भद्रपुर । कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्ने उद्देश्यले यहाँ स्थित ५० जना कृषकलाई मङ्गलबारबाट दुइदिने तालिम शुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम धानबाली अन्र्तगत धान खेती प्रविधि तथा यान्त्रिकीकरण सम्बन्धि तालिम शुरु गरिएको हो ।
झापाको भद्रपुर नगरपालिका कृषि विकास शाखाको आयोजना तथा कलबलगुरी कृषि सहकारी भद्रपुर १० को संयोजनमा शुरु भएको कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत प्रकाश कुमार डाँगीले कृषकलाई खेतीको इतिहाँस र वर्तमान अवस्थाको बारेमा प्रशिक्षण दिएका थिए ।

खेतीमा नाफा नभएपनि संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिदै आएको खेती वानीको रुपमा आएको बताए । कृषकले शिर ठाडो हुने गरि म किसान हुँ भन्न अझैपनि नसकिरहेकोमा गुनासो गरे ।
ब्लक विकास कार्यक्रमका संयोजक भीम दाहालको अध्यक्षतामा तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा कृषि प्रसार अधिकृत शेषराज पौडेलले सहजीकरण गरेका थिए । तालिमको समापनको दिन हिलोमा धान रोप्ने उपकरण(ड्रम सिडर) को समेत परिक्षण गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया