रुसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा २१ औं संस्करणको विश्वकप फाइनल खेल्दै गर्दा फ्रान्स मनोवैज्ञानिक फाइदामा हुनेछ । दुई दशकको अन्तरालमा तेस्रोपटक महाकुम्भको फाइनल खेल्न लागेको फ्रन्सेली टोली प्रतियोगिताको फेवरेट समेत हो । आफ्नै भूमिमा भएको १९९८ को उपाधि उचालेको फ्रान्सले २००६ मा जर्मनी विश्वकपको फाइनल इटालीलाई सुम्पेको थियो ।

त्यसैले अन्डरडगको धब्बा मेटाउन प्रयासरत क्रोएसियाविरुद्धको खेलमा फ्रान्सले मौलिक आक्रामक प्रस्तुति दिनेमा कुनै शंका छैन । तर, हार नमान्ने टोलीको रुपमा कहलिएको क्रोएसियाविरुद्ध गोलका अवसर बुन्न फ्रान्सलाई पनि राम्रै संघर्ष गर्नुपर्नेछ । नकआउट चरणका तीनै खेलमा पछाडि परेको अवस्थालाई उल्टाएर नतिजा आफ्नो पक्षमा पारेको क्रोएसियालाई कम आँक्ने भूल फ्रान्सले गर्नेछैन ।मिडफिल्डर ब्लेस माटुइडीको पुनरागमनले प्रशिक्षक डिडियर डेसच्याम्प्स खुशी छन् । बेल्जियमविरुद्धको खेलमा इडिन हाजार्डसँग ठोक्किंदा उनले चोट बोकेका थिए । क्रोएसियाली टोली पनि केही खेलाडीको चोटले पिरोलिएको छ । प्रशिक्षक ज्लाट्को डालिचले आज केही खेलाडीलाई विश्राम दिने मनस्थिति बनाएका छन् । विङ्गर ईभान पेरिसिच र सेन्टरब्याक डोमागोज भिडालाई मैदान ओराल्नेमा उनी द्विविधामा छन् । मार्सेलो ब्रोजोभिचले भने आज पहिलो ११ मा स्थान पक्का गर्ने सम्भावना प्रशस्त छ । इङल्याण्डविरुद्धको सेमिफाइनलमा पुरै १ सय २० मिनेट मैदानमा खटेका मिडफिल्डर ईभान राकिटिचले फाइनल जसरी पनि खेल्ने बताएक छन् । इङल्याण्डसँगको खेलअघि ज्वरोले थलिएका उनले भनेका छन्, ‘म एक खुट्टा गुमाएको अवस्थामा पनि फाइनल खेलेरै छाड्छु ।’

खेल लुज्निकी रंगशालामा राति पौने ९ बजे सुरु हुनेछ । 

तपाईको प्रतिक्रिया