विहीबार दक्षिण कोरियाली राजधानी सउलमा चर्चित नायिका च्वे अन-हीको अन्तिम संस्कार गरिएको छ। सोमबार ९१ वर्षको उमेरमा उनको निधन भएपछि दक्षिण कोरियाभरी नै शोक मनाइएको थियो। एकजना ८२ वर्षिया अभिनेत्री अम आइंग-रानले भनिन् “म हाइस्कूलमा पढ्दा उनको चलचित्र हेर्न जाने गर्दथें। उनको अभिनय हेरेर नै मै पनि अभिनेत्री बन्ने निर्णय गरेकी हुं।”

सामाजिक संजालको वेबसाइट प्रयोगकर्ताहरुले पनि च्वेको निधनपछि उनको सम्झना गरेका छन्। ‌ सन् १९७० को दशकमा उत्तर कोरियाको अपहरणमा परेकी र पछि भाग्न सफल दक्षिण कोरियाली नायिका च्वे उन-हीको ९१ वर्षको उमेरमा सोमबार निधन भएको हो।

उनलाई उत्तर कोरियाका लागि चलचित्रहरू बनाउन बाध्य पारिएको थियो। च्वे उन-ही दक्षिण कोरियाकी अग्रणी नायिका थिइन् जब उनी सन् १९७० को दशकमा अपहरणमा परेकी थिइन्। उनका पूर्वपति एवम् एक जना चर्चित चलचित्र निर्देशक पनि केही महिनापछि अपहृत भएका थिए। पछि उक्त जोडी भाग्न सफल भयो।

दाबीप्रतिदाबी

उत्तर कोरियाले उनीहरूलाई अपहरण नगरेको बताउँदै आएको छ।

उसले सो जोडीले उत्तर कोरियामा शरण लिएको बताउने गरेको छ।

अभिनय

सन् १९२६ को नोभेम्बरमा दक्षिण कोरियाको गेयोङ्गी प्रान्तमा जन्मिएकी च्वेले सन् १९४७ मा चलचित्रमा अभिनय सुरु गरेकी थिइन्।

उनी र उनका त्यति बेलाका पति शिन स्याङ्-ओक दक्षिण कोरियाका चर्चित निर्देशक र कलाकार बने।

सन् १९७० को दशकको अन्त्यतिर उक्त जोडीले सम्बन्ध विच्छेद गर्‍यो।

त्यति बेला नै च्वेको अभिनययात्रा ओरालो लागेको थियो।

उक्त समयमा च्वेसमक्ष हङ्कङको व्यवसायीको रूपमा आफूलाई चिनाउने एक जना मानिसले चलचित्र कम्पनी बनाउने प्रस्ताव गर्‍यो।

“ए किम जङ-इल प्रडक्सन” नामक पुस्तकका अनुसार, उनी ती व्यक्तिको कुरामा आश्वस्त भएर हङ्कङ जान तयार भइन्।

हङकङ पुगेपछि उनलाई पुरुषहरूको एउटा समूहले समात्यो र लठ्याउने पदार्थको प्रयोग गरेर बेहोस पारिदियो।

त्यसको आठ दिनपछि उनले आफैलाई प्योङ्याङ्स्थित एउटा सुविधाजनक विलासी घरमा पाइन्।

सम्बन्धविच्छेद भए पनि शिन र उनकी पूर्वपत्नीबीच निकटता नै थियो।

उनी च्वेलाई खोज्न हङकङ पुगे। तर उनी पनि अपहरणमा परे।

शरण

दिवङ्गत उत्तर कोरियाली नेता किम जंग-इल चलचित्रको ठूलो प्रशंसक थिए।

उनले हलिवूड चलचित्र नियमित रूपमा हेर्ने गर्ने गरेको विश्वास गरिन्छ।

उनले दक्षिण कोरियाली चलचित्र जोडीको उपस्थितिले उत्तर कोरियाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने आशा गरेको बताइन्छ।

आठ वर्षपछि उक्त जोडीले किमको विश्वास जित्यो ।

उनीहरूलाई चलचित्र प्रवर्धनका लागि भियना जान दिइयो।

भियनामा हुँदा उनीहरूले अमेरिकी दूतावासमा राजनीतिक शरण खोजे। त्यसको केही वर्षपछि उनीहरू दक्षिण कोरिया फर्किए।

सन् २००६ मा शिनको निधन भयो।

तपाईको प्रतिक्रिया