काठमाडौं- गएको महिनादेखि नै मैदानबाहिर रहेका स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर सर्जियो रामोसको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ। रामोस आफैले शल्यक्रिया बाहेक अर्को विकल्प नरहेकाले त्यसैअनुसार अघि बढेको बताएका हुन्।
शल्यक्रियापछि उनी कम्तिमा दुई महिना मैदानबाहिर रहनेछन्। सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई उनले त्यसबारे जानकारी गराएका हुन्। ‘सबैकुरा योजना अनुसार नै भएको छ। शल्यक्रिया गर्नुबाहेक अर्को विकल्प पनि थिएन। अब छिटै मैदान फर्किने आशमा छु, किनभने यो सिजनका खेलहरु अझ धेरै बाँकी नै छन्’ उनले लेखेका छन्। रामोस बिना रियल मड्रिडलाई मैदानमा मुस्किल अवस्था आइरहेको देखिन्छ। यो सिजन रामोसबिना रियल मड्रिडले खेलेका १० खेलमा ५ खेल हारेको छ। ३४ वर्षका रामोस एथ्लेटिक क्लबसँगको सुपर कप खेलपछि मैदानबाहिर छन्। अब दुई महिना मैदानबाहिर रहँदा यो उनी बाहिर रहेको सबैभन्दा लामो समय हुनेछ।
आउने जुनमा रियल मड्रिडसँगको सम्झौता सकिने रामोसले नयाँ सिजन अर्को क्लब रोज्छन् भन्ने हल्लाहरु पनि चलिरहेका छन्। यस्तोमा चोटका कारण उनी बाहिर रहँदा थप हल्लाहरु खबर बनिरहेका छन्।