झापा \ नेपालमा व्यावसायिक रूपमा अनारस खेती नहुँदा भारतको भर पर्नु परेको छ । नेपालमा उत्पादित अनारसले स्थानीय बजारको माग धान्न नसक्दा हरेक वर्ष भारतका विभिन्न ठाउँबाट ठूलो परिमाणमा अनारस आयात हुने गरेको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
गत आर्थिक वर्ष २०७४÷०७५ मा पूर्वी नाका भएर ३ करोड ८४ लाख ९६ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ६ मेट्रिक टन अनारस नेपाल आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ । त्यो वर्ष आयात भएको अनारस अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ को तुलनामा ६ सय ३८ मेट्रिक टनले कम हो । आर्थिक वर्ष २०७३÷०७४ मा ८ करोड ८७ लाख ४ हजार रुपैयाँ बराबरको ३ हजार ४ सय ४ मेट्रिक टन आयात भएको कार्यालयका प्राविधिक सहायक विनयकुमार साहले बताए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात घटेको उनको भनाइ छ । उनी भन्छन्, ‘दैनिक आधा दर्जनबढी गाडी अनारस बोकेर मेची भन्सार आइपुग्ने गरेका छन् ।’ व्यवसायीले अनारस आयातबापत क्षेत्र प्लान्ट क्वारेन्टाइन कार्यालयमा दर्ता परमिटका लागि निवेदन पेश गरेर मात्र पैठारी प्रवेश अनुमत पत्र लिनुपर्दछ । सो बापत कार्यालयले २ सय रुपैयाँ राजस्व लिने गर्दछ ।
अनारस निकासीबापत भन्सार मूल्यांकन प्रति केजी १० रुपैयाँ छ । भन्सार महसुलबापत १० प्रतिशत राजस्व भन्सारमा बुझाउनु पर्दछ । यदि ५ हजार भन्दा बढीको सामान भए थप ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ । ५ हजार रुपैयाँसम्मको आयात गर्दा उक्त रकम तिर्नु पर्दैन ।
नेपालमा माग बढेसँगै आयात बढ्ने व्यवसायीहरूको भनाइ छ । खासगरी गर्मी मौसममा यसको माग बढ्ने गर्दछ । सामान्य व्यवसायीहरू समेत स्थानीय उत्पादनले नधानेपछि सीमावर्ती भारतीय बजारमा गएर अनारस खरिद गर्ने गरेको बताउँछन् ।
‘नेपाली बजारमा अनारस पर्याप्त मात्रामा पाइँदैन’, सामान्य अनारसको व्यापार गर्दै आएका मेचीनगर–५ का बलबहादुर कार्कीले भने, ‘भारतको पानीट्यांकी बजारबाट खरीद गरी ल्याउने गर्दछौँ । दैनिक १२ देखि १५ वटा अनारस बिक्री हुने गर्दछ ।’ मेचीनगरको काँकरभिट्टामा दर्जनबढी यस्ता व्यवसायीहरू छन् ।
नेपाली बजारमा भारतमा उत्पादित अनारसको मागले गर्दा यसको खेती गर्ने प्रचलन बढेको पाइन्छ । काँकरभिट्टा नाकाबाट आयात भएका अनारस स्थानीय बजारदेखि राजधानीसम्म पुग्ने व्यापारी बताउँछन् ।

तपाईको प्रतिक्रिया