काठमाडौं ।  भारतीय कम्पनीले हात पारेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना एमालेकै पहलमा भारतको पोल्टामा पुगेको छ । भारतले अरुण तेस्रो आयोजना अघि बढाउन अर्धसरकारी सतलज कम्पनीलाई जिम्मा दिएको छ । एक खर्ब चार अर्ब रुपैयाँ कुल लागतमध्ये ९१ अर्ब रुपैयाँ भारत सरकारले सिधै लगानी गर्नेछ । उत्पादित बिजुली आवश्यक परे नेपालले खरिद गर्नसक्ने प्रावधान राखिएको छ ।

१२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको अनुमानित लागत दुई खर्ब ६० अर्ब रुपैयाँ छ भने नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको अनुमाननित लागत जम्मा एक खर्ब चार अर्ब रुपैयाँको छ । अत्यन्त कम लागतको अरुण तेस्रो भारतको हातमा पुग्नु र त्योभन्दा दोब्बर बढी लागतको बुढीगण्डकी नेपाल आफैंले बनाउन बाध्य हुनुको पछाडि ठूलो रहस्य लुकेको छ । त्यो रहस्यमा एमालेकै मुख्य हात रहेको छ ।

२०५० सालमा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा नेपाली कांग्रेसको तत्कालीन सरकारले अरुण तेस्रो आयोजना निर्माण अघि बढाएको थियो । तर वातावरणमा नराम्रो प्रभाव पर्ने र यति ठूलो आयोजना नेपालका लागि आवश्यक नरहेको भन्दै एमालेले संसद् अवरुद्ध ग¥यो, सडकमा टायर बालेर आन्दोलन ग¥यो । तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले सहयोग नगर्न चेतावनी दिँदै एसियाली विकास बैंकलाई चिठी नै लेखे । २०५१ सालको मध्यावधि निर्वाचनमार्फन सत्तासीन भएपछि एमालेले अरुण तेस्रो रद्द नै गरिदियो ।

अरुण तेस्रो रद्द गरिएपछि भारतसँग महाकाली सम्झौता भयो । महाकाली सन्धि केपी ओलीकै अग्रसरतामा संसद्को दुई तिहाइ मतले पारित भएको हो । महाकाली सन्धि गर्न नेपाललाई बाध्य पार्ने डिजाइनअन्तर्गत अरुण तेस्रो तुहाउन भारतले एमाले प्रयोग गरेको रहस्य त्यतिबेलै सतहमा आएको थियो ।

तर सबैभन्दा सस्तो अरुण तेस्रोमा भारतले आँखा गाडेको रहस्य भने पछि मात्रै सतहमा आएको हो । संयोगले दिल्लीमा गएर अरुण तेस्रो शिलान्यास गर्नेबाहेक प्रधानमन्त्री खड्गप्रसाद ओली तीन दिने भारत भ्रमण उपलब्धिविहीन हुने देखिएको छ । ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजनाको चैत २४ गते संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन् ।

२०४८ पछि नेपालका जे जति नदीनाला भारतको पोल्टामा पुगेका छन्, त्यसमा प्रमुख हात केपी ओलीकै रहेको छ । ओली भ्रमणको पाँच दिनअघि मात्रै भारतले आफ्ना प्रधानमन्त्री मोदीले नेपाल भ्रमण नगर्ने सार्वजनिक जानकारी गराएको छ । ओलीको भारत भ्रमणको कार्यक्रमबारे डेढ साताअघि ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिट्टै नै भारतीय प्रधानमन्त्री मोदी र चिनिया राष्ट्रपति सि जिन पिङले नेपाल भ्रमण गर्ने जनाएका थिए ।

तर एक वर्षपछि लोकसभाको चुनावमा होमिन लागेका भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण क्यालेन्डर क्यान्सिल भएको छ । मोदीको भ्रमण क्यान्सिल भएको सूचना ओली दिल्लीबाट फर्केको केही दिनपछि सार्वजनिक गर्न सकिन्थ्यो, तर ओली भ्रमणको पूर्वसन्ध्यामा क्यान्सिल गरिनु रहस्यमय मानिएको छ ।

– source – medianp बाट साभार गरिएको 

तपाईको प्रतिक्रिया