ओखलढुुंगा । ठेक्का लिएको पाँच बर्ष वितिसक्दा पनि १० प्रतिशत समेत काम नगर्ने ठेकेदारलाई ओखलढुंगा प्रहरीले पक्राउ गरेको छ ।
मोलुङ गाउँपालिका १ र सुनकोशी गाउँपालिका १० जोड्ने मोलुङ खोलाको पक्की पुल निमार्णको ठेक्का पाएको राजेन्द्र लोकप्रिय जेभीका सब–कन्ट्रयाक्टर रविन्द्र लामालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको निर्देशनमा लामालाई पक्राउ गरिएको हो । उक्त पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि २०७० साल असार ३० गते सम्झौता गरिएको भएपनि हालसम्म चार प्रतिशत पनि काम हुन नसकेकाले उनलाई पक्राउ गरिएको हो ।

८० मिटर लम्बाई र ५ मीटर चौडाइमा निमार्ण हुने पुलका लागी सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँको लागतमा सम्झौता भएको थियो । पछि डिजाइन परिवर्तन पश्चात ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ रुपैयाँ र्पुयाइएको हो । तर पनि ठेकेदारले पुल निर्माणको काम अलपत्र छाडेका हुन् ।

पन्तले सरकारको निर्देशन अनुसार ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही सुरु गरेका हुन् ।जिल्लामा पाँच वर्षदेखि ठेक्का लिएका पुल, विद्यालय भवन, स्वास्थ्य चौकी, सडक लगायतका पूर्वाधारहरु एक दर्जन हाराहारीका ठेकेदारले अलपत्र छोडेका छन् । ठेकेदारहरुलाई धमाधम प्रशासनमा झिकाई स्पस्टीकरण सोध्ने तथा कारबाही गर्न थालेसंगै उनीहरु भाग्न थालेका छन् ।

जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना बढी ठेकेदार कारवाहीको दायरामा ल्याउनुपर्ने देखिएको पन्तले बताए । जिल्लामा कामचोर ठेकेदारको संख्या धेरै रहेकाले उनीहरुलाई दवाव नदिएसम्म बिकास निमार्णले गति नलिने जिल्ला समन्वय समितीका अध्यक्ष जय बहादुर श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया