म्यानमारमा ‘सैन्य कू’ को विरोधमा हजारौं मानिस सडकमा ओर्लिएका छन्। यागौं शहरमा दोस्रो दिनपनि सैनिक शासनको विरोधमा प्रदर्शन भइरहेको छ।
सेनाले नियन्त्रणमा लिएको स्टेट काउन्सलर आङ सान सूचीको तस्विर लिएर प्रदर्शनमा उत्रेन धेरैजसो युवा रहेका छन्। प्रदर्शनकारीहरुले तीन औंला ठड्याएर सेनाविरुद्ध सडकमा प्रदर्शनरत् छन्। विरोध बढ्दै गएसँगै सेनाले देशभर इन्टरनेट सेवा अवरुद्ध गरेको छ। यद्यपि, विभिन्न उपायहरु निकालेर उनीहरुले विरोधका तस्विर र भिडियो सार्वजनिक गर्ने प्रयास भने गरिरहेका छन्।प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएका नेताहरुलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्। उनीहरुले प्रजातन्त्र पुन: प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
आजको प्रदर्शनलाई मध्यनजर गर्दै सैनिक सरकारले ‘फेक न्यूज’ समेत सम्प्रेषण गरेको थियो। प्रदर्शनलाई रोक्न सैन्य शासकहरुले सूची रिह भएको झुटो समाचार फैलाएका थिए। हाल सूची कहाँ छिन् भन्ने सार्वजनिक भएको छैन।