इलाम : विदेश निकासी हुने मुख्य कृषि वस्तुको रुपमा रहेको चियाको गुणस्तर व्यवस्थापनका लागि नेपाल सरकारले १७ करोडभन्दा बढीको नयाँ परियोजना सुरु गरेको छ। नेपाली चियाको दीगो निर्यातका अभिवृद्धि आयोजना नाम दिएको परियोजनाले गुणस्तरीय चिया उत्पादनका सबै सूचकहरु पालन गर्न कृषक र प्रशोधन कर्तालाई सहयोग गर्ने आयोजनाको कार्यान्वायन गर्ने नेपाल चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईले जानकारी दिए।
परियोजनाले गुणस्तरीय चिया उत्पादनका लागि गरिएका क्रियाकलाप मापदण्डभित्रै भएको कुरा अन्तर्राष्ट्रिय बजारमा पनि विश्वास दिलाउने प्रकारका क्रियाकलाप सञ्चालन गर्ने भट्टराईले बताए। उनले भने ‘परियोजनाले ट्रेसिविलिटीमा प्राथमिकता दिएको छ।’उनका अनुसार चियामा अग्र्यानीक प्रमाणीकरणमा सहुलियत, अग्र्यानीक प्रमाणीकरण गर्ने अन्तर्राष्ट्रिय सस्थाको इकाई नेपाल खोल्ने लगायतका विषयमा पनि काम गर्ने छ। इलाममा परियोजना सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा प्रदेश १ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले गुणस्तरीय चिया उत्पादन गरेर चियामा रहेको बजार समस्या समाधान गर्न परियोजनाले सहयोग गर्ने बताए। चिया उद्यमी चन्द्र भुषण सुब्बाले लामो समयदेखि उद्यमीहरुले उठाएको विषय सम्बोधन हुन लागेको बताए। वोर्डका सदस्य पुनम बान्तवाले परियोजनाले विषादी रहित चिया उत्पादनमा समेत सहयोग गर्नुपर्ने सुझाव दिए।
नेपालको चिया भारत, जर्मन, अमेरीका लगायतका देशमा जाने गरेको छ। सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन गर्ने इलामका किसानदेखि उत्पादकसम्मले अग्र्यानीक चियामा प्राथमिकता दिन सरकारसँग माग गर्दै आएका थिए। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ टेकप्रसाद लुइटेलले चियामा ‘ट्रेसिविलिटि’ भएमा विदेशीले अहिलेभन्दा बढि मुल्यमा नपाली चिया खरिद गर्ने बताए। चियामा विश्वासको वातावरण बनाउन सबै लागेमा मात्रै परियोजना सफल हुने उनको भनाई छ।