जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेकपटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् ।
छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्ने गर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् ।

  • महिनावारी हुँदा ७ र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यता 
  • पुरानो पुस्ताको जिद्दी र नयाँ पुस्ताकाे नयाँकाे निरन्तरता 
  • छाउपडी प्रथा अन्धविश्वास हो भनी पढेका विद्यार्थी नै भ्रमबाट मुक्त हुन नसकेको 

“म मात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिला छाउगोठमै बस्छन्”, उनले भनिन्, “बज्यै, आमा, भाउजूले मानी आएको यो चलन हाम्रा लागि पनि नयाँ होइन, अब त नियमित जस्तै भइसक्यो ।”

गीताले जस्तै जुनीचाँदेका महिला र युवतीले छाउपडी प्रथालाई संस्कारकै रुपमा स्वीकार्दै आएका छन् । “छुई हुँदा घरभित्रै बस्यो भने त देवता रिसाउँछन्, अनेक समस्या आइलाग्छन्”, गीताले छाउगोठ जानाको कारण बताइन्, “देवता लागे भने जिन्दगीभर दुःख पाइन्छ, त्योभन्दा बरु छाउगोठमा गएर बस्यो, एक हप्ता त हो ।” ‘देवता लाग्ने’ डरकै कारण यहाँका महिला छाउपडी बार्न बाध्य छन् ।

“महिनावारी हुँदा गोठमा गई नबसे लागो लाग्छ”, उनले भनिन् “देवता रिसाए हामीलाई अनर्थ हुन्छ, अनि जानुपरेन त गोठमा ?”

जुनीचाँदेकै पार्वती खड्का आदर्श माविमा कक्षा ११ मा पढ्छिन् । उच्च शिक्षा अध्ययनकै क्रममा रहेकी उनी पनि महिनावारी हुँदा छाउगोठमै पुग्छिन् । सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानून बनाएको छ भन्नेबारे उनलाई थाहा नभएको होइन । पार्वतीलाई छाउपडी प्रथा गलत हो भन्ने थाहा छ । उनलाई पनि देवताको डरकै कारण गोठमा बस्नैपर्ने बाध्यता छ ।

पहिलेदेखि चलिआएको चलनलाई नकार्न निकै गाह्रो भएको उनको भनाइ छ । “महिनावारी हुँदा गोठमा गई नबसे लागो लाग्छ”, उनले भनिन् “देवता रिसाए हामीलाई अनर्थ हुन्छ, अनि जानुपरेन त गोठमा ?”

कक्षा ९ मा अध्ययनरत गीता खड्का पनि पार्वतीकै जस्तो भ्रममा छिन् । उनलाई पनि गोठमा बस्दा हुने अन्य डरभन्दा देवता रिसाएर पु¥याउने क्षतिको डर बढी लाग्ने गर्छ । महिनावारीको समय र सुत्केरी हुँदा घरमा बसे देवताले नाश गर्छन् भन्ने गीताको बुझाइ छ । छाउपडीप्रथा गलत हो भनेर सुन्दै र पढ्दै आए पनि आफूलाई भने देवता रिसाउने डर नै बढी लाग्ने गरेको उनले बताइन् । गाउँका सबै महिला र युवती महिनावारी र सुत्केरी हँुदा छाउगोठमै बस्ने गरेकाले आफू पनि त्यहीँ बस्ने गरेको गीताको भनाइ छ ।

गीता र पार्वती मात्र होइन, छाउगोठ जिल्लाका विकट एवं दुर्गम गाउँपालिकाका रुपमा रहेको जुनीचाँदे– ४ लुहादहका सबै महिलाको बाध्यता बनेको छ । महिनावारी हँुदा सात र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यताका कारण उक्त गाउँका महिलाले विभिन्न किसिमका समस्या झेल्नुपरेको स्थानीयवासी प्रेमबहादुर खड्काले बताए ।

पुरानो पुस्ताको जिद्दी र नयाँ पुस्ताले त्यसैलाई स्वीकार गरेका कारण गाउँबाट छाउपडी प्रथा हटाउन नसकिएको उनले बताए । विद्यालयमा छाउपडी प्रथाले निम्त्याउने समस्या र यो अन्धविश्वास हो भनेर जति पटक पढाए पनि विद्यार्थी नै सो भ्रमबाट मुक्त हुन नसकेको आदर्श माविकै शिक्षक नेपालीदास चौधरीले बताए । “म आदर्श माविमा आएको करीब १८ वर्ष पूरा भयो, यहाँका अधिकांश विद्यार्थीलाई बालविवाह र छाउपडीको बारेमा जतिसुकै शिक्षा दिए तापनि यो प्रथाको अन्त्य हुनै सकेको छैन”, शिक्षक चौधरीले भने ।

“अब हामी विशेष कार्यक्रम बनाएर यो कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्छौं, गाउँपालिका बजेट कार्यान्वयन प्रक्रियामा छ । यो प्रथा अन्त्यका लागि गाउँपालिकाबाट बजेट पनि विनियोजित गरिएको छ ।”

विगतदेखि हजुरआमा, आमाले गरेको चलन आफूहरुले नगर्दा घरबाटै छाउगोठमा बस्न दवाव आउने गरेको स्थानीयवासी महिला बताउँछन् । सुत्केरी अवस्थामा छाउगोठको बसाइले शिशु स्याहार गर्न कठिन हुने गरेको र त्यसभन्दा पहिले धेरै बालबालिकालगायत आमाको समेत ज्यान जाने गरेको स्थानीयवासी कविता खड्काले बताइन् । यसरी यहाँका किशोरी र महिला कुसंस्कारको शिकार बन्दै आएका छन् । छाउपडीमा बस्दा बिरामी परेर प्रत्येक महिना बाह्रभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको स्थानीय स्वास्थ्यकर्मी प्रदीप थापाले जानकारी दिए ।

छाउपडी प्रथाका कारण यहाँका किशोरीको पढाइमा बाधा परेको छ । छाउपडी प्रथाकै कारण लुहादहमा रहेको विद्यालयमा अध्ययनरत किशोरी विद्यालय आउन लजाउने गरेको र कतिपयले विद्यालय नै छाड्ने गरेको शिक्षक बताउँछन् ।

के गर्दैछ स्थानीय सरकार ?

अन्धविश्वासका कारण छाउपडी प्रथाले विकराल रुप लिएपछि यसलाई हटाउनका लागि गाउँपालिका योजना बनाएर काम गर्ने तयारीमा छ । गाउँपालिका छाउपडी प्रथा हटाउनका लागि स्थानीय युवा र आमा समूहसँग छलफल गर्दै अगाडि बढेको छ ।

सरकारले नै छाउपडी प्रथाविरुद्धको ऐन बनाएर लागू गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले सो प्रथा अन्त्यका लागि पहल भइरहेको बताए । युवापुस्ताले छाउ हटाउन खोजे पनि वृद्धवृद्धालाई बुझाउन नसकिएको केसीको भनाइ छ । उनले भने, “अब हामी विशेष कार्यक्रम बनाएर यो कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्छौं, गाउँपालिका बजेट कार्यान्वयन प्रक्रियामा छ । यो प्रथा अन्त्यका लागि गाउँपालिकाबाट बजेट पनि विनियोजित गरिएको छ ।”

सबै जनप्रतिनिधि आआफ्ना ठाउँमा सक्रिय भई छिट्टै अभियान चलाएर सो संस्कार बदल्ने कार्यमा गम्भीर हुने अध्यक्ष केसीले बताए । जिल्लाका सम्बन्धित निकायले सो प्रथा अन्त्य गर्नका लागि समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया