सप्तरी – अक्सर तटस्थ देखिने गृहमन्त्री रामबहादुर थापालाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या पुष्पकमल दाहालमध्ये कसको कित्ता लिने हो स्पष्ट हुनैपर्ने बाध्यता आइलाग्यो । हुन त उनी दाहालसँग असहमति हुँदा वामदेव गौतम झैं तटस्थ बस्न पनि सक्थे ।
तर छँदाछँदैको गृहमन्त्री छाड्नुभन्दा ओलीतिरै लाग्नु उपयुक्त देखे सायद, पुस ९ मा ओली क्याम्पमा उभिन बालुवाटार पुगे । थापाले गरेको भाषण र उभिएको मञ्चको तालमेल मिलेको थिएन । उनले क्रान्ति, अग्रगमन, आन्दोलनका कुरा गर्थे र घुमाइफिराई ओली नेतृत्वको नेकपामात्रै अग्रगामी भएको निचोड सुनाउँथे । थापाको यही अलमल देखेर एकचोटि दाहालले भनेका थिए, ‘उहाँ त्यता उभिनुभएको छ, भाषण हाम्रो गर्नुहुन्छ ।’ त्यसयता पनि कैयौं मञ्चमा थापाले ओलीको अभिव्यक्ति दिन्छन् कि दाहालको, छुट्याउनै मुस्किल हुन्छ ।
त्यहीक्रम शुक्रबार पनि जारी रह्यो । ओलीपछिको दोस्रो वरीयता पाउने चर्चामा रहेका थापाले सत्ताधारीकै मञ्चबाट तेस्रो जनआन्दोलन सुरु भएको उद्घोष गरिरहँदा आफू गृहमन्त्री पनि हुँ भन्ने चटक्कै बिर्सिए । उनै थापाको नेतृत्वमा रहेको गृह मन्त्रालयले बिहीबार दाहाल–नेपाल नेतृत्वले आमहडताल गर्दा मुलुकमा कुनै पनि बन्द नरहेकाले निर्धक्क हिँडडुल गर्न आग्रह गर्दै विज्ञप्ति निकालेको थियो ।