नेपाल घुम्ने गरेका छन् । उनीहरुले प्याकेज खोज्ने गर्दैनन् । ‘जुन ठाउँको विषयमा थाहा छ, त्यहीँ आएर घुमेर जान्छन्,’ बराल भन्छन् ।
तर, मध्यम र उच्च वर्गीय भारतीय पर्यटकहरूलाई हिन्दीमा प्रचार गरेर सूचना सम्प्रेषण गरेको अवस्थामा भने विहारका पर्यटकहरूलाई पनि पूर्व भ्रमणको प्याकेज बेच्न सकिने बरालको तर्क छ ।
उनले जेठको अन्तिम हप्ता प्रदेश १ मा इस्र्टन टुरिजम मार्ट गर्न लागेको बताउँदै त्यसले नेपालको प्याकेज टुरिजमलाई प्रबद्र्धन गर्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया