विर्तामोड । माथि उल्लेखित घटनाका आरोपी प्रहरी नियन्त्रणमा छन् । केही अनुसन्धानको घेरामा छन् भने केही पुर्पक्षका लागि कारागार चलान भएका छन् । पीडिकमाथि जतिसुकै कडा कारबाही भए पनि पीडित यस्ता घटनाबाट जीवनभर पीडित बन्ने गरेको मानवअधिकारकर्मी विष्णु खरेल बताउँछन् ।
पछिल्लो समय देशैभर बालिका तथा किशोरी बलात्कारका घटना वृद्धि हुन थालेका छन् । झापा यसबाट अछुतो छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कलाई आधार मान्ने हो भने झापामा हरेक वर्ष बलात्कारको घटना वृद्धि भइरहेको छ । फितलो सुरक्षाका कारण झापामा यौनजन्य आपराधिक घटना बढेको सरोकारवालाको भनाइ छ । पछिल्लो समयमा झापामा शृङ्खलाबद्ध रूपमा बलात्कारका घटना बढ्नुले बालिका तथा किशोरीको सुरक्षामा चुनौती थपिएको छ ।


अर्जुनधारा नगरपालिकामा मात्र विगत तीन महिनामा ६ वटा बलात्कारको घटना भएको सार्वजनिक हुनुले सुरक्षास्थिति कमजोर रहेको पुष्टि भएको छ । चार वर्षीया बालिका बलात्कार प्रयास भएको एकसाता बित्न नपाउँदै अर्की बालिकामाथि बलात्कारको प्रयास हुनुले पनि बालिकाहरु घरमै सुरक्षित नभएको प्रमाणित गरेको छ । त्यो पनि धेरै विश्वास गरेको तथा आफन्तबाट बालिकाको सुरक्षामा खतरा रहेको घटनाहरुले देखाएका छन् ।
झापामा बलात्कारको स्थिति गत आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७३÷७४ भन्दा ०७४÷७५ देखि ०७५÷७६ को यस अवधिमा आइपुग्दा बालिका बलात्कारका घटना दोब्बर वृद्धि भएको पाइएको छ । अनौपचाकि क्षेत्र सेवा केन्द्र (इन्सेक) झापाले सार्वजनिक गरेको तथ्याङ्कमा सो कुरा उल्लेख छ ।
चार वर्षीया बालिकादेखि ७० वर्षका वृद्धासमेत बलात्कारको शिकार बनेका छन् । त्यसमध्ये धेरै १५ वर्षदेखि मुनीका बालिकाहरु रहेका छन् । केही घटना वैवाहिक बलात्कारका समेत उजुरी परेका छन् । वैवाहिक बलात्कारको उजुरी भने झापामा नयाँ भएको प्रहरीले जनाएको छ । बालिकाको सुरक्षाका लागि अभिभावक सचेत नहुँदा यस्ता घटनामा वृद्धि भएको बताइएको छ ।

आपराधिक समाजको विकास: एसपी ढकाल
झापाका एसपी भीम ढकालले गाउँघरतिर आपराधिक मनोवृत्ति बढ्दै गएका कारण बलात्कारको घटना भएको दाबी गरेका छन् । उनले शहरमा भन्दा गाउँमा सुरक्षा कमजोर हुने भएकाले त्यसको फाइदा अपराधीले उठाउने गरेको बताए । आफ्ना अभिभावकको फितलो निगरानी र बालिकालाई आवश्यकताभन्दा बढी स्वतन्त्रता दिइनुले यस्ता घटना बढेको अनुभव उनले सुनाए । विशेषगरी सामाजिक सञ्जालको दुरुपयोग, इन्टरनेटको पहँुचका कारणले पनि यस्ता घटना बढेको तर्क ढकालको छ ।
उनले बलात्कारको घटना हुन नपाउने वातावरण बनाउनुपर्ने धारणा राखेका छन् । त्यसका लागि झापा प्रहरीले विशेष योजना अघि सार्ने भनाइ उनको छ । समाजमा महिलाहरुको संरक्षण र सुरक्षा गर्नुपर्ने दायित्व हाम्रो हो भन्ने मान्यता स्थापित गर्नुपर्ने उनले बताए ।
झापामा बलात्कारका घटना वृद्धि हुनुमा सुरक्षा चुनौती रहेको अधिकारकर्मीहरुको समेत भनाइ रहेको छ । सुगम जिल्ला मानिने झापामा अझै पनि गाउँघरसम्म प्रशासनको सुरक्षा मजबुत नबन्दा घटनामा वृद्धि भएको अधिकारकर्मी चन्दा श्रेष्ठले बताइन् । स्थानीय तहको जनप्रतिनिधिसमेत रहेकी श्रेष्ठले यस्ता घटना न्यूनीकरणमा प्रशासनको मात्र मुख नताकेर सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने बताइन् ।
झापामा भएको घटनालाई हेर्दा निरिह र एक्लो अवस्थामा रहेका बालबालिका एवम् महिला बढी बलात्कारबाट पीडित बनेको पाइएको छ । अपाङ्ग महिलादेखि अबोध बालिकासम्म बलात्कारको शिकार भएका छन् । झापामा सार्वजनिक हुन नसकेका यस्ता घटना दर्जनौं रहेको अधिकारकर्मीले बताएका छन् । इज्जत र प्रतिष्ठाका लागि कतिपय घटना लुकाइने गरेको उनीहरुको भनाइ छ । जसले गर्दा अपराधीको मनोबल बढ्दै गएर घटनामा वृद्धि भएको हो ।
एकपछि अर्काे बलात्कारको शृङ्खला सार्वजनिक भएपछि झापाका महिलाहरु त्यसको विरोधमा सडकमा उत्रिएका छन् । उनीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग अघि सारेका छन् । नेपालको संविधानमा फाँसीको सजाय छैन । बुधबार विर्तामोडमा बलात्कारका घटना विरुद्ध स्वतःस्फूर्त विभिन्न सङ्घ–संस्थाले विरोधसभा आयोजना गरेका छन् ।
नेपाली आमा समूह, दाह्री ग्याङलगायतको अगुवाइमा निस्केको ¥यालीले ६ किलोमिटरसम्म सचेतना ¥याली तथा कार्यक्रम प्रस्तुत गरेको थियो । अभियन्ताले पछिल्लो पटक अर्जुनधारामा चार वर्षीया बालिकामाथि भएको बलात्कारको घटनालाई लिएर संलग्नमाथि कडा कारबाहीको माग गर्दै विरोध ¥याली र सभा गरेका हुन् । अर्जुनधारा नगरपालिकाबाट निस्किएको ¥यालीले विर्तामोडको शहर परिक्रमा गरी मुक्तिचोकमा विरोधसभा गरेको थियो ।

मुलुकी ऐनमा के छ ?
मुलुकी ऐनअन्तर्गत महल १४ को जबरजस्ती करणीको ३ नम्बर २९७ मा १० वर्षभन्दा मुनीकी बालिका भए १० देखि १५ वर्षसम्म, १० वर्ष वा सोभन्दा बढी १४ वर्षसम्मको उमेरकी बालिका भए ८ देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ । १४ देखि १६ वर्षसम्मकी बालिका भए ६ देखि १० वर्षसम्म, १६ देखि २० वर्षसम्मकी किशोरी भए ५ देखि ८ वर्षसम्म र २० वा सोभन्दा बढी उमेरकी महिला भए ५ देखि ७ वर्षसम्म जेल सजाय हुने उल्लेख गरिएको छ ।
त्यसैगरी ऐनको ३ क नम्बर २९८ मा कसैले गर्भवती, अशक्त, अपाङ्गता, भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षणमा वा हेरविचारमा रहेका महिलालाई जबरजस्ती करणी गरेमा वा जुनसुकै उमेरका महिलाउपर सामूहिक रूपमा जबरजस्ती करणी गरेमा उक्त महलमा लेखिएको सजायमा थप ५ वर्ष कैद गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।

@blastkhabar

तपाईको प्रतिक्रिया