आइतबारसम्म ८८ हजारले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार साँझ ४ बजे सम्म ८८ हजार ७ जनाले कोरोना विरूद्धको खोप लगाएका हुन्।
कोभिड-१९ खोप अभियान अन्तर्गत पाँचौ दिन सम्ममा १८५ खोप केन्द्रबाट सो संख्याले खोप लगाएका हुन्।जसमध्ये प्रदेश १ का १२ हजार ७ सय ६३, प्रदेश २ का ११ हजार ५७, बागमतीमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीका १० हजार ७ सय ६० कर्णालीका ५ हजार ५ सय ५६ र सुदूरपश्चिमका ६ हजार ८ सय ७७ जनाले खोप लिएका छन्।त्यस्तै स्वास्थ्यकर्मीहरूले पाँच दिन भित्र खोप लिइसक्न मन्त्रालयले आग्रह गरेको छ।
‘पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सील दर्ता, आधिकारिक परिचय-पत्र र संस्थाबाट प्रमाणिकरण गरेको विवरण र अन्य समूहको हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्रसहित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी अबको पाँच दिन भित्र खोप सेवा लिनु हुन अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।