मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अचानक स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठले यस विषयलाई लम्ब्याएका छन् ।
अविश्वास प्रस्ताव सदनमा औपचारिक रूपमा प्रवेश गराउन सुरुबाटै आनाकानी गरेका सभामुख श्रेष्ठले सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक आइतबार राति सूचना टाँसेर फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए । सोमबारको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यक्रम थियो ।प्रधानमन्त्री केपी ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका ४५ सांसदले पुस १० मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उपसभामुख, अविश्वास प्रस्तावका प्रस्तावक र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग आन्तरिक छलफलसमेत नगरी बैठक स्थगित गरेपछि सभामुख श्रेष्ठको भूमिकाप्रति दलहरूले आक्रोश पोखेका छन् । उनीहरूले प्रदेशसभालाई सभामुखले बन्धक बनाएको र सरकारबाट प्रभावित भएको आरोप लगाएका छन् ।सभामुखको भूमिकालाई प्रदेशसभा सदस्य तथा नेकपा दाहाल–नेपाल समूहकी संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले ‘अल्पमतको सरकारको लाचार छाया’ का रूपमा टिप्पणी गरिन् । नेत्री शाक्यले प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा त्यसलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएर बैठक स्थगित गरेको आरोप लगाइन् । सभामुखले छलफलै नगरी मध्यरातमा बैठक स्थगितको सूचना जारी गरेको भन्दै उनले प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरिन् । ‘सरकार अल्पमतमा छ, यस्तो अवस्थामा निरन्तर बैठक सञ्चालन गर्नुपर्ने हुन्छ, संसदीय मूल्य मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावलीको घोर उल्लंघन सभामुखबाट भयो,’ उनले भनिन् । विशेष कारण नखुलाई स्थगन गरिएको प्रदेशसभा बैठक अविलम्ब सुरु गर्न उनले माग गरिन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि सदन स्थगितको विरोध गरेको छ । कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले पटक/पटक संसद् बैठक स्थगित गरेर अविश्वास प्रस्तावलाई अनिर्णयको बन्दी बनाएको भन्दै सभामुख श्रेष्ठको आलोचना गरेका छन् । ‘बिनाकारण सदन अवरुद्ध हुनु संसदीय प्रणाली र सिद्धान्तविपरीत छ, तत्काल बैठक आह्वान गरेर मत विभाजन प्रक्रिया अगाडि बढाउन जरुरी छ,’ उनले भने । उनले कांग्रेसले सदन सञ्चालनका लागि अविश्वास प्रस्ताव दर्ता भएदेखि नै प्रयास गरिरहेको दाबी गरे ।विवेकशील साझाका सांसद रमेश पौड्यालले एक्कासि बैठक स्थगित गरेर सभामुखले अल्पमतमा रहेको सरकारलाई सहयोग पुर्याएको आरोप लगाए । प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा त्यसलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएको र सरकारबाट प्रभावित भएको आरोप लगाए । ‘प्रदेशसभाको मुख्य विषय अविश्वास प्रस्ताव हो, यो विषयमा निरन्तर छलफल हुनुपर्थ्यो, सर्वदलीय बैठकमा प्रस्ताव फेस गर्न आफू तयार रहेको मुख्यमन्त्रीबाट अभिव्यक्ति आइरहेकै छ,’ उनले भने ।प्रदेशसभा बैठक तत्काल बोलाउन माग गर्दै प्रदेशसभा परिसरमा नाराबाजी भएको छ । सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ सम्म बैठक स्थगित गरेपछि दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यहरूले नाराबाजी गरेका हुन् । दाहाल–नेपाल समूहबाट मुख्यमन्त्रीका रूपमा प्रस्तावित नेत्री शाक्य, उपनेता शालिकराम जम्कट्टेल, पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाललगायतको नेतृत्वमा प्रदेशसभा परिसरमा नाराबाजी भएको हो ।
जम्कट्टेलले लामो समयदेखि अल्पमतमा रहेको सरकारविरुद्ध प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई एउटै कित्तामा उभिन आह्वान गरे । ‘सभामुखको स्वेच्छाचारिताको विरोध गर्न र संसदीय मूल्य मान्यता र मर्यादाको पक्षमा उभिनुपर्ने समय आएको छ,’ उनले भने । दाहाल–नेपाल पक्षका सांसदले मुख्यमन्त्री पौडेलको राजीनामा माग गरेका छन् । प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा मुख्यमन्त्री पौडेल अल्पमतमा रहेको प्रमाणित भइसकेकाले तत्काल नैतिकताका आधारमा राजीनामा दिन उनीहरूले माग गरेका हुन् ।