सप्तरी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपालको विकासको लागि सहयात्री भएको बताएका छन्।
एनआरएनएको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरिएको बताए। गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टिकोणलाई बाहिर राखेर सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए। संघले संकटको बेला औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताए। मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीको राहत, उद्दार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै भने,‘संकटको परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ।’गैरआवासीय नेपालीले कोरोना भाइरसको विश्वव्यापी संक्रमण माझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन्। ज्ञवालीले संकटको बीचमा पनि विदेशमा रहेका नेपाली विज्ञलाई नेपालमा जोड्ने प्रयत्न गरेको भन्दै खुसी व्यक्त गरे।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए। विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उनको भनाइ छ।राजनीतिक लडाइँमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनले जोड थियो। देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीले नेपालको उत्पादन मूलक क्षेत्रमा लगानी ल्याउन जोड दिए। संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए।
पूर्वअध्यक्ष देवमान हिराचनले विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिए। पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताए। उनले अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधन हुन लागेकोमा खुसी व्यक्त गरे। कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामना गर्नुको विल्कप नभएको उनले बताए। संघका निवर्तमान अध्यक्ष भवन भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको भन्दै नेपालमा लगानीको लागि जोड दिनुपर्ने बताए।
संघका संस्थापक नेता रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीलाई जोड्ने काम गैरआवासीय नेपाली संघले गर्दै आएको स्मरण गरे।