संखुवासभा । लम्सुवा घाटको पक्की पुलको निर्माण तीन वर्षमा सक्ने सम्झौता हो । तर काम थालेको आठ वर्ष बितिसक्दा पनि ३० प्रतिशत मात्रै काम भएको छ ।

भोजपुर र संखुवासभालाई जोड्ने यो पुल सडक विभाग र ठेकेदारको लापरबाहीले निर्माण सुस्त भएको हो ।  २०६७ असार २५ मा स्वच्छन्द निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । पुलको जग खन्ने क्रममा १२ मिटरमा ठूला चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेको छ । निर्माण कम्पनीले पुनः डिजाइनपछि मात्र थप काम गर्न सक्ने बताउँदै आएको छ ।

पुलको पिलर राख्ने ठाउँमा ठूला चट्टान भेटिएकाले त्यस ठाउँमा पिलर राख्न नसकिने कम्पप्नीका साइड इन्चार्ज विजय लामिछानेले बताए । सामान्य विस्फोटले चट्टान फुटाउन नसकिएको र बढी ठूलो विस्फोट गर्दा भौतिक संरचनामा असर पुग्ने लामिछानेको भनाइ छ ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस, ललितपुरका विज्ञहरुको टोली आएर स्थलगत अध्ययन गरी उनीहरुको सुझावको आधारमा प्रक्रिया अगाडि बढाइने बताइएको छ । १५७ मिटर लम्बाइको पुल १३ करोड पाँच लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको थियो ।

तपाईको प्रतिक्रिया