मधुमल्ला । पूर्वको चर्चित बजार मधुमल्ला बजारमा व्यवस्थित बधशाला अझै निर्माण हुन सकेको छैन ।
मिक्लाजुङ–७ को पुरानो बजार मधुमल्लामा अहिले पनि परम्परागत तरिकाले नै मासु काट्ने प्रचलन व्याप्त छ । यसमा स्थानीय सरकारको पनि ध्यान जान सकेको छैन । पुरानै शैलीले मासु काट्ने परम्परा अहिले पनि कायम छ । जसलाई व्यवस्थित गर्न नसक्दा जनताले अस्वस्थकर मासु खान बाध्य छन् । अधिकांश ले पुरानै शैलीमा मासु काट्दै आएका छन् ।

उनीहरूले पनि व्यवस्थित गर्नेतर्फ ध्यान दिएको पाइँदैन । अढाई दशकदेखि मासु पसल सञ्चालन गर्र्दै आएका शुभधन सुनुवारले मासु काट्ने शैली पुरानै रहेको बताए । सरकार फेरिए पनि यसतर्फ ध्यान नगएकोमा उनले गुनासो पोखे । अर्का युवा व्यवसायी चोकबहादुर मगर सम्बन्धित निकायले चासो नदेखाएको बताउँछन् । यद्यपि गाउँपालिकाले साप्ताहिक रूपमा कर लिँदै आएको उनीहरुको भनाइ छ । गतवर्ष करको दर ३० रुपैयाँ थियो भने यो बढेर ८० रुपैयाँ पुगेको मासु पसल सञ्चालक देउमान मगरले बताए ।

साप्ताहिक लाग्ने हाटमा राँगा, सुँगुरसहित दुई दर्जनको हाराहारीमा काटिन्छ । बेलगौंडेमा मासु काट्ने स्थान उस्तै अव्यवस्थित छ । मिक्लाजुङ–७ का वडाध्यक्ष सुशीलराज चौहानले मासु काट्ने स्थानका विषयमा आफू गम्भीर रहेको बताए । उनले मासु काट्ने स्थान व्यवस्थित गर्न गाउँपालिकामा योजना लगेको बताए । गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले मासु काट्नको लागि उपयुक्त स्थानको पहिचान गरी बधशाला निर्माण गरिने बताए । तत्काल उपयुक्त स्थान अभावका कारण मासु काट्ने स्थानलाई व्यवस्थित गर्न नसकेको उनले बताए । ‘तर ठाउँ छनौट गरी आवश्यक प्रक्रिया र बजेटको व्यवस्था गरिनेछ’ –आचार्यले भने ।

तपाईको प्रतिक्रिया