इटहरी/ पूर्वको उदाउँदो शहर इटहरी सोमबार सानो पानी पर्दा पनी जलमग्न भएको छ । सोमबार दिउसो परेको सानो पानीले हिडी नसक्नु बनेको थियो । यहाँका हाइवे सडकहरुमा सहजै हिँडडुल गर्न सक्ने अवस्था बनेन ।

व्यापारिक दृष्टिकोणले पूर्वकै नेतृत्व गर्दै आएको शहर वर्षेनी डुबिरहँदा किन मौन बस्दै आएको छ सरकार ? किन वोल्दैनन् इटहरीका राजनीतिक दल ? वर्षेनी सर्वसाधारणको ओछ्यानवाट बाढी कुदिरहँदा रोकथामको सामान्य विषयबाहेक मौन बस्दै आएको उपमहानगरपालिका किन सुनाउँदैन आफ्नो मन्त्रालयलाई यहाँको वेदना ? किन गर्दैनन् माथिल्लो निकायमा पहल ? यस्ता विविध प्रश्नहरु उठिरहेका छन् इटहरीबासीका मनमा ।

\इटहरी जस्तो तिब्र विकास भइरहेको शहर डुब्नु चानचुने विषय होइन । इटहरीमा विकासको क्रमसँगै बसाइँ सरेर आउनेहरुको संख्या समेत दिनानुदिन बढिरहेको छ । इटहरी डुब्नुका कारणहरु प्रशस्त छन् । यी कारणहरुको खोजी गरी सरकारी निकायले बेलैमा ध्यान नदिने हो भने भविष्यमा इटहरी ठूलो डुवानमा पर्दै जाने पक्का छ ।

इटहरीका अगुवा तथा राजनीतिक दलका प्रतिनिधिहरु इटहरीलाई प्रदेश नम्वर एकको प्रादेशिक राजधानीको दाबी गरिरहेका छन् । हो, इटहरीले राजधानी दाबी गर्नु स्वाभाविक छ । तर, राजधानी दाबी गर्ने थुपै उदाहरण बोकेर बसेको इटहरी डुवानमा पर्नु टाउको दुखाईको विषय हो ।

तपाईको प्रतिक्रिया