द सिनेमा टाइम्स काठमाडौं – गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट सिनेमा ‘शत्रु गते’ टिमले नयाँ कमेडी सिनेमा ‘दाल भात तरकारी’ को घोषणा गरेका छन् । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने सिनेमाको औपचारिक घोषणा राजधानीमा एक कार्यक्रमको बीच गरिएको हो । यसलाई निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड फिल्म ‘रिमेम्बर मि’ र ‘माई लभ’मा सह-निर्देशकको रुपमा काम गरिसकेका छन् ।


उनले, टिमकै अघिल्लो सिनेमा ‘शत्रु गते’ मा पनि सहायक निर्देशकको रुपमा काम गरेका थिए । यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल , राजाराम पौडेल , शिशिर बाङ्ग्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मंसिर पहिलो साताबाट सिनेमाको छायाँकन सुरु हुँदैछ । वर्ष २०७६ को बैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमाले हरेक मानिसले ‘दाल भात तरकारी’ खानका लागि गर्ने संघर्षको कथा बोल्ने घोषणा समारोहमा जनाइयो । सिनेमाको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने सिनेमाका गीत हरिवंश आफैंले लेखेका छन् । सिनेमामा पुष्पको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहने बताइएको छ ।


मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।

तपाईको प्रतिक्रिया