चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत ईच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो भन्ने स्थानमा पहिरो खसेको छ ।

मंगलबार बिहान ४ः५५ बजे पहिरो खस्दा एकतर्फी सञ्चालन भएको सडक करिव ७ः४५ बजे पुनः पहिरो खसेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान खसेको पहिरो हटाउने तयारी गर्दा गर्दै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । राती परेको पानीका कारण पहिरो खसेको बताइएको छ । पहिरो पन्छाउनका लागि हाल त्यहाँ स्काभेटर पुगेको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिएका छन् ।


ईच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो भन्ने सोही स्थानमा दुई दिन अघि मात्रै पहिरो खस्दा तीन घण्टा यातायात अवरुद्ध भएको थियो ।

नरायणगढ मुग्लिन सडकखण्ड चौडापार्ने काम अहिले अन्तिमतिर पुगेपनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्दै आएको छ ।

वर्षा नलाग्दै उक्त सडक खण्डमा पहिरो गएपछि वर्षायाममा अझ धेरै पहिरो जाने र सडक अवरुद्ध हुने सम्भावना बढेको छ । यो सडक अवरुद्ध भए काठमाडौंबाट तराई क्षेत्रसँगको सम्पर्कमा समस्या उत्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया