काठमाडौं । आज २५ औँ मदन–आश्रित स्मृति दिवस नेकपा (एमाले)ले मनाउँदैछ । माओवादी र एमालेबिच पार्टी एकताको घोषणा समेत आजै हुने सम्भावना छ ।
२०५० जेठ ३ गते एमालेका तात्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको दासढुङ्गामा भएको सडक दुर्घटनामा परि निधन भएको थियो । पोखराबाट चितवन जानेक्रममा नारायणगढ–मुग्लिन सडक खण्डस्थित उक्त ठाउँमा दुवैले ज्यान गुमाएका थिए । मदन भण्डारी कुशल संगठक र नेता मानिन्छन् । उनको मृत्युलाई हत्या हो भन्नेहरुको जमात् पनि ठूलो छ ।

रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानविनबाट कुनै तथ्य बाहिर आउन सकेको छैन । दुर्घटनाका एकमात्रै साक्षी एवम् जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना झनै रहस्यमय बनेको छ । उक्त घटनाबारे एमाले पार्टीका दस्तावेजहरुमा ‘दासढुंगा हत्याकाण्ड’ भनी उल्लेख छन् । तर घटनाको छानविन गर्न एमालेले नै चासो दिएको छैन ।

घटनालगत्तै एमालेले तत्कालीन स्थायी कमिटी सदस्य केपी ओलीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले भण्डारी र आश्रितको निधन सामान्य सडक दुर्घटनाका कारण मात्रै नभएर षड्यन्त्र भएको निष्कर्ष निकालेको थियो ।

त्यसयता एमाले एकल र संयुक्त गरी आठ पटक सरकारमा रहिसकेको छ । तीन वटा सरकारको त नेतृत्व नै लिएको छ तर दासढुंगा दुर्घटनाको रहस्य खोतल्न उसले स्वतन्त्र आयोगसम्म पनि बनाएन । एमालेको नेतृत्वले नै चासो नदिएपछि हत्याकाण्डमा एमालेका शीर्ष नेताहरुको संलग्नता त छैन भन्ने आशंका उब्जेको छ । एमाले शीर्ष नेताहरु आफ्नै पार्टीका नेताको हत्याकाण्डको रहस्य लुकाउन संलग्न रहेको लान्छनासमेत सहेर बसिरहेका छन् ।

काँग्रेसले दुर्घटना भन्ने, एमालेले हत्या
पार्टीले निधनको कारण दुर्घटना नभई हत्या भएको निष्कर्ष निकालेर सडक तताएपछि तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले पूर्व महान्यायाधिवक्ता प्रचण्डराज अनिलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले सडक दुर्घटनामै निधन भएको प्रतिवेदन दिएपछि एमालेको चित्त बुझेन । देशव्यापी आन्दोलन जारी रह्यो ।

आन्दोलन चर्किएपछि सोही सरकार बहालवाला सर्वोच्च अदालतका न्यायाधीश त्रिलोकप्रताप राणा संयोजकत्वमा छानबिन समिति बनायो । उक्त समितिले पनि सडक दुर्घटनाकै निष्कर्ष राखेर प्रतिवेदन बुझायो ।

चालक अमर लामाले लापरबाही पूर्वक मोटर चलाएकाले दुर्घटना भएको निष्कर्ष उक्त समितिको थियो । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर नेतृत्वमा नागरिक स्तरमा गठन भएको छानबिन समितिले भने हत्याकै निष्कर्ष दिएको थियो, तर दोषी भने किटेको थिएन । तुलाधर त्यतिबेला एमाले टिकटबाट सांसद थिए ।

भण्डारीको हत्यापछि काँग्रेसमा विवाद र मध्यावधि निर्वाचन
भण्डारीको निधनपछि रिक्त भएको काठमाडौं–१ को उपनिर्वाचनमा तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई भण्डारीपत्नी विद्यादेवीसँग पराजित भए । यो विषयले कांग्रेसमा ठूलो विवाद भयो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि भट्टराईविरुद्ध अन्तर्घात गरेको आरोप लाग्यो र त्यसै विवाद चर्किंदै गएर पार्टीमा दुई गुट छत्तिसे र चौहत्तरे सतहमा आए । सोही कारण संसद विघटन हुँदै मध्यावधि निर्वाचन हुन पुग्यो ।

मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दल बनेपछि पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा अल्पमतको सरकार गठन गर्यो एमालेले । महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री र स्थायी कमिटी सदस्य केपी शर्मा ओली गृहमन्त्री बने ।

तर हत्याकाण्डबारे एमाले सरकारले अनुसन्धानका नाममा सिन्कोसम्म भाँचेन ।

तपाईको प्रतिक्रिया