सप्तरी – कोभिड-१९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ ।
पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल)ले जीआइजेडको प्राविधिक सहयोग र गेट फाउण्डेशनको सहकार्यमा पर्यटन सेवा सञ्चालनका लागि सुरक्षा मापदण्ड बनाएको हो ।
उक्त संस्थाको भर्चुअल रुपमा आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा स्टेफेन रोसेक र कार्यदलका संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सुरक्षा प्रोटोकलको प्रशिक्षण–प्रशिक्षक तालीम म्यानुअल सार्वजनिक गरे ।
यस परियोजनाले कोभिड–१९ पछि नेपाल सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकका लागि सेवा तथा व्यवसाय सुचारु राख्नका लागि स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकका लागि सुरक्षा मापदण्ड बनाउने लक्ष्य राखेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका छनोटमा परेका ११ नगरपालिकामा प्रशिक्षक (स्थानीय चैम्पियन्स) विकास गर्ने लक्ष्य राखेर स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार पारिएको हो ।