सप्तरी , २० असोज: विराटनगरको विराट नर्सिङ होमको दोस्रो तलाबाट हामफालेका बिरामीको मृत्यु भएको छ । सोमबार बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी आईसीयूमा उपचाररत थिए । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार गजमेरलाई उपचारका लागि असोज १७ गते अस्पताल भर्ना गरिएको थियो ।
फोक्सोमा गम्भीर समस्या देखिएका चिकित्सकको सल्लाहबमोजिम उनलाई त्यही दिनबाट आईसीयूमा राखेर उपचार थालिएको थियो ।
आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको थियो । एसपी खड्काका अनुसार हामफालेर गम्भीर घाइते भएका गजमेरलाइ उद्धार गरि उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो ।
गजमेरको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको थियो । अस्पतालले यस घटनाका बारेमा आधिकारिक रुपमा जानकारी दिइसकेको छैन । उपचारथ अवस्थामा उनले किन आत्महत्याको बाटो रोजे भन्ने यकिन हुन नसकेको एसपी खड्काले जानकरी गराए ।
मृत्यु अस्वभाविक देखिएका कारण घटनाको गम्भीर रुपमा अनुसन्धान थालिएको जानकारी उनले दिए । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।