धरान । तीन दिन अघि प्रमुख तारा सुब्बाको निधन भए पछि धरान उपमहानगरपालिकाको कार्यालय सहित वडा कार्यालयहरु पनि सुनसान झै बनेको छ । स्थानीयहरु शोकमा रहेकाले सेवाग्राहीहरु नआउँदा कार्यालय सुनसान झै बनेको हो ।

गत साउन १ गते काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा फोक्सोमा भएको निमोनियाका कारण मृत्यु भएका प्रमुख सुब्बाको शोकमा धराननै रहेकाले सेवाग्राहीहरु पनि सेवा लिन आउन सकेका छैनन् । वडाहरु बाट प्रदान गरिने कामहरुका लागि पनि सेवाग्राहीहरु नआएको उपमहानगरपालिकाले जनाएको छ । सेवा लिन आएका सेवाग्राहीहरु कार्यालय परिसरमा राखिएको प्रमुख शोक पुस्तिकामा हस्ताक्षर गर्दै फर्किने गरेका छन् ।

बुधबार देखि कार्यालय परिसरमा आधा झण्डा झुकाएर शोक मनाईरहेको भए पनि उपमहानगरपालिकाले सेवा जारी राखेको छ । साउन १ गते भएको दुखद घटना पछि स्थानीयको दैनिकी प्रकृतिका कामहरु र सामान्य सिफारिसका कामहरुका लागि सेवाग्राही आउने गरेको प्रमुख प्रशासकिय अधिकृति सुमन घिमिरेले बताए । ‘पहिलेको जस्तो फ्लो छैन्, संख्यात्मक उपस्थिती छैन्’, उनले भने, ‘एक हप्ता सम्म राष्ट्रिय झण्डा झुकाएर शोक मनाउने भनेकाले पनि नआएको हुन सक्छ, उपभोक्ता मार्फत हुने कामहरुको वार्षिक बजेट पुस्तिका निकाल्नु पर्ने त्यो पनि यो घटनाले गर्दा रोकिएको छ ।’

प्रमुख सुब्बाको अन्त्येष्टि साउन ५ गते शनिबार हुने भएको छ । अन्तिम श्रद्धान्जली सभा र अन्त्येष्टिको काममा अहिले सबै कर्मचारी खटिएका छन् । उनको दाहसंस्कार गर्ने देखि शोक सभाको आयोजना गर्ने सबै जिम्मेवारी नगरपालिकाले नै गर्ने भएको छ । शनिबार आयोजना हुने श्रद्धान्जली सभामा राष्ट्रिय सम्मानका साथ लिम्बु संस्कृति अनुसार अन्त्येष्टि गरिने उपमहानगरपालिकाले जनाएको छ । उनलाई वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया