काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा मंगलबार इजलास नबस्ने भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा इजलास स्थगित गरिएको हो । यो मुद्दामा माघ २८ गते बहस हुनेछ ।
गत सोमबारदेखि रिटको विरुद्ध सरकारी अधिवक्ताहरुले आफ्नो दलिल पेश गर्दै आएका छन् । सोमबारको इजलासमा समयलाई लिएर प्रधानन्यायाधीश र अधिवक्ताहरुको केहीबेर भनाभन भएको थियो । त्यस्तै सोमबारको बहसमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले सार्वभौम अधिकार जनातामा नरहेको दावीसहितको दलिल पेश गर्नुभएको थियो ।
प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उहाँले जनताबाट निर्वाचित प्रधानमन्त्री भएकाले सार्वभौम अधिकार स्वतः प्रधानमन्त्रीमा निहित रहने दावी गर्नुभयो ।