२० जेठ । मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि शनिबार राति युवाहरुको एक समूहले सांघातिक आक्रमण गरेको छ ।
बेलबारीका युवाको समूहले पत्रकार गिरीलाई शनिबार राति साढे ८ बजेतिर टाउकोमा छुरा, रड र ढुङ्गा प्रहार गरेका हुन् । युवाहरुको आक्रमणबाट सख्त घाइते पत्रकार गिरीलाई शनिबार राति नै बिराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

उनलाई आज उपचारपछि घर ल्याइएको स्थानीयले जानकारी दिएका छन् । घटनामा संलग्न भएको आरोपमा स्थानीय बिशाल थापासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य ब्यक्तिहरु फरार रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ । आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको जनाएको छ । प्रेस युनियन मोरङका कोषाध्यक्ष समेत रहेका गिरी बेलबारीबाट प्रकाशित डिजिटल पत्रिका निरन्तर खबर डटकमका सम्पादक हुन् । गिरीले घटनामा संलग्नहरुबिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने जनाएका छन् ।

यसरी भयो आक्रमण

बेलुकाको खाना खाएर टेलिभिजन हेरिरहेका गिरीलाई शनिबार राति छिमेकी दाइले बोलाएको छ भन्दै छिमेकीको नाम लिएर युवाहरुले बाहिर बोलाए । बाहिर निस्किने क्रममै आफूमाथि अन्धधुन्ध आक्रमण भएको पत्रकार गिरीले बताएका छन् ।

आफू ढोकामा निस्किना साथ मुखमा पट्टी बाँधेका एक युवाले आफूमाथि छुरा प्रहार गरेको र छुरा तर्काएपछि टाउकोमा रड प्रहार भको उनले बताए । रडले टाउकोमा लागेपछि आफूमाथि अर्का युवाले ढुङ्गा हिर्काएको तर संयोगबस् ढुङ्गाले आफूलाई नभई ढोकामा लागेको गिरीले बताए । आफूमागि आक्रमण भएको कुरा परिवारले थाहा पाएर हल्लाखल्ला गरेपछि आक्रमणकारीहरु भागेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया