नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलंकित बनेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडांैमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति विरुद्ध संविधान, लोकतन्त्र गणतन्त्रको पक्षमा एकजुट हुन पनि आह्वान गरे ।पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधान विपरित कार्यशैली देखाउदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिँडेकाले आफूहरु त्यस विरुद्धको संघर्षमा उत्रेको उनले स्पष्ट पारे । उनले संविधान, लोकतन्त्र र गणतन्त्र विरुद्ध गएर प्रधानमन्त्री ओली इतिहासमै कलंकित बन्न पुगेको तर्क गरे ।
उनले भने, “केपी जीले जसरी प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो । उहाँले बाजी हार्नुभयो । उहाँ कलंकित पनि हुनुभयो । इतिहासमा र उहाँले जित्ने कुनै ंसम्भावना छैन । हामी जहाँ उभियौं, संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा, शान्ति र सम्मृद्धिको पक्षमा हामी उभियौं । त्यसकारण हामीले लडाइँ जित्यौ । अब उहाँले एकपछि अर्को हार्नु बाहेक अर्को विकल्प छैन ।”अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिदै ‘ओली बा समूह’ खोल्न सुझाव दिए । प्रधानमन्त्री ओलीलाई आफूहरुले साधारण सदस्यता बाट समेत बर्खास्त गरिसकेकाले उनको नेकपा संग कुनै सम्बन्ध नभएको दाबी गरे ।
उनले भने, “चोइटिएको समूह पार्टीको मूल समुह हुन सक्ने कुरा भएन । केपी ओलीलाई अध्यक्षबाट निकालिसकेका छौं । पार्टीको साधरण सदस्यबाट पनि बर्खास्त गरिसकेका छौं । उनको अब नेपाल कम्युनिष्ट पार्टी नेकपासँग कुनै सम्बन्ध छैन । उनलाई खोल्ने रहर छ भने नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ ।”उनले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरेपनि पुरानै शैलीमा हिँड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको बताए । आफूहरुको संघर्ष व्यक्ति भन्दा पनि सामन्तवादी प्रवृत्ति विरुद्धको संघर्ष भएको उनले स्पष्ट पारे । उनले अहिलेको संघर्षलाई ओली र आफूहरुबीचको निजी लडाइँको रुपमा नलिई ओली प्रवृत्ति विरुद्धको लडाइँको रुपमा बुझ्न आग्रह गरे ।
लोकतन्त्र, गणतन्त्र र संविधान कमजोर बनाउने र जोगाउने बीचको संघर्ष भएकाले जसरी पनि आफूहरुले जित्नैपर्ने भन्दै उनले लोकतन्त्र र संविधान रक्षाको पक्षमा एकजुट हुन आह्वान गरे । शिक्षकले विचार निर्माण र प्रवाहमा निकै ठूलो भूमिका खेल्ने भएकाले संविधान रक्षा गरि प्राप्त उपलब्धि जोगाउने बाटोमा विचार निर्माण गर्न पनि उनले आग्रह गरे ।