काठमाडौँ । अब बच्चाले आमाको गर्भमै हुँदा अंश पाउने भएका छन् । आगामी भदौ १ गतेदेखि लागू हुने गरी मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो ।

सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ ।

आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य भएको अधिवक्ता मीरा ढुंगानाको भनाइ छ । यो नयाँ व्यवस्थाले छोरालाई बढी प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिनुपर्ने छ ।

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने राम्रो कानूनी व्यवस्था भएको हो । त्यो व्यवस्था हालसम्म थिएन ।

‘अंशबंण्डाको अवस्थामा अंशियार महिलाको गर्भबाट जन्मने बच्चाले पनि समान अंश पाउने छ, यदि बच्चा मृतावस्था जन्मिएमा वा गर्भ खेर गएमा त्यो सम्पत्ति सगोलमै भाग लाग्ने छ’– वरिष्ठ अधिवक्ता पाठकले भनिन् ।

आगामी भदौ १ देखि अंशबण्डा गर्दा अंशियार गर्भवती महिलाको बच्चालाई पनि समानरुपले अंश छुट्टयाउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया