काठमाडौं । संसद् विघटन, संवैधानिक, भूमिसम्बन्धी आयोगमा नियुक्तिलगायत प्रधानमन्त्रीका कदमविरूद्ध नेकपाको प्रचण्ड-माधव नेपाल समूहले माघ २८ गते (भोलि) शक्ति प्रदर्शनको तयारी गरेको छ । त्यसका लागि जुलुस निस्कने पाँच स्थानको कमान्डर पनि नेकपा प्रचण्ड-नेपाल समूहले तोकिसकेको छ । अहिले काठमाडौंमा मार्चपासलगायत प्रचारलाई तीव्र बनाइएको छ ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले तीन लाख बढी नागरिक काठमाडौंमा उतार्ने र निर्णायक संघर्षको उद्घोष गर्ने तयारी भएको बताए । आज प्रचण्ड-नेपाल समूहको सचिवालयको बैठक पनि बसेको थियो । बैठकमा तयारीबारे ब्रिफिङ भएको र उपत्यकाका ‘रैथाने’हरू पनि आन्दोलनमा उत्रने खनालले जानकारी दिए ।यसअघि पुस १४ र माघ ९ गतेको सभामा उपत्यकाका बासिन्दाको उल्लेख्य साथ नपाएको चर्चा भएको थियो । “यसपटक उपत्यकाका बासिन्दा पनि प्रदर्शनमा आउने रिपोर्टिङ भएको छ,” खनालले बाह्रखरीसँग भने, “ओली सरकारविरुद्ध उपत्यकावासी भित्रभित्रै आन्दोलित छन् । यसपटक सडकमै आउने बुझेका छौँ ।”प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २२ को आमसभामा ठूलो ठाउँ खोज्दै जाँदा नारायणहिटी अघिल्तिर पुगेको बताएका थिए । प्रधानमन्त्रीले नेकपा ओली पक्षलाई काठमाडौंका सभास्थलहरू साँघुरो भएको बताएका थिए ।खनालले ओलीको सभा इतिहासकै ठूलो भएर विशेषण झुन्ड्याइनु हास्यास्पद भएको बताए । र, भोलिको सभाले देखाउने पनि उनले जिकिर गरे । उपत्यकाको ठूलो ठाउँ पर्यटन बोर्डको अघिल्तिरको सडक नै रहेको निष्कर्ष निकाल्दै त्यहीँ सभा गर्ने उनले बताए ।“काठमाडौंको ठूलो ठाउँ भनेकै हामीले अस्ति सभा गरेको ठाउँ हो भन्ने बुझियो । त्यहीँ सभा गर्ने भएका छौँ । यसपटक हाम्रो इतिहासकै ठूलो सभा हुनेछ । त्यहीअनुसार मञ्चको व्यवस्थापन गरेका छौँ,” उनले भने ।यसपटक पनि विद्युत् प्राधिकरण र भद्रकाली दुवैतर्फको आवागमन बन्द गरेर पर्यटन बोर्ड अगाडि टी आकारमा सभा गरिने उनले बताए । माघ ९ गते पनि प्रचण्ड-नेपालले त्यहीँ सभा गरेका थिए ।
यसपटक विकल्पका ठाउँ खोजिएको भए पनि ठूलो स्थान त्यहीँ भएको निचोड निकालिएको उनले बताए । त्यहाँ सभा गरिए भृकुटीमण्डप, भद्रकाली, रत्नपार्क र पद्मोदय मोडसम्म सहभागी बस्न मिल्ने भएकाले त्यही स्थान रोजिएको उनको भनाइ थियो ।