बलिउडकी अभिनेत्री कंगना रनौतविरूद्ध कर्नाटकास्थित टुमाकुरू जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। किसान कानुनविरूद्ध भइरहेको प्रदर्शनलाई लक्षित ट्वीटका कारण रनौतविरूद्ध उजुरी परेको हो। शुक्रबार कर्नाटकाको टुमाकुरू जिल्ला अदालतले प्रहरी कार्यालयलाई कंगाना रनावतविरूद्ध उजुरी दायर गर्न निर्देशन दिएको थियो।
कंगना रनौतले सेप्टेम्बर २१ तारिखमा किसानहरूको प्रदर्शनलाई लिएर गरेको ट्वीटले वकिल एल रमेश नैकको चित्त दुखेको भन्दै उजुरी दिएका थिए। रनौतमाथि समूहहरूबीच दुश्मनी बढावा दिएको, जानाजान अपमान गरेको, उत्तेजित गराएको लगायतको आरोप छ।
‘नागरिकता संशोधन कानूनविरूद्ध गलत जानकारी र अफवाह फैलाएर दंगा गराउने र अहिले किसान विधेयकको बारेमा गलत जानकारी फैलाउने, ती एकै हुन्। उनीहरूले नै राष्ट्रमा आतंक फैलाइरहेका छन्, उनीहरू आतंकवादी हुन्,’रनौतले ट्वीट गरेकी थिइन्। पछिल्लो समय अभिनेत्री कंगना रनौत विभिन्न विषयको विवादमा तानिँदै आएकी छिन्।