सप्तरी – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले मंगलबार झापाको दमकमा नगरस्तरीय कार्यकर्ता भेला गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा साविकको नेकपा माओवादीको पार्टी कार्यालयमा भेला सम्पन्न भएको हो । पार्टी एकता पछि सो कार्यालयलाई नयाँ पार्टीको जनवर्गीय संगठनहरुको साझा कार्यालय भनिएको थियो ।भेलामा नेतृ रामकुमारी झाँक्रीले संसद विघटन पछि प्रदेश स्तरमा सांसदहरु किनवेच सुरू भएको आरोप लगाईन् । प्रधानमन्त्रीको कदमलाई लिएर पार्टी विभाजनको अवस्थामा पुगेपछि प्रदेश सरकार र संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र त्यसपछि फिर्ता लिने क्रममा किनवेचको शृंखला सुरू भएको उनको आरोप छ ।
उनले भनिन्, ‘सरकारको कदम गलत भएको थाह भइरहँदा पनि कतिपय प्रदेशसभाका सांसदहरुले अविश्वासको प्रस्तावमा सही गर्न सकेनन्, सही गरी सकेका कतिपय अहिले फिर्ता लिइरहेका छन् । यो किनबेचको शृंखला नभएर के हुन सक्छ र ?’उनले पार्टी दर्शन, सिद्धान्त र संगठनको आधार तयार नपारि विचौलियाका भरमा पार्टी एकता घोषणा गरिएका कारणले पनि एकता टिक्न नसकेको टिप्पणी गरिन् ।कार्यक्रममा नेता रवीन कोईराला, नेतृ धर्मशिला चापागाँई लगायतले सम्बोधन गरेका थिए ।