सुनसरी । सुनसरीको इटहरीमा करिब ५ महिनाअघि भएको १४ वर्षीय बालिकामाथिको सामूहिक बलात्कार प्रकरणमा मुछिएका दुई प्रहरी अधिकारीलाई विभागीय कारबाही गरिएको छ । यसअघि गत १६ पुसमा अंग्रेजी नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट होटलमा गएकी १४ वर्षीय बालिका बलात्कृत भएकी थिइन् । र, ती प्रहरी अधिकारीले प्रहरी कार्यालयभित्रै घटना गुपचुप मिलाएको आरोप लागेको थियो । पीडित बालिकाले धरानका जुकल लिम्बु र बिराटनगरका मनिष श्रेष्ठबाट आफू बलात्कृत भएको बयान दिएकी थिइन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार तत्कालिन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई विभागीय कारबाही गरिएको हो । एसपी माझी उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेको भन्दै ६२ औं प्रहरी दिवसको अवसरमा सुनसरीबाट सम्मानित प्रहरी उपरीक्षक हुन् । तर, उनी कारबाहीमा परेका छन् । खोटाङबाट सुनसरी सरुवा भएको ४ महिनाको अवधिमै उत्कृष्ठ काम गरेको भन्दै माझी सम्मानित भएका थिए ।

माझीको एक वर्षको ग्रेड रोक्का गरिएको छ भने दाहाललाई तल्लो टाइम स्केल घटुवा गरिएको छ । घटनाको छानबिन गर्न बनेको समितिको आधारमा कारबाही गरिएको केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया