काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ । स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले आज बिहान ८ः३० बजेका लागि बैठक बोलाएको थियो । बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केही दिनका लागि स्थगित गरिएको बुझिएको छ ।

कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेको थियो । विधानअनुसार दुई महिनाभित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन महाधिवेशन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया