गछिया । जब आँगनको छेवैबाट बग्ने गछिया खोलामा धमिलो पानी बग्न थाल्छ, गछियाका पुष्प भण्डारीको मन पनि अमिलो हुन थाल्छ । उनी एक वर्ष अघि गछिया खोलामा आएको बाढी सम्झिन थाल्छन् ।

उनी मात्र हैन गछिया खोला आसपास बस्ने धेरै मानिस गछिया खोलाको बाढी देखेर तर्सिन्छन् । एक वर्ष बित्दा पनि सम्बन्धित निकायले तटबन्ध निर्माणमा तदारुकता नदेखाउँदा स्थानीय लक्ष्मी नेपाल यो वर्ष पनि बाढीको त्रास रहेको  बताउछन् ।

गत वर्ष साउन २७ गते शुक्रवार राति गछिया खोलामा बाढीको भेल उर्लिएको थियो । बाढीका कारण खोला आसपासका दर्जनौँ घर परिवार बिस्थापित भएका थिए । बाढीमा परेर थात बास गुमाउने परिवारले ठोस राहत अझै पाएका छैनन् ।

बर्सेनि त्रास दोहोरिरहने गरेको छ । स्थानीय लक्ष्मी नेपाल समयमै बाध बनाउन ध्यान नदिएको भन्दै आक्रोश पोख्छ्न् ।

सरिता राईको घर पनि खोलाको छेउमै छ । उनका श्रीमान् र उनी जाडोयाम भर खोलामा बालुवा चाल्छन् खोला नै उनी हरेको जिउने आधार हो । तर गएको वर्ष बर्खाको समयमा त्यै खोलामा आएको बाढीले गर्दा उनीहरू अहिले घरबार विहीन छन् । उनीहरू अझै पनि त्रिपाललाई छानो लगाएर बसिरहेका छन् । बाढीले त्यो ठाउँ पनि कतिखेर कटान गर्ने हो थाहा छैन । उनी भन्छिन्, ‘खोलामा तटबन्धन बन्यो भयो भने बनी बुटो गरेर घर बनाउँछु ।’

काम सुरु भयो तर अन्त्यको टुङ्गो छैन 

गछिया खोलामा आएको बाढीले कटान गरेपछि तत्काल तटबन्ध निर्माणको आस स्थानीयहरूले राखेका थिए । सोही क्षेत्रबाट चुनावमा जितेका वर्तमान मन्त्री लालबाबु पण्डित चुनावको क्रममा आउँदा पनि आउने बर्खा अगाडी नै काम सक्ने गरी कुरा गर्छु भनेका थिए । तर ढिलो गरि भर्खर मात्र काम सुरु गरेकोमा स्थानीय ७४ वर्षीय पुष्प भण्डारीले गुनासो गरे ।

‘देशले नै हाइ हाइ गरेको नेताले त समय मै काम गर्छन् जस्तो लागेको थियो तर उनी पनि अरू जस्तै रहेछन्,’ उनले भने, ‘ढिलो, त्यसमाथि  ७,८ जना कामदारले मात्र काम गर्दा कहिले पुरा होला र ?’

मोरङको सुन्दरहरैचा को बिचै बिच बग्ने गछियाखोलामा आएको बाढीका कारण विस्थापितहरु कोही आफ्नो पुरानै जग्गामा टहरो हालेर बसेका छन् भने कोही आफन्तको सहारामा बस्दै आएका छन् । पीडित हरू अझै सम्म पनि कटान लागेको स्थानमा तटबन्ध निर्माण पुरा हुन नसक्दा यो बर्सादमा पनि उही प्रकोप निम्तिने त्रासले चिन्तित रहेका छन् ।

तपाईको प्रतिक्रिया