नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने बताउँदै भन्नुभयो, “निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्नेतिर जानुपर्छ, सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउनेतर्फ सरकारको जोड रहनेछ ।”

शिक्षा नीतिमा आमूल सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभयो । शिक्षा नीति ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण हुनुपर्ने सुझाव दिँदै उहाँले सीधै रोजगारी सिर्जना गरेर विकास गर्ने शिक्षा नीति बन्नुपर्ने बताउनुभयो । फरक प्रसंगमा उहाँले सुकुम्बासी समस्या समाधानका लागि आफूहरुले गृहकार्य गरिरहेको र पूर्जा वितरण प्रक्रिया दुई चरणमा हुने बताउँदै पहिलो प्रक्रियामा घर दर्ता र दोस्रो प्रक्रियामा जग्गा दर्ता गरी लालपूर्जा वितरण गरिनेछ भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रअ भोजराज पौडेलले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालय विसं २०२४ मा स्थापना भएको हो । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जनताले ठूलो बलिदानीका साथ निरंकुशता र खराबी तन्त्र मास्न साथ दिएकाले त्यसको उपहारस्वरूप विकास, सुशासन र समृद्धि दिनुपर्ने बताए । उनले निरंकुशता उखेल्न साथ दिएका जनताले प्रगतिशील वामपन्थी शक्तिलाई बहुमतसहित सत्ताको चाँबी सुम्पिएको जिकिर गरे ।

सर्लाही क्रान्तिकारीको सम्मेलन उद्घाटनमा अध्यक्ष तामाङले केपी ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरे जनताले माफी नदिने बताए । उनले निजी विद्यालयले मनोमानी शुल्क वृद्धि नरोके निजी शिक्षण संस्था सधैँका लागि बन्द गर्दिने चेतावनी दिए । उनले ७ लाख शिक्षण लाइसेन्स लिएका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग माग गरे । उनले पार्टी एकता सम्मानजनक सहभागीताको आधारमा नभए एकता प्रक्रियामा सामेल नहुने बताए । अध्यक्ष तामाङले माओवादी अध्यक्ष प्रचण्ड ०४२ सालदेखि प्रमुख पात्र रहेको र कसैको अण्डरमा रहेर काम नगरेको बताए ।

सर्लाही अध्यक्षमा मैनाली

अखिल क्रान्तिकारीको सर्लाही जिल्ला अध्यक्षमा विवेक मैनाली निर्वाचित भएका छन् । आज भएको सम्मेलनबाट उनी निर्वाचित भएको प्रदेश-२ का इन्चार्जसमेत रहेका उपमहासचिव गणेशप्रसाद मैनालीले जानकारी दिए । सम्मेलनको उद्घाटन केन्द्रिय अध्यक्ष रञ्जित तामाङले गरेका थिए ।

यसअघि नवनिर्वाचित अध्यक्ष मैनाली त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारीताको केन्द्रिय क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पसको इन्चार्ज थिए । क्रान्तिकारी माओवादी केन्द निकटको विद्यार्थी संगठन हो । एमाले र माओवादीबीच पार्टी एकताको अन्तिम मिति नजिकिइरहेको बेला क्रान्तिकारीले देशभर सम्मेलन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया